मितव्ययी खरिदका लागि प्रतिस्पर्धा
सरकारको पूरै वा आंशिक लगानी वा खर्चमा सञ्चालन हुने निकायलाई हामी सार्वजनिक निकाय भनेर बुझ्ने गर्छौं। सार्वजनिक निकायले जनताको करबाट उठेको रकमबाट खर्च गर्नुपर्दा मितव्ययिता, पारदर्शिता, औचित्यता, स्वच्छता, इमानदारिता, जवाफदेहिता, विश्वसनीयता र प्रतिस्पर्धाका सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने हुन्छ। यसरी खरिद कार्य गर्दा कम विवादित हुने, समयमै कार्य सम्पन्न हुने र जनताले तिरेको करको उच्चतम सदुपयोग हुने अवस्था सिर्जना हुन्छ। सार्वजनिक खरिद व्यवस्थापनका क्रममा प्रतिस्पर्धा र मितव्ययितालाई आत्मसात् गरी मूल मन्त्रका रूपमा लिनु सबै सार्वजनिक निकायको कानुनी मात्र नभई नैतिक दायित्वसमेत हुन जान्छ।
विप्रेषण निर्भरताको प्रभाव
आफू जन्मिएको भूगोल छाडेर अरू देशमा गई काम गर्नुपर्ने बाध्यता संसारभर छ/। खासगरी औद्योगिक क्रान्तिपछि परम्परागत कृषिमा निर्भर जनशक्ति बिस्तारै उद्योगधन्दातिर लाग्न थाल्यो। औद्योगिक गतिविधि विस्तारले बैङ्क, वित्त, यातायात, सञ्चार, होटल, पर्यटनजस्ता अनेकौँ अर्थतन्त्रका आयाम विस्तार हुन थाले। यसले श्रमिकलाई काम खोज्नका लागि विकल्प देखिन थाल्यो र राम्रो कामका लागि संसारभर भौँतारिनुपर्ने अवस्था आयो। यो क्रम निरन्तर बढ्दै गयो। संसारमा विदेशमा काम गरेर परिवारका हेरचाहका लागि साधन जुटाउने करोडौँ श्रमिक छन्। विदेशमा काम गरेर आर्जन गरेको रकम आफ्नो देश तथा परिवारमा पठाउने साधन अर्थतन्त्रकै मूल पाटो भयो। यसलाई विप्रेषण अर्थात् रेमिट्यान्सका रूपमा लिन थालियो। विश्वभर नै विप्रेषणका आप्रवाह बढ्दो क्रममा छ। नेपाल विगत दुई दशकदेखि विप्रेषणमा बढी निर्भर हुँदै गएको छ। यसको असर समयमै विश्लेषण गरी विकल्प खोजी गरिएन भने अर्थतन्त्र मात्र होइन, मुलुकको आर्थिक विकासमै अझ प्रतिकूल प्रभाव पर्न सक्नेछ।
भड्किलो बन्दै चाडपर्व
आजभोलि तीज गीतका भाका र तीज मनाउनै शैली निकै नै भड्किलो देखिन थालेको छ। समाजमा आफूलाई धनी देखाउने होडले ऋण खोजेरै भए पनि कपडा किन्ने र कपडाअनुसारकै गरगहना किनेर देखावटी गर्ने चलनले तीज मनाउने शैलीमा प्रतिस्पर्धा हुन पुगेको छ। यसो हुँदा धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको चाड भड्किलो र खर्चिलो बन्दै गएको छ। जसका कारण तीजको सांस्कृतिक र सामाजिक पक्ष कमजोर हुँदै गएको छ।
तलबमानको सैद्धान्तिक अवधारणा
कोभिड–१९ को कहरबाट मुलुकले छुटकारा पाउँदै गर्दा विश्वव्यापी अर्थतन्त्रमा आएको गिरावटका बीच आवधिक चुनावको चटारोले मुलुकको घरेलु अर्थतन्त्रलाई चुनौती थपिदिएको छ । मुलुकको अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रिरहेको र लोकतन्त्रलाई थप मजबुत र संस्थागत गरी मुलुक र जनताको समुन्नतिलाई सुनिश्चित गर्न राजनीतिक नेतृत्वको एकल प्रयत्न मात्र पर्याप्त हुँदैन । राजनीतिक नेतृत्वलाई मुलुकको प्रशासनयन्त्र र विकासे संरचनाहरूले थप प्रभावकारी तथा स्वतःउत्प्रेरित भई अहोरात्र खटेर बिनासर्त सघाउनुपर्ने हुन्छ । कर्मचारी प्रशासन र राजनीतिक नेतृत्वको सामूहिक प्रयासको उपलब्धि नै मुलुकको समृद्धि हो ।
नागरिकता विधेयकमा द्वैध चरित्र
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकले अहिले मुलुकको राजनीति तरङ्गित बनेको छ। सरकारले अन्य विषयलाई थाती राखेर नागरिकता पाउने पर्याप्त आधार हुँदाहुँदै पनि कानुनको अभावमा नागरिकता पाउन नसकेका लाखौँ युवालाई ‘अनागरिकबाट नागरिक बनाउन’ विधेयक ल्याएको हो। नेपालको संविधान २०७२ को धारा १० ले ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिनेछैन’ भन्ने व्यवस्था कार्यान्वयन गर्न ल्याएको विधेयकलाई अनावश्यक रूपमा अतिरञ्जित गर्ने प्रयास भएको छ।
अर्थतन्त्र सुधार्ने रणनीति
कोभिड महामारीपछि स्थानीयकरणको आवश्यकता टड्कारो महसुस भयो। स्थानीयकरण भनेको कुनै विशेष संस्कृति वा स्थानको माग पूरा गर्न स्रोत वा उत्पादनको अनुकूलन हो, जब कि भूमण्डलीकरण भनेको धेरै संस्कृति र स्थानको माग पूरा गर्न एक विशेष स्रोतको अनुकूलन हो । हामीले पिनदेखि प्लेन र स्क्रुदेखि पनडुब्बीसम्म सबै कुरा बनाउने रुचि त्याग्नुपर्छ । धेरै जसरी कम्पनीले ‘स्वट’ विश्लेषणमार्फत आफ्ना उत्पादन र सेवालाई तर्कसङ्गत बनाउन सिक्छन् । स्रोतसाधनका लागि कडा प्रतिस्पर्धा छ र स्रोत बाँडफाँटमा छनोटको दृष्टिकोण नभएसम्म आधारशीलाको राष्ट्रमै सीमित हुनेछौँ ।
सिर्जनामा मौलिकताको खडेरी
देशको वर्तमान परिस्थितिलाई गहिरिएर हेर्दा पहाडी क्षेत्रका खेतीयोग्य जग्गा बाँझिँदै गएका छन्। खेती गरिएको छ भने पनि जङ्गली जनावरको बिगबिगीबाट खेतीपाती जोगाउन कठिन भएको छ। तराई र सहरका खेतीयोग्य जमिन सिमेन्ट र कङ्क्रिटले भरिँदै गएका छन्। कर्मठ युवाको ठूलो सङ्ख्या वैदेशिक रोजगारीमा बाहिरिएका छन्। जलवायु परिवर्तनका कारण खेती गर्ने वातावरण बिग्रँदै गएको मात्र होइन, यहांँका धेरैजसो कृषक खासगरी युवा महिला काम गर्ने वातावरणबाट टाढिँदै गएको देखिन्छ। नेपाली युवा स्वदेशमा रोजगारी नपाएर बाध्यतावश आफ्नो परिवारबाट टाढा विदेशतिर लागिरहेको अवस्थामा यहाँका उनका परिवारहरू पहाडबाट बसाइँसराइ गरी तराईमा तथा सहरमा बस्ने, काम नगर्ने, आयातित खाद्यान्नको प्रयोग, महँगा कपडा, घडी, मोबाइल फोन, सुनका गरगहनामा सजिसजाउ र सधैँ फुर्सदमा रमाएका देखिन्छन्।आडम्बरी र देखासिकी जीवनशैलीतर्फ आशक्ति बढेका कारण गृहस्थ्य जीवनमा प्रवेश गरेको पुस्ता परिवारबाट टाढिन बाध्य भएकाले समाजमा अनेकाँै विकृति मौलाएको हामी सबैले महसुस गरेकै कुरा हो। उनीहरूलाई पहिले पहिलेका आमा, दिदीबहिनीहरूले गरेका उत्साहजनक कामको अनुसरण गर्न गर्व लाग्दैन। आफ्ना सासुससुराले बालबालिका हुर्काउँदा भोग्नु परेका दुःख कष्ट, बुहार्तन, पेटभरी खान नपाउँदाको पीडा त दन्त्यकथाजस्तो भइसक्यो। हिजोका दिनमा हाम्रा आमा, दिदीबहिनीहरू विद्यालयसम्म टेक्न पाएनन् तर उनीहरूमा प्रकृति र वातावरणका बारेमा धेरै ज्ञान थियो। आपूmलाई चाहिने सम्पूर्ण औषधिजन्य जडीबुटीहरू आफँै पहिचान गर्ने, संरक्षण गर्ने र उपभोग गर्र्ने चलनको विकास भएको थियो। असार र साउन महिनाभरि त वर्ष दिनलाई पुग्ने खाद्यान्न जोहो गर्नका लागि खेतीपातीमा व्यस्त बन्नु पर्दथ्यो। अन्धविश्वास र कुरीति व्याप्त थियो तापनि अहिलेजस्तो श्रीमान्को आयु वृद्धिका लागि भनेर आफ्नै शरीरमा शिरदेखि पाउसम्मको आवरण हरियो बनाएर साउन महिना मनाउने तथा एक महिना पहिलादेखि दर खाने तीज मनाउने भड्किलो र खर्चिलो परम्परा भने चलनमा थिएन। नेपाली समाजका चाडपर्वहरू हाम्रा सांस्कृतिक सम्पदा हुन्। यिनीहरूले हाम्रो मौलिकता, पूर्खाप्रतिको सम्मान र हाम्रो पहिचानलाई जीवित राख्न सघाउँछन्। विगतका दिनहरूमा उत्पादनमा व्यस्त भएका महिला भदौ महिना लागेपछि मात्र दिनभरीको कृषि कामबाट फुर्सद भएपछि रातको समयमा टोल छिमेकमा जम्मा भएर गीत गाएर रमाइलो गर्ने चलन थियो। सबै आ–आफ्नै घरमा खाना खाएर जम्मा हुन्थे। बारीमा फलेका काँक्राबाहेक चिया खानेसम्मको पनि चलन थिएन। आपूmले भोग्न परेका लैङ्गिक विभेदका कुरा, घरपरिवारमा भोग्नु परेका महिला हिंसाका कथा, बिरामी पर्दा परिवारबाट अपहेलित हुनुपर्दाको दुःख, कामको बोझ भए पनि पेटभरी खान नपाउँदाको पीडा तथा समाजमा घटेका घटना र प्राकृतिक प्रकोपका घटनालाई मालाजस्तै बनाएर तीज गीत आफैँले रचना गर्ने, गाउने र नाच्ने चलन थियो। अहिलेजस्तो सञ्चार क्षेत्रले फड्को मारेको परिस्थिति भएको भए यस्ता सन्देशमूलक गीतका भावले संसारका कुना–कुनामा पुगेका नेपालीलगायत अन्य मुलुकका मानिसले समेत प्रशंसा गर्ने थिए होलान्। दरखाने दिन त एक दिन मात्र हुन्थ्यो, तीज पनि एक दिन मात्र मनाइन्थ्यो।यसै अवसरमा टाढा–टाढाबाट माइतीघरमा जम्मा भएका बालसखाको लामो समयपछिको भेटघाट, आमाबुवा दाजुभाइसँगको मिलन, आत्मीयता, मेलमिलाप तथा सद्भावका रूपमा लिने गरिन्थ्यो। अघिल्लो दिन रातिसम्म दर खाने र अर्को दिन श्रीमान्को दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर निराहार व्रत बस्ने, महिनावारीलाई पाप हो भन्ने अन्धविश्वासले गर्दा पाप कटाउन पञ्चमी पूजा गरी अर्को दिन कर्मघरको भाका ननघाई फर्कने चलन थियो। एकातिर निराहार बस्ने, अर्को पञ्चमी पूजा गरी पाप कटाउने परम्परा सकारात्मक संस्कृति होइनन्, यो त अचेतनाको पराकाष्ठा हो, जुन अहिलेको समयमा पनि विद्यमान छ। हामी पूर्खाभन्दा कति चेतनशील भयौँ, मापनका लागि कुनै कसीको आवश्यकता पर्दैन यो हाम्रा आजका व्यवहारले पुष्टि गर्दै छ। तीज आयो भनेर चेलीबेटी बटुल्छन्,पञ्चमीको अर्को दिन रुँदै पठाउँछन् आज विज्ञान तथा प्रविधिको विकासले संसारको कुनै स्थानमा होस् वा कसैको घरको कोठामा भएका नेपालीले मनाएका तीज कार्यक्रमका दृश्यहरू संसारभर छरिएका नेपालीले प्रत्यक्ष हेर्न सकिने भएको छ। साउन महिना लागेदेखि नै नेपालमा मात्र