बोमलाल गिरी
नवलपुर, चैत ७ गते । शुक्रबार दिउँसोदेखि परेको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलको दाउन्ने सडकखण्ड ठप्प भएको छ। लगातारको वर्षाका कारण सडक अत्यधिक चिप्लो र हिलाम्य बनेपछि उक्त खण्ड शुक्रबारदेखि नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सडक केहीबेर खुल्ने गरे पनि पुनः अवरुद्ध हुँदा सवारी साधन लामो जाममा परेका छन्। यसले सवारी व्यवस्थापनमा निकै समस्या भएको उहाँले बताउनुभयो।
प्रहरीका अनुसार पैसट्ठीमोड र विश्वकर्मा मन्दिर नजिक बढी समस्या देखिएको छ। वर्षासँगै सडक हिलाम्य भएपछि सवारी साधन उकालो चढ्न नसकी बिच बाटोमै अड्किएका छन्।
सडकको अवस्था बिग्रिएपछि रातिका लागि ठुला तथा मालवाहक सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। सडक आयोजनाले शुक्रबार सूचना जारी गर्दै चैत ६ देखि ८ गतेसम्म राति ठुला तथा मालवाहक सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ।
प्रहरी उपरीक्षक खड्काका अनुसार अप्ठेरो सडकमा सवारी चालकहरूले जबरजस्ती ओभरटेक गर्न खोज्दा समस्या झन् जटिल बनेको छ। एक साताअघि परेको वर्षाले पनि दुई दिनसम्म यस खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भएको थियो।
यसैबिच, अविरल वर्षाका कारण दाउन्ने–दुम्कीबास सडकखण्डका विभिन्न स्थानमा सडक अत्यधिक चिप्लो बनेकाले सवारी आवागमन प्रभावित भएको छ। प्रहरीले आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न वा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।