केशवराज पौडेल
काठमाडौं, चैत ६ गते । पछिल्लो मोरङको दुई पालिकामा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचालन गरेको जनाएको छ ।
विज्ञहरुले रोगलाई पूर्ण नियन्त्रणमा राख्नलाई कृषक, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसारमा संम्लग्नलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका ४ र उर्लाबारी नगरपालिका ८ मा पालिका कुखुरामा बर्ड फ्लूको सङ्क्रमण देखिएको पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले उल्लेख गर्नुभयो ।
बर्ड फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएपछि चैत ४ गते सङ्कलन गरिएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा मलिकुलर विधीबाट परीक्षण गरिएकोमा पुष्टि भएकोे उहाँले उल्लेख गर्नुभयो ।
बर्ड फ्लूको सङ्क्रमण देखिएको सो क्षेत्रमा बर्ड फ्लू नियन्यण नियमावली २०७८ बमोजिम नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट चार किल्ला प्रमाणित गरेर नियन्त्रणको लागि प्रयास सुरु भएको महानिर्देशक दाहालले बताउनुभयो ।
उहाँले सो क्षेत्रलाई बर्ड फ्लूको सङ्क्रमणको क्षेत्र घोषणा गरेर सोही अनुसार रोग नियन्त्रणको प्रयास सुरु गरेको बताउनुभयो । सो क्षेत्रमा पालिएका घरपालुवा पंछी, पछींजन्य पदार्थको नष्ट गरेर सङ्क्रमणको काम भैरहेको उल्लेख गर्नुभयो ।
विभागले रोग पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलन नदिन तत्काल नियन्त्रणमा राख्न संघीय, प्रदेश र स्थानीय तहका निकायहरु सक्रिय भएर लागेको विभागले जनाएको छ ।
बर्ड फ्लूको संक्रमणलाई नियन्त्रणमा राख्न आफ्नो फार्म अनावश्यक व्यक्ति र सवारीसाधन आउन नदिन, फार्ममा प्रवेश गराउनै परेमा सङ्क्रमण गरेर मात्र प्रवेश गराउन विभागले अनुरोध गरेको छ ।
एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान, प्रयोग भएको अण्डाको क्रेट नष्ट गर्न, फार्मको ढोकामा अनिवार्य चुना वा सङ्क्रमण गरेको चप्पल मात्र प्रयोग गर्न अनुरोध गरेको छ । खोरमा जाँदा छुट्टै बुट र एप्रोन लगाउन विभागले अनुरोध गरेको छ ।
पछिल्लो समय यो रोगका कारणले कुखुरा मर्न थालेको र सङ्क्रमण पनि बढेकाले सचेत हुन आवश्यक रहेको विभागले जनाएको छ । विभागले कुखुराको फर्ममा अनावश्यक सवारी र आगन्तुक लिएर नजान, कुखुरा वा दाना बोक्ने गाडीलाई फर्म परिसरमा प्रवेश नगराउन र प्रवेश गराउनै परेमा सङ्क्रमण गरेर मात्र भित्र पसाउन अनुरोध गरेको छ ।
खोरमा जाँदा फरक फरक बुट र एप्रोनको प्रयोग गर्न, फार्ममा कुकुर, बिरालो र मुसो छिर्न नदिने व्यवस्थापन गर्न , मरेको कुखुरालाई तत्कालै गहिरो खाडलमा पुर्न, रोग सर्न सक्ने भएकाले एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा सकेसम्म नजान विभागले अनुरोध गरेको छ ।
एक पटक प्रयोग भएको कागजको अण्डाको क्रेट प्रयोग नगर्न, लो फ्याथोजेनिक एभियन ईन्फ्लुन्जाको विरुद्ध गुणस्तरीय खोप लगाउन र किसानले अनिवार्य बिमा गर्न अनुरोध गरेको छ । विभागले एकै पटक धेरै संख्यामा कुखुरा बिरामी परेमा वा मरेमा तत्कालै नजिकैका पशु सेवाका निकायमा खबर गर्न अनुरोध गरेको छ ।