• ६ चैत २०८२, शुक्रबार

‘विकासको गतिलाई अघि बढाउने छु’

blog

रवीन्द्र उप्रेती 

बर्दीबास, चैत ६ गते   । पारिवारिक राजनीतिक पृष्ठभूमिका ४० वर्षीय प्रमोदकुमार महतोले महोत्तरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेर इतिहास रच्नुभएको छ । 

अनुभवी नेताहरूलाई विस्थापित गर्दै महतोको यो विजयलाई महोत्तरीमा परिवर्तनको ठुलो सङ्केतका रूपमा हेरिएको छ । महतोले यस क्षेत्रका ‘हेभिवेट’ मानिने पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेललाई भारी मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेपछि अहिले उहाँ चर्चामा हुनुहुन्छ । नवनिर्वाचित सांसद महतोले ३४ हजार ६३६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँले प्राप्त गरेको यो सङ्ख्या महोत्तरी जिल्लाका चार वटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा उच्च मत हो । उहाँले लगातार तीन पटक चुनाव जित्नुभएका पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई २२ हजार १२ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको छ । 

गौशाला नगरपालिका–५ निवासी महतोको राजनीतिक पृष्ठभूमि पारिवारिक विरासतसँग गाँसिएको छ । उहाँका हजुरबुवा केशवर महतो (माइजन साहेब) पञ्चायतकालमै बेलगाछी गाउँ पञ्चायतमा दुई पटक निर्वाचित र एक पटक निर्विरोध प्रधानपञ्च हुनुभएको थियो । यो विरासतलाई उहाँका बुवा शिवजी महतो र काका शिवनाथ महतोले पनि निरन्तरता दिनुभयो । 

बुवा शिवजीले संविधान सभाको पहिलो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्नुभएको थियो । निर्वाचनलगत्तै उहाँले राप्रपा परित्याग गर्नुभएको थियो । काका शिवनाथ महतो २०७४ को स्थानीय तह निर्वाचनमा गौशाला नगरपालिकाको पहिलो नगरप्रमुख निर्वाचित हुनुभएको थियो । राजनीतिक पारिवारिक विरासतको प्रभावले सांसद महतोमा पनि प्रारम्भदेखि नै राजनीतिप्रति चासो बढेको थियो । यसअघि व्रmसर व्यवसायीका रूपमा परिचित उहाँले २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । त्यतिबेला ‘लालटेन’ चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नुभएका उहाँले दुई हजार ४०५ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित हुनुभएको थियो । 

यस पटकको सङ्घीय निर्वाचनमा भने उहाँले मतदाताको अभूतपूर्व साथ र विश्वास पाउनुभयो । भ्रष्टाचार र बेथितिको अन्त्य तथा रोजगारी सिर्जनालाई मुख्य मुद्दा बनाउनुभएका महतोले आफ्नो क्षेत्रका जल्दाबल्दा समस्या समाधान गर्ने सङ्कल्प लिएको बताउनुभयो । यस क्षेत्रका किसानका समस्या, कृषि बजारको व्यवस्थापन, अन्योल र अनिश्चयको सिकार बनेको बर्दीबास मेडिकल कलेज, उखुको उचित मूल्य, गुणात्मक शिक्षा जस्ता क्षेत्र नं. १ मा व्याप्त अनेकन समस्यालाई लयमा फर्काउने उहाँको अठोट छ । 

गोरखापत्रसँग कुराकानी गर्दै सांसद महतोले भन्नुभयो, “म काम गर्न आएको हुँ र काम गरेरै देखाउने छु । जनताले देखाएको विश्वासलाई खेर जान दिने छैन । क्षेत्रको विकासलाई अघि बढाउन म प्रतिबद्ध छु ।” उहाँले आफूले जनतासँग गरेका वाचा पूरा गर्न प्रतिबद्ध रहेको भन्दै यस क्षेत्रका समस्या समाधानका लागि आगामी दिनमा संसद्मा आफ्ना कुरा जोडदार रूपले उठाउने बताउनुभयो । जनताले परिवर्तनको पक्षमा मतदान गरेको भन्दै परिवर्तनका लागि सरकारले गर्ने हरेक काममा आफ्नो साथ सहयोग रहने उहाँले बताउनुभयो ।