• ७ चैत २०८२, शनिबार

एभरेस्ट चिनी मिलको ८९ दिनको उखु क्रसिङ सम्पन्न

blog

महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर मिलमा क्रसिङ बन्द भएपछि टाइम शाखामा जानकारी लिँदै कर्मचारी। तस्बिर: रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, चैत ७ गते ।
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले विविध चुनौतीका बाबजुद यस वर्षको उखु क्रसिङ सफलतापूर्वक सम्पन्न गरेको छ। गत पुस ७ गते सञ्चालनमा आएको मिलले बिहीबार (चैत ५ गते) राति २ बजेदेखि चालु सत्र (२०८२/८३) को क्रसिङ औपचारिक रूपमा बन्द गरेको हो।

यस वर्ष मिलले न्युनतम ३१ लाख क्विन्टल उखु क्रसिङ गरी करिब दुई लाख ७९ हजार क्विन्टल चिनी उत्पादन गर्ने लक्ष्य राखेको थियो। तर उखु अभावका कारण २८ लाख ५३ हजार १७८ क्विन्टल मात्र क्रसिङ गर्न सकियो, जुन लक्ष्यभन्दा करिब २ लाख क्विन्टल कम हो।

उद्योगका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार किसान आन्दोलन, मौसमी प्रतिकुलता, चुनावी व्यस्तता र ‘नो केन’ (उखु अभाव) जस्ता समस्याले उत्पादनमा असर पारेको छ।

आर्थिक वर्ष २०८१/८२ सत्रमा मिल ९२ दिन सञ्चालन भएको थियो भने यस वर्ष उखु अभावका कारण ८९ दिन मात्रै सञ्चालन हुन सक्यो। निर्वाचन, सरसफाइ र उखु अभावका कारण क्रसिङ पटक–पटक प्रभावित भएको पनि ठाकुरले जनाउनुभयो।

मिलको मुख्य उखु उत्पादन क्षेत्र महोत्तरी र सर्लाही भए पनि अपेक्षित उत्पादन नहुँदा लक्ष्य पूरा हुन सकेको छैन। महोत्तरीबाट २४ लाख क्विन्टल उत्पादन हुने प्रक्षेपण गरिएकोमा २२ लाख क्विन्टल मात्र प्राप्त भएको छ भने सर्लाही पूर्वी क्षेत्रबाट ५ लाख क्विन्टल उखु प्राप्त भएको छ।

चिनीको रिकभरी दर गत वर्ष ८.७२ प्रतिशत रहेकोमा यस वर्ष करिब ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ। हाल क्रसिङ सम्पन्न भएकाले चिनी उत्पादनको यकिन विवरण केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ।

खरिद गरिएका उखुमध्ये फागुन २६ गतेसम्म २६ लाख ३२ हजार क्विन्टल उखुको एक अर्ब ६१ करोड ७२ लाखभन्दा बढी रकम १,१७४ किसानको खातामा भुक्तानी गरिएको छ। बाँकी रकम पनि एक साताभित्र भुक्तानी गरिने वित्तीय महाप्रबन्धक ठाकुरले जानकारी दिनुभयो।

समयमै भुक्तानी सुरु भए पनि किसानहरू उचित मूल्य नपाएको भन्दै असन्तुष्ट छन्। उनीहरूले उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ७५० रुपियाँ कायम गर्न माग गर्दै मिल गेटदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरेका थिए। सरकारले यस वर्ष प्रति क्विन्टल समर्थन मूल्य ६२० रुपियाँ तोकेको छ। ७० रुपियाँ अनुदान थपिएपछि मूल्य ६९० रुपियाँ पुगेको छ।

उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले उत्पादन लागत, अनुदान र बजार मूल्यबिचको असन्तुलन सुधार गर्न सरकारसँग माग गर्दै आएका छन्। उखु उत्पादक कृषक महासङ्घका केन्द्रीय सदस्य महाशङ्कर थिङले पनि कृषक समस्यालाई कृषि क्षेत्रको विश्वसनीयतासँग जोडिएको भन्दै नयाँ सरकारले सकारात्मक पहल गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ।