बाबुराम देवकोटा
सिन्धुलीमाढी, चैत ७ गते । विकास निर्माण र यातायात पूर्वाधारविज्ञ आशिष गजुरेललाई नेपालमै बसेर केही गरौँ भन्ने हुटहुटी सदैव लाग्थ्यो । अझ विदेशमा अध्ययन गर्दा त्यहाँ देखेको भौतिक पूर्वाधारको विकासले उहाँको मनमा नेपालमा पनि केही गर्न सकिन्छ भन्ने लाग्थ्यो । उहाँको त्यो सोच अहिले पूरा हुने भएको छ । सिन्धुली–२ को माननीय भएसँगै उहाँ नीतिगत र संरचनात्मक सुधार गर्ने ठाँउ पुग्नुभएको छ ।
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १७ हजार ९४० मत प्राप्त गर्दै सङ्घीय संसदमा विजयी भएका गजुरेलले निर्वाचनपछि आफूले गरेका वाचा क्रमशः पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । एक सांसदका रूपमा आफूले कानुन, नीति र प्रक्रियालाई सुधार गर्दै नयाँ कानुन निर्माण गर्न अग्रणी भूमिका निर्वाह गर्ने उहाँ बताउनुहुन्छ ।
सिन्धुलीको सदरमुकामस्थित ढुङ्गे्रबासमा २०३८ साल वैशाख २ गते जन्मिएका गजुरेलले अध्ययनदेखि पेसागत यात्रासम्म विकास र पूर्वाधारकै क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएको छ । गजुरेलले काठमाडौँ विश्वविद्यालयबाट आइएस्सी अध्ययन पूरा गरेपछि जर्मनीमा यातायात इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभयो । नेपाल फर्किएर केही समय पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्यापन गर्नुभएका उहाँले निजी क्षेत्र र सरकारी निकायमा समेत काम गर्नुभयो । युनिलिभर नेपाल कम्पनीसँग दुई वर्ष जोडिएका गजुरेल नेपाल सरकारको लगानी बोर्डमा विकाससम्बन्धी विज्ञ परामर्शदाताका रूपमा करिब आठ वर्ष काम गर्नुभयो ।
उम्मेदवारी दर्ता गर्नुअघिसम्म नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका रूपमा काम गरेका गजुरेलले सो अवधिमा केही महत्त्वपूर्ण पूर्वाधार परियोजना अघि बढाउनुभयो । चोभारस्थित सुक्खा बन्दरगाहको सञ्चालन र कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण आफ्नो कार्यकालमा भएको उहाँ सगौरव सुनाउनुहुन्छ ।
विराटनगर, वीरगन्ज, भैरहवालगायतका सुक्खा बन्दरगाहलाई डिजिटलाइज गराउन पहल गरेको बताउने गजुरेल भन्नुहन्छ, “संसदीय अभ्यासमा बसेर नीति, नियम र प्रक्रियालाई स्पष्ट र प्रभावकारी बनाउने मेरो पहिलो लक्ष्य हो ।”
यातायात र पूर्वाधार नै आफ्नो विशेषज्ञताको क्षेत्र रहेको बताउँदै उहाँले सार्वजनिक यातायात, सडक सुरक्षा र विकास निर्माणसम्बन्धी विषयमा अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आउनुभएको छ । “यी विषयमा काम गर्दा विकास र आर्थिक प्रगति हुन नसक्नुका कारण कतिपय कानुन, नीति र प्रक्रियामा रहेको अस्पष्टता र त्रुटि रहेको देखियो,” उहाँले भन्नुभयो । राज्यका निकायमा काम गर्दा देखिएका ती समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक भएको उहाँको बुझाइ छ । “एउटा कार्यालय प्रमुख भएर मात्र बस्दा आफूलाई पनि र देशलाई पनि न्याय नहुने ठानेँ । त्यसैले नीति, नियम र कानुन सुधार गर्न संसदमा जानुपर्छ भन्ने बोध भयो,” उहाँले थप्नुभयो ।
गजुरेलका अनुसार उम्मेदवार बन्ने निर्णय भने अन्तिम समयमा मात्रै भएको थियो । उम्मेदवार मनोनयनको तीन दिनअघिसम्म उहाँ आफ्नो कामका सिलसिलामा वीरगन्जमा हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेतासँग छलफल भइरहे पनि चुनाव लड्ने विषयमा उहाँमा अन्योलता कायम नै थियो । सङ्घीय सरकारले गर्ने विकास निर्माणका काममा सम्बन्धित निकायसँग समन्वय गर्ने र प्रदेश तथा स्थानीय तहसँग सहकार्य गर्दै जनताका माग सम्बोधन गर्न पहल गर्ने उहाँको योजना छ ।
मतदाताले अघि सारेका रोजगारी सिर्जना, भ्रष्टाचार अन्त्य, सुशासन, खानेपानी, सडक र सिँचाइ जस्ता आधारभूत विकासका विषयलाई संसदभित्र र बाहिर सम्बोधन गर्नु आफ्नो प्रमुख दायित्व रहेको उहाँ बताउनुहुन्छ ।