नीराजन परियार
चौमाला (कैलाली), चैत ६ गते । लामो समय शिक्षण, कृषि उद्यम र सामाजिक सेवामा संलग्न खेमराज कोइराला अब सङ्घीय संसद्मा जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुग्नुभएको छ । कोइराला राजनीतिमा नयाँ मानिनुहुन्छ । राजनीतिमा आउनुअघि उहाँ कुनै पनि दलको सक्रिय भूमिकामा हुनुहुन्थेन । कोइरालाको जन्म गौरीगङ्गा नगरपालिका–१, मङ्गलपुरमा २०३३ मा निम्नमध्यम वर्गीय परिवारमा भएको हो ।
पिता महानन्द कोइराला र माता कृष्णमाया कोइरालाको कोखबाट जन्मिएका कोइरालाले अङ्ग्रेजी र ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको छ ।
पुराना राजनीतिक दलका नेतालाई पछि पार्दै कोइरालाले कैलाली क्षेत्र नं. ४ का २८ हजार ५५६ जना मतदाताको विश्वास जित्नुभएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार कोइरालाले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरखबहादुर विष्टलाई १७ हजार २५५ मतले पछि पार्दै जित हासिल गर्नुभएको थियो । यस क्षेत्रमा कुल मतदाता एक लाख १५ हजार १४३ रहेकोमा ६३ हजार २९१ मत खसेको थियो । यस्तै एमालेका उम्मेदवार लेखराज भट्टले नौ हजार ४४४ मतसहित तेस्रो स्थानमा झर्नुभएको थियो । करिब २४ वर्ष शिक्षण पेसामा बिताएका कोइराला कविता र गजल लेख्नमा सोख राख्नुहुन्छ ।
अध्यापनसँगै उहाँले कैलालीको चौमालामा सात बिघामा केरा खेती सुरु गर्नुभयो । बजार अभावका कारण केरा खेतीबाट आठ लाख रुपियाँको घाटा बेहोर्नु परेको बताउने कोइराला धनगढीमा फलफूलको थोक विक्रेता बन्नुभयो । त्यसमा पनि खासै सफलता हासिल नभएपछि उहाँ रोजगारीका लागि २०६४ सालमा दक्षिण कोरिया पुग्नुभयो । त्यहाँ कृषि मजदुरका रूपमा करिब दुई वर्ष काम गरेर स्वास्थ्यले साथ नदिएपछि उहाँ स्वदेश फर्किनुभएको थियो ।
नेपाल फर्किएपछि कोहलपुरमा साथीसँग निजी विद्यालय सञ्चालन गर्दै सहप्राचार्यको जिम्मेवारी समालेका कोइरालाले २०७२ सालदेखि आफ्नै क्षेत्रमा विद्यालय सञ्चालन गर्दै आउनुभएको छ । उहाँ रास्वपाको स्थापना कालदेखि गौरीगङ्गा नगरपालिकाको नगर उपसभापति हुँदै हाल रास्वपा कैलाली जिल्ला सचिव बन्नुभयो । साथै लायन्स क्लब अफ कैलाली गौरीगङ्गाका चार्टर प्रेसिडेन्टका रूपमा सामाजिक सेवामा रहनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “शिक्षा क्षेत्र र सामाजिक सेवामा गरेको अनुभव नै मेरो राजनीतिक यात्राको आधार हो । सङ्घीय संसद्को जिम्मेवारी पाएपछि कैलालीको गेटामा रहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने मेरो पहिलो एजेन्डा हो ।” विश्वविद्यालय सञ्चालनमा आएपछि प्रदेशवासीले स्तरीय र सहज स्वास्थ्य सेवा पाउने उहाँको विश्वास छ ।
सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न र स्वास्थ्य शिक्षाको स्तर पनि उकासिने भएकाले पहिलो प्राथमिकता विश्वविद्यालयलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने उहाँको भनाइ छ ।
कोइरालाले शिक्षा सुधार, युवालाई रोजगारी, कृषि आधुनिकीकरण, लागुऔषध नियन्त्रण र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाउनुभएको छ । सरकारी विद्यालयको सुदृढीकरण, प्राविधिक तथा सूचना प्रविधि (आइटी) क्षेत्रको विस्तार, युवालाई सिपमूलक तालिम र स्थानीय उद्योग तथा कृषि आधारित रोजगारी सिर्जना गर्ने उहाँका योजना छन् । कृषि क्षेत्रलाई सुदृढ बनाउन किसानलाई बजार सुनिश्चित, आधुनिक प्रविधिको प्रयोग र सहकारी सशक्तीकरण आवश्यक रहेको उहाँको भनाइ छ ।
यससँगै पारदर्शी बजेट प्रणाली र जनप्रतिनिधिको प्रत्यक्ष जवाफदेहिता सुनिश्चित गर्दै सुशासन प्रवर्धन गर्ने प्रमुख लक्ष्य रहेको उहाँको भनाइ छ । उहाँले सार्वजनिक सेवा प्रवाह सुधार अन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा समान पहुँच सुनिश्चित गर्ने योजना रहेको पनि बताउनुभयो ।