होइन, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानलगायतका नेपाली बसोबास गर्ने देशहरूमा तीज कार्यक्रम सञ्चालन भएका देखिएका छन्। सबैले युट्युबमा भएका गीतहरू बजाएर नाच्ने गरेको देखिन्छ, जसमा कपडा र गहनाको बयान तथा मायापीरतिमा आधारित तर अश्लील र उत्तेजनात्मक भाव प्रयोग भएको पाइन्छ। समाजको स्वरूप यसरी बदलियो कि प्रविधिले पनि नयाँ मोड लिएसँगै आधुनिक गीतहरू बनाएर युट्युबमार्फत नाच्ने प्रचलन हावी हुँदै छ, जसमा पुराना मौलिक गीतको त आभास नै हुँदैन बरु तीज मनाउने कार्यक्रममा हिन्दी गीतहरूले प्रश्रय पाउन थालेको देखिन्छ।हङकङको सारीले नेपालको धुलो उडायो भन्ने गीतले नेपालको बारेमा कस्तो सन्देश दिन्छ ? हामी आफ्नो जन्मभूमिको बदनाम त गरिराखेका छैनौँ ? सोच्न आवश्यक छ।वेशभूषामा पनि नेपालबाहेक अरू विभिन्न देशबाट आयातित महँगा सारी तथा लेहङ्गा लगाउने प्रवृत्तिको विकास भएको देखिन्छ। पुराना र मौलिक तीजका गीतहरू नगाए पनि गरगहना भने शताब्दी पहिलेका महिलाले लगाउने गरेका जन्तर, छड्के तिलहरी, चन्द्रमा, नौगेडी लगाउने प्रचलन भने बढ्दो क्रममा छ। नेपाली महिलाको जस्तो सुनका गरगहनाप्रतिको आशक्ति सायद विश्वका कुनै देशका महिलामा होला। परम्परालाई अनुसरण गर्ने नाममा साउन महिना लागेदेखि नै घर तथा सरकारी कार्यालय, सङ्घसंस्थाहरू, सहकारी, महिला समूह आदिले दैनिकजसो छुट्टाछुट्टै दर खाने प्रचलन बढ्दो देखिन्छ। कता गयो मौलिकता, कता गए वेदनाका गीत, कता गयो समाज, कता मोडियो रीतिरिवाज ? सर्जकले पनि तीजको सामाजिक र सांस्कृतिक महìवको पाटोभन्दा व्यापारिक पाटोलाई बढी ध्यान दिँदा संस्कारमा विकृतिले प्रश्रय पाएको भान हुन थालेको छ। कोरोनाजस्तो महामारीमा पनि जमघट गर्ने, आडम्बरी र तडकभडकपूर्ण वातावरणले छाड्न सकेको देखिँदैन। प्रविधिको यस्तो विकास भइरहेको सन्दर्भमा हाम्रा चाडपर्वहरूले धेरै कुरामा हाम्रो देशको मौलिकता, जातजातिमा भएका परम्परा झल्काउने, देशको गौरव हाम्रा हिमाल, नदीनाला, तालतलैया, पवित्र धार्मिक स्थलको बयान विविधतामा पनि एकता भएको समाजको बयान गरेको हुनुपर्दछ। बुद्ध जन्मेको देशका शान्तिप्रिय हामी नेपालीले विश्वमा शान्ति फैलाउने सन्देशमूलक गीत सिर्जना गरी विश्वमा फैलिँदै गरेको अशान्तिलाई कम गर्ने काममा योगदान पु-याउन सक्नुपर्दछ। सीता र भृकुटीजस्ता आदर्श नारी जन्मेका देशका हामी नेपाली महिलाले आफ्नो क्षमता, योग्यताको विकास गरी धैर्यता र सहनशीलताको खानी र परिवर्तनका संवाहक हौँ भन्ने प्रत्याभूति गराउन सक्नुपर्दछ। केही दशकयता कतिपय सर्जकहरू जस्तै– हरिदेवी कोइराला, शान्तिश्री परियार तथा विष्णु माझीजस्ता समाज बुझेका, भोगेका व्यक्तिबाट समाजमा भएका विकृति, भ्रष्टाचार र बेथिति, वर्गीय विभेद, जातीय विभेद, लैङ्गिक विभेद, देशको सामाजिक अवस्था, रोजगारीको अभावले विदेशमा नेपाली युवाले भोग्नु परेको पीडा आदिका बारेमा राम्रा र सबैले सुन्नैपर्ने खालका कारुणिक तीज गीