केशवराज पौडेल
काठमाडौँ, चैत ६ गते । मोरङका दुईवटा स्थानीय तहमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि यसलाई अन्यत्र फैलिन नदिन पशु सेवा विभागले दक्ष प्राविधिक टोली परिचालन गरेको जनाएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुरामा बर्ड फ्लु (एभिएन इन्फ्लुएन्जा) पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिनुभयो । चैत ४ गते सङ्कलन गरिएको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा मलिकुलर विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।
महानिर्देशक दाहालका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट प्रभावित क्षेत्रको ‘चार किल्ला’ प्रमाणित गरी नियन्त्रणको प्रयास सुरु गरिएको छ । सङ्क्रमित क्षेत्रका घरपालुवा पन्छी र पन्छीजन्य पदार्थ नष्ट गरी निसङ्क्रमण गर्ने कार्य भइरहेको विभागले जनाएको छ ।
विभागले रोग नियन्त्रणका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका निकाय सक्रिय भएको बताउँदै कृषक तथा व्यवसायीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेश रोक्न, प्रवेश गराउनै परेमा पूर्ण रूपमा निसङ्क्रमण गर्न र कामदारहरूले छुट्टै बुट तथा एप्रोन प्रयोग गर्न विभागको सुझाव छ।
यस्तै, प्रयोग भइसकेका अण्डाका क्रेट पुनः प्रयोग नगर्न, मरेका कुखुरालाई गहिरो खाडलमा पुर्न र एक फार्मको कामदार अर्को फार्ममा नजान पनि आग्रह गरिएको छ । धेरै सङ्ख्यामा कुखुरा बिरामी परेमा वा मरेमा तत्काल नजिकैको पशु सेवा केन्द्रमा खबर गर्न र पन्छीको अनिवार्य बिमा गर्न समेत विभागले ध्यानाकर्षण गराएको छ ।