विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ६ गते । सप्तरीको कञ्चनरुप नरपालिकाले नगरक्षेत्र भित्र ट्राफिक व्यवस्थापन गर्न ‘नो पार्किङ’ र टिपर, ट्रक सञ्चालनमा समयसीमा निर्धारण गरेको छ ।
बजार क्षेत्रको जाम कम गर्न र सडक दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने उद्देश्यले नो पार्किङ’ र टिपर, ट्रक सञ्चालनमा समयसीमा निर्धारण गरिएको हो ।
नगरप्रमुख ललन प्रसाद गुप्ताले शुक्रबार जारी गर्नुभएको सुचना अनुसार रुपनगर-फत्तेपुर बाइपास सडकखण्डमा मालवाहक टिपर तथा ट्रक बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ ।
त्यस्तै कञ्चनपुर-फत्तेपुर मुख्य सडक खण्डमा भने यस्ता सवारीसाधन राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र चल्न पाउनेछन् । दिउँसोको समयमा मुख्य बजार क्षेत्रमा टिपर तथा ट्रक सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
कञ्चनपुर बजार अन्तर्गत मालपोत कार्यालयदेखि सर्वोदय माध्यमिक विद्यालयको मोडसम्म मुख्य सडकको दुवैतर्फ पार्किङ गर्न निषेध गरिएको नगरप्रमुख ललन प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
उहाँले विकल्प स्वरूप एक हप्ता सडकको दायाँतर्फ र अर्को हप्ता बायाँतर्फ मात्र पार्किङ गर्न पाइने ‘पालैपालो पार्किङ’ व्यवस्था लागु गरिएको बताउनुभयो ।
नगरपालिकाका प्रतिनिधि, नेपाल प्रहरी तथा ट्राफिक प्रहरी संयुक्त रूपमा सडकमा खटिएर ‘नो पार्किङ’ संकेत राख्ने र सवारी चालकलाई सचेत गराउने कार्य गरिरहेको कञ्चनरुप नगरपालिकाले जनाएको छ ।