राजन रावत
हुम्ला, चैत ७ गते । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते हुनुभएको हो ।
सिमकोट गाउँपालिका–६ कै लाग्नाबाट सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर ग्वालढुस्काको सडकमा दुर्घटना हुँदा चालक सिमकोट गाउँपालिका–६ निवासी २५ वर्षका नरेन्द्र सुनार गम्भीर घाइते भएको प्रहरी निरीक्षक युवराज ढकालले बताउनुभयो ।
ग.१.त.७०६७ ट्याक्टर चली रहेको बेला अचानक अनियन्त्रित भई सडकबाट डेढ सय मिटर तल खसेको उहाँले बताउनुभयो । दुर्घटनामा परि चालक सुनार गम्भीर घाईते अवस्थामा प्रहरीले उद्धार गरेर जिल्ला अस्पतालमा पुर्याएको छ ।
हाल चालक सुनारको जिल्ला अस्पतालमा उपचार भइरहेको र घाइते चालकको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने चिकीत्सकले जनाएको भएपनि अहिले राती परेकोको कारण शनिबार मात्र जिल्ला बाहिर थप उपचारका उद्धार गरिने छ ।