हरिकृष्ण ऐडी
मुगु, चैत ६ गते। पर्यटकीय क्षेत्र रारा घुम्न आएकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरे रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाले जानकारी दिनुभयो।
प्रहरी नायव उपरीक्षक थपलियाका अनुसार घिमिरेको शुक्रबार बिहान ७:२५ बजे जिल्ला अस्पताल मुगुमा उपचारको क्रममा मृत्यु भएको हो। उहाँ आफ्ना दुई साथीहरूसँग चैत ३ गते रारा भ्रमणका लागि मुगु आउनुभएको थियो ।
उहाँसँगै रहेका अन्य दुई जना शिशिर कोइराला र विशाल सुवेदी बाँके जिल्लामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ। तीनै जना रारा क्षेत्रको सल्लेरीस्थित ‘डाफे’ होटलमा बस्दै आउनुभएको थियो ।
रारा भ्रमणकै क्रममा घिमिरे अचानक बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याइएको थियो। मृतकका आफन्त हालसम्म सम्पर्कमा नआएको र उनको परिचय खुल्ने मोबाइल तथा अन्य सामान भने रारा क्षेत्रको उक्त होटलमै रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। ।
मृत्यक सदीक्षा घिमिरे संगै आएका शिशिर कोइराला र विशाल सुवेदीका अनुसार लेकलागेर मृत्यु भएको बताएका छन्। कुन कारणले मृत्यु भएको हो भन्ने बिषयमा यसबारे थप जानकारी पोष्टमाट्रम रिपोर्टपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक थपलियाले बताउनुभयो।