• ५ वैशाख २०८३, शनिबार

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण

blog

रथमा विराजमान रातो मच्छिन्द्रनाथ । तस्बिरः मनोजरत्न शाही

ललितपुर, वैशाख ५ गते । वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मत्स्येन्द्रनाथको आज शुभसाइतमा रथारोहण गरिएको छ । ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथको टुप्पोमा बायम् राखेसँगै मत्स्येन्द्रनाथको मूर्तिलाई तःबहालस्थित मन्दिरबाट बाहिर ल्याई रथमा प्रतिस्थापन गरिएको हो ।

मत्स्येन्द्रनाथलाई मन्दिरबाट ल्याउँदा गुठी संस्थानका प्रतिनिधि, पानेजुहरू र स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपालमा मनाइने जात्राहरूमध्ये सबैभन्दा लामो जात्राका रूपमा चिनिने रातो मत्स्येन्द्रनाथको रथयात्रा यस वर्ष आगामी वैशाख ८ गतेदेखि विधिवत् रूपमा सुरु हुँदै छ ।

आजको रथारोहणसँगै जात्राको मुख्य रौनक सुरु भएको छ । रथारोहणको चौथो दिन अर्थात् वैशाख ८ गते रथलाई पुल्चोकबाट तानेर गाःबहाल पुर्‍याइने परम्परा रहेको छ । जात्रा अवधिभर ललितपुरका विभिन्न स्थानमा रथ परिक्रमा गराई अन्तमा जावलाखेलमा भोटो देखाइसकेपछि यस वर्षको जात्रा समापन हुनेछ ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।