• १७ चैत २०८२, मङ्गलबार

सकियो सेतो मच्छिन्द्रनाथको जात्रा

blog

सेतो मच्छिन्द्रनाथ मन्दिरमा पुन प्रतिस्थापनका लागि लगिदैँ । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, चैत १७ गते । काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रापछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ ।

हिजो (सोमबार) बेलुका रथयात्राको क्रममा लगन पुर्‍याइएका आर्यावलोकितेश्वरको मूर्तिलाई रथबाट निकालेर खटमा राखी लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिटी भीमसेनस्थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिंह र केलटोल हुँदै मच्छिन्द्रबहाल ल्याई पुनः मन्दिरमा प्रतिस्थापन गरिएको हो ।

चैते दसैँको दिन बिहीबारदेखि सुरु भएको जात्रा जमलबाट असन, असनबाट हनुमानढोका दरबार क्षेत्र तथा त्यहाँबाट लगनटोलसम्म तानिने गरिन्छ ।लगनटोल पुगेको भोलिपल्ट आमा रुखको परिक्रमा गराइन्छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमी (चैते दसैँ) देखि सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको रथयात्रा सुरु हुन्छ । राजा शिवसिंह मल्लले ने.सं. ७०८ देखि करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा मूर्ति राखेर रथयात्रा गर्ने परम्परा चलाएको मानिन्छ ।

सेतो मच्छिन्द्रनाथको जात्रा अनेकतामा एकताको प्रतीकका रूपमा परिचित छ । हिन्दु र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजा गर्ने परम्परा परापूर्वकालदेखि नै चलिआएको विश्वास गरिन्छ ।




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।