• ६ चैत २०८२, शुक्रबार

चार सय बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

blog

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिँदै । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलबस्तु), चैत ६ गते । आर्थिक अभावका कारण शैक्षिक सामग्री खरिद गर्न नसकी बीचमै पढाइ छाड्न बाध्य हुने विद्यार्थीको विद्यालय छाड्ने दर कम गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ । उक्त सामग्री कपिलबस्तु नगरपालिकाका ६ वटा विद्यालयका ४१३ जना विद्यार्थी र तिनका अभिभावकलाई सामग्री वितरण गरिएको हो ।

आर्थिक रुपमा शैक्षिक सामग्री खरिद गर्न नसक्ने बालबालिकाहरुलाई पढाईमा निरन्तरता दिनका लागि शैक्षिक सामग्री र खद्यान्न वितरण गरिएको राइट टु एक्सेस नेपालका कार्यकारी निर्देशक विनोद पौडेल बताउनुभयो । गत वर्ष पनि यस्तै कार्यक्रममार्फत विभिन्न १० वटा विद्यालयका ८०० जना बालबालिका र तिनका अभिभावकलाई सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

विद्यालयलाई अझ सक्षम बनाउन स्थानीयको साथ र अभिभावकको सक्रियता आवश्यक रहेको लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले बताउनुभयो । उहाँले शिक्षामा लगानीले समाजलाई समुन्नत बनाउने भएकाले सबैले सहयोग गर्नुपर्ने धारणा राखनुभयो ।

यस प्रकारको सहयोगले विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि हुनुका साथै अध्ययनप्रतिको आकर्षण बढ्ने अपेक्षा गरिएको कपिलबस्तु नगरपालिका वडा ३ का वडाध्यक्ष प्रकाश गैरेले बताउनुभयो। पालिकाभित्र रहेका विद्यालयहरुमा अध्ययान गर्ने बालकालिकाहरुलाई शुल्क शत प्रतिशत छुट गरिएको उहाँको भनाइ छ ।

विद्यार्थीलाई सिलाइसमेत गरिएको एक सेट विद्यालय पोशाक, एक थान स्वेटर, एक थान टोपी, विद्यालय पोशाकसँग मिल्ने कालो जुत्ता र एक जोर मोजा, एकवटा झोला, सातवटा कापी तथा स्केल, कलर, इरेजर, सापनर, पेन्सिल, डटपेनलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । त्यस्तै, अभिभावकलाई २५ किलोग्राम चामलको एक बोरा र एक लिटर खाने तेल उपलब्ध गराइएको छ ।

कार्यक्रमलाई निरन्तरता दिँदै तीन वर्षभित्र कुल दुई हजार ४०० जना विद्यार्थी र तिनका अभिभावकलाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।