हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत ६ गते । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा हिमालपारिको जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकालीले विजय प्राप्त गरी संसद्को यात्रा सुरु गर्नुभयो । यस पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिङ्गो पार्टीका लागि पहिलो खाता खोलेका गौचन अघिल्लो कार्यकालमा अपूरो विकासनिर्माणका योजनालाई पूर्णता दिने एजेन्डाका साथ चुनावी मैदानमा उत्रिनुभएको थियो । विजयपश्चात् उहाँले हिमाली जिल्ला मुस्ताङको कृषि, पर्यटन, जलवायु परिवर्तनका कारण भोग्नु परेको समस्या, कोरला नाकामा पूर्वाधार, उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र र पर्यटक शुल्क समायोजनका लागि गरेका प्रयासमा यस पटकको कार्यकालमा शतप्रतिशत नतिजा निकाल्ने दाबी गर्नुभयो ।
उमेरले कलिलो भए पनि दुई पटक मुस्ताङका जनताले निर्वाचित गरी पठाएका गौचन थकालीले उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका जोमसोम–कोरला ११० किलोमिटर सडकखण्डको बाँकी कालोपत्रेको कामलाई छिटोछरितो गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुस्ताङको विकासका लागि रातदिन नभनी खट्छु ।” उहाँले हिमाली अर्थतन्त्र सुहाउँदो नीतिगत व्यवस्था, हिमाली जिल्लामा एक करोडसम्मको कारोबारमा भ्याट छुट, माटोसुहाउँदो कृषि र पर्यटनलाई प्रोत्साहन, धार्मिक र पर्यटनका लागि कोरला नाकाबाट तिब्बत यात्रालाई सहज, उपल्लो मुस्ताङ घुम्न जाने विदेशी पर्यटकलाई तोकिएको शुल्कबाट सङ्कलन हुने रोयल्टी स्थानीय तहमार्फत समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मुस्ताङमा भित्रिने पर्यटकलाई बसाइ सहज बनाउन होटल व्यवसायीको क्षमता विस्तारमा राज्यका निकायबाट सहयोग तथा ग्रामीण बस्तीमा समेत बसोबास गर्न सहज हुने नीतिका लागि समेत पहल गर्ने सांसद गौचन थकाली बताउनुहुन्छ ।
भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई मुक्तिनाथ, कागबेनीबाट माथिल्लो क्षेत्रमा जान सहज वातावरण बनाउने, कोरला नाकाबाट तिब्बतका धार्मिक स्थलहरूको भ्रमणका लागि अध्यागमन कार्यालयलाई सहज, मुस्ताङ भन्सार कार्यालयमा सुविधासम्पन्न भौतिक संरचनाका साथै बाह्रै महिना भन्सार सञ्चालनका लागि नेपाल र चीन सरकारसमक्ष पहल गर्ने सांसद गौचन थकालीको भनाइ छ ।
मुस्ताङ भित्रिने पर्यटकको बसाइ थप व्यवस्थित गर्न रोजगारी र पर्यटनमैत्री नीति बनाउनसमेत सक्रिय हुने सांसद गौचनले बताउनुभयो । सांसद गौचन थकालीले भन्नुभयो, “मैले आश्वासन नभई विगतमा गरेका र अपूरा कामलाई पूर्णता दिने छु । चुनावी भेटघाटमा समुदायले उठाएको समस्या समाधान गर्न पनि खटिने छु ।”
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको प्रवेशद्वार घाँसादेखि तिब्बतको सिमाना कोरला नाकासम्म बसोबास गर्ने मुस्ताङवासीले कृषि, पशुपालन र पर्यटन क्षेत्रलाई सहज हुने विकास मोडेललाई आफ्नो पाँचबर्से कार्यकालमा पहिलो प्राथमिकता दिने सांसद गौचन थकालीको भनाइ छ । भारतबाट पढाइ सकेर नेपाल फर्किएपछि आफ्ना पिता नेपाली कांग्रेसका जिल्ला सभापति रोमी गौचन थकालीले देखाएको बाटो लिएर राजनीतिमा होमिएको बताउने गौचनले राजनीतिलाई व्यवसाय नभई सेवाका रूपमा प्रयोग गरी इमानको राजनीतिलाई सधैँ साथमा लिएर हिँड्ने बताउनुभयो ।
नेपाली कांग्रेसका महाधिवेशन, महासमिति सदस्य, गण्डकी प्रदेश कार्यसमितिका सदस्यसमेत रहेका थकालीले पार्टीका गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । विभिन्न संस्थागत गतिविधिमा समेत सक्रिय सहभागी गौचन थकालीले मत सार्वजनिक भएपछि मतदाता भेटघाटसहितका कार्यक्रममा व्यस्त हुनुहुन्छ । २०७९ सालमा प्रतिनिधि सभामा सबैभन्दा कान्छो सांसदका रूपमा संसद्मा प्रवेश गरेका गौचन थकालीले यस पटक प्रतिस्पर्धीसँग मतान्तरसमेत बढाउनुभएको छ । तीन हजार ९९२ मत प्राप्त गरी विजय हुँदा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार इन्द्रधारा विष्टले एक हजार ८०६ मत प्राप्त गर्नुभयो ।