• ७ चैत २०८२, शनिबार

दाउन्नेको अवरोधले पश्चिम जाने सवारी साधन कावासोतीमै रोकिए

blog

कावासोतीमा रोकिएका सवारी साधन । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, चैत ७ गते। लगातारको वर्षाले चिप्लो बाटोमा गाडीले बाटो पार गर्न नसक्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा गाडीको लामो लाइन लागेको छ। लगातारको झरीले डाउन्नेको उकालोमा चिप्लिएर गाडी गुड्न नसक्दा दुम्किवाससम्म जाम भएको इलाका प्रहरी कार्यालय दुम्किवासले जनाएको छ ।

बाटो चिप्लो भएका कारण पूर्वबाट पश्चिम जाने ठूला मालवाहक सवारी साधन दाउन्नेमा जाम नहोस् भनेर कावासोतीको जंगलमै रोकिएका छन्।सडक आयोजनाले दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो हुँदा सवारी साधन आवत जावतमा समस्या भएकोले विगत तीन दिनदेखि शनिवारसम्म रातिमा ठूला तथा मालवाहक सवारी साधन चलाउन रोक लगाएको थियो।

तर दाउन्नेको अवरोध खुल्ने अवस्था नभएका कारण गाडीहरुलाई यतै रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो।खानका लागि समस्या नहोस् भनेर शहर नजिकैका जंगलमा लाइन लगाएर गाडी रोकेको उहाँको भनाइ छ।

शुक्रबार दिउँसोदेखि पानी परेर सडक चिप्लो भएपछि दाउन्ने खण्ड अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीको भनाइ छ। पैसट्ठीमोड र विश्वकर्मा मन्दिर नजिक बढी समस्या देखिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो।


साँझदेखि पानी पर्न रोकिएकाले विस्तारै सडक खुलाउन प्रयास भइरहेको दुम्किवास प्रहरीले जनाएको छ।प्रहरी उपरीक्षक खड्काका अनुसार साना तथा ठूला सवारी साधनले अप्ठेरो बाटोमा पनि जबरजस्ती ओभरट्याक गर्न खोज्दा पनि झन समस्या हुने गरेको छ।