हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक २७ गते । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तिर्थस्थल दामोकर कुण्डमा एकैदिनमा दर्शन गरेर फर्किन सकिने गरी पूर्वाधार विस्तार गरिने भएको छ ।
स्वदेश तथा विदेशबाट आउने तिर्थालु तथा पर्यटकलाई सहज हुने गरी सडक सञ्जाल र झोलुङ्घे पुल निर्माण गरी दर्शन गरी कम उचाईसम्म फर्किन सकिने संरचना बनाउन लागिएको हो ।
पैदल र घोडाबाट दामोदर कुण्ड जाने तिर्थयात्री बिरामी हुने, लेक लागेर ज्यान जाने समस्यालाई न्युनीकरण गर्न न्यु माला डाँडा र घस्याला डाँडाको खोचमा समुन्द्री सतहदेखि ५५ सय मिटरको उचाइमा रहेको भारस्या खोलामा ४ सय ५० मिटर लामो झोलुङ्ग पुल निर्माणका लागि सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत बजेट विनियोजन भइसकेको छ । यो खोँच नै काहाली लाग्दो भएकाले लेक लागेर तिर्थालु बाटोमै अलपत्र पर्ने गरेका थिए ।
उक्त झोलुङ्गे पुल बनेपछि पाँच घण्टाको यात्रा छोटिने छ । मुस्ताङमा सबैभन्दा अग्लो स्थानमा बन्ने झोलुङ्गे पुल सम्भवत उच्च क्षेत्रमा बन्ने पहिलो पुल हुने अनुमान समेत गरिएको छ । झोलुङ्गे पुल बनेपछि दुई वटा अग्ला डाँडा जोडिनेसँगै दामोदर कुण्डसम्म पैदल २ घण्टा र फर्किने ३ घण्टा लाग्ने मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो,‘‘दामोदर कुण्ड आसपासका क्षेत्रमा रात बिताउन नपर्ने गरी पूर्वाधार विस्तार गरिने छ, त्यहाँ जाने धेरैलाई लेक लाग्ने समस्या समेत समाधान हुन्छ ।’’
प्रजिअ भुषालका अनुसार झोलुङ्गे पुलसम्म लो–घेकर दामोदरकुण्ड वडा नं ४ याराघाराबाट करिब चार किलोमिटर सडक समितिको खर्चमा सडक विस्तार गरिँदैछ । सडक र झोलुङ्गे पुलले दामोदर कुण्डसम्मको यात्रा छोटिने प्रजिअ भुषालको भनाइ छ ।
याराघाराबाट बिहान दामोदर कुण्डको यात्रामा निस्किएका तिर्थालु बेलुकीसम्म फर्किन सकिने गरी संरचना बनाउन स्थानीयले समेत सघाइरहेका छन् । दामोदर कुण्डमा लेक लागेर बर्सेनि तिर्थालुको मृत्यु हुने र बिरामीलाई समेत उद्धारमा समस्या भएपछि सडक सञ्जाललाई झोलुङ्ग पुल विस्तार गर्न करिब ३० लाख बजेटको अनुमान गरिएको छ । याराघाराका ६५ वर्षीया डण्डु गुरूङले धर्मशालामा रात बिताएर जान चाहनेका लागि पूर्वाधार विस्तार समेत भइरहेको अवस्थामा बालबालिका, वृद्धवृद्धालाई रातको समयमा लेक लाग्ने भएकाले सडक र झोलुङ्ग पुलले यात्रा छोटिने र दर्शनार्थीको सङ्ख्या समेत ह्वात्तै बढ्ने बताउनुभयो ।
हाल कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङ सम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारी साधनमा झुमा ठाटीसम्म जाने गरेकोमा बाटो सहज नहुदाँ तिर्थालुले घोडा सयर गर्ने गरेका छन् । घोडा र पैदल यात्राबाट दामोदर कुण्डको यात्रा कठिनपूर्ण छ । दामोदर कुण्ड मुक्तिनाथ विकास समितिको मातहतमा रहेको छ । समितिले हिन्दू तथा बाैद्ध धर्मावलम्बीहरूलाई अध्ययन र अनुसन्धानमा सहज हुने गरी अध्ययनस्थल निर्माणका लागि १ करोड बजेट समेत विनियोजन गरेको छ । केन्द्र बनाउन ४ करोड लाग्ने भएकाले अन्य बजेट सङ्घीय र प्रदेश सरकारमार्फत माग गरिएको छ ।
दामोदरकुण्डमा आर्थिक वर्ष २०८१-०८२ मा झण्डै ५ हजारको हाराहारीमा भक्तजनहरू पुगेको अनुमान गरिएको छ । समितिले अब दामोदर कुण्डमा जाने इन्ट्रीमा नेपाली तिर्थालुको समेत विवरण सङ्कलन गर्ने तयारी गरिएको वडाध्यक्ष झयाङ छेसा गुरूङको भनाइ छ । समुन्द्री सतहबाट ४ हजार ८ सय ९० मिटर उचाइमा रहेको दामोदरकुण्डलाई मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान मानिन्छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको उद्घमस्थल समेत रहेकाले नेपाली र भारतीय हिन्दु धर्मालम्बीको रोजाइमा पर्ने गरेको छ ।
अर्धनिषेधित क्षेत्रमा पर्ने भएकाले भारतीय सहित तेस्रो देशका पर्यटकले १० दिनका लागि पाँच सय डलर तिरेर मात्रै प्रवेश अनुमति दिइने भएकाले दामोदर कुण्डमा जाने धेरै नेपाली हुन्छन् ।
जाडोयाममा कुण्ड क्षेत्रमा पुगेर हिउँमा फसेकाहरूलाई करिब ३ महिना पुग्ने खाद्यान्न, लत्ताकपडा र पिउने पानी समेत धर्मशाला सञ्चित गरिएको छ । धर्मशालामा निःशुल्क भोजनको सुविधा समेत छ । कुबेरका छोराहरूले दामोदरकुण्डमा स्नान गरी पाप पखालेको धार्मिक मान्यता रहेको छ ।
यस क्षेत्रबाट घरमा रहेको मन्दिरमा शालिग्राम शिलाराख्दा पुन्य कमाइने भएकाले तिर्थालुले शीला र जल लिएर जान्छन् । दामोदरकुण्डमा ३ वटा जलाशय चक्रकुण्ड, दुधकुण्ड र तामाकुण्ड छन्। यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड। जहाँ चक्र कुण्ड र दुधकुण्ड एक स्थानमा पर्छ भने तामा कुण्ड करिब १ सय मिटर टाढा छ ।
