फडिन्द्र अधिकारी
लेखनाथ, चैत ६ गते । कास्कीको पोखरा महानगरपालिका वडा –२९, सैनिक बस्तीबाट ठुलो परिमाणको प्रतिबन्धित लागु औषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आयुष तामाङको घरबाट लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १९ वर्षीय आयुष तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिशुवा र लागूऔषध नियन्त्रण ब्युरो पोखरा शाखाको संयुक्त टोलीले बुझबार साँझ तामाङलाई नियन्त्रणमा लिएको थियो । तामाङलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बास्नेतको भनाइ छ ।
प्रहरीले तामाङको साथ र घरकोठा खानतलासी गर्दा एक हजार सातसय २१ एम्पुल डाइजापाम, तीनसय ३४ एम्पुल फेनेरागन र तीनसय ७७ एम्पुल ब्रुफिनुर्फिन गरी जम्मा दुई हजार चारसय ३२ एम्पुल लागुऔषध बरामद गरेको छ ।
प्रहरीले तामाङको साथबाट दुई थान मोबाइल र ९३ हजार पाँचसय रुपियाँ नगदसमेत फेला पारेको छ । पोखरा–१०, रामघाटबाट तनहुँ स्थायी घर भई हाल रामघाट बस्ने २० वर्षीय शिव गिरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ परेका गिरीलाई लागुऔषधसम्बन्धी मुद्दामा एक हप्ता म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।