• ६ चैत २०८२, शुक्रबार

स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला

blog

फाइल तस्बिर

वालिङ (स्याङ्जा), चैत ६ गते । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा मरेको चितुवा फेला परेको छ ।

आज दिउँसो बसिन्डाँडामा झण्डै एक वर्ष उमेरको चितुवा मरेको अवस्थामा फेला परेको गल्याङ, कालीगण्डकी सवडिभिजन वन कार्यालय गल्याङका वन अधिकृत सुमन केसीले जानकारी दिनुभयो ।

आज भेटिएको चितुवा केही दिनअघि मरेको हुनसक्ने अनुमान वन कार्यालयको छ । मृत भेटिएको चितुवा गन्हाउन सुरु भएकाले केही दिन अघि मरेको हुनसक्ने उहाँले बताउनुभयो । “मृत अवस्थामा फेला परेको चितुवाको बाहिरी शरीरमा कुनै पनि प्रकारको घाउ चोटपटक देखिएको छैन”, उहाँले भन्नुभयो, “मानिस अथवा अन्य शिकारीको आक्रमणबाट मरेको नभई अन्य कारणबाटै मरेको देखिएकाले स्थानीय जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीको रोहबरमा मुचुल्का गरेर कार्यालयले चितुवाको शव व्यवस्थापन गरेको छ ।”

मरेको चितुवा देखेपछि स्थानीयले प्रहरी तथा गल्याङस्थित सवडिभिजन वन कार्यालयमा जानकारी गराएका छन् । रासस