

काठमाडौँ, चैत ५ गते । पाहाँचर्हे आज अन्तिम दिन असन जात्रा (न्हि जात्रा) बिहीबार सम्पन्न भएको छ । पाहाँ चर्हे भित्रकै यो एउटा महत्त्वपूर्ण जात्रा हो । रातो पहेलो र निलो टोपीको समिश्रणमा असनमा जात्राको माहौल रमाइलो र रंगिन देखिएको थियो ।
वचूँ भद्रकाली असन आइपुगेपछि पहेलो टोपी लगाएकाले लुँमधी भद्रकालीको खट बोकेर असन चोकमा आइ पुगे । दुई देवीको खट असन पुगेपछि जात्रामा सहभागी बाजा र भक्तजन दर्शालुको भीड पनि बिस्तारै बढ्दै गयो ।
वचूँ भद्रकाली र लुँमधी भद्रकाली देवी सवार खट असन बजार पुगेपछि कंकेश्वरीको प्रतीक्षा सुरु हुन्छ। बचूँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रूपमा पाहाँ चर्हेको न्हि जात्रा मनाउने गरिन्छ। असनमा प्रतीक्षारत दुई देवीको खटलाई कंकेश्वरीको खटले तीन पटक परिक्रमा गरेपछि आगोको ज्वाला (ती प्वा) आदान प्रदान हुन्छ।
त्यसपछि अर्को वर्ष टुँडिखेलमा पुनः भेट गर्ने वाचाका साथ असन जात्रा (न्हि जात्रा) सम्पन्न हुन्छ। यो जात्रालाई स्थानीयले ‘द्यःल्वाकेगु’ जात्रा भन्छन्।


























उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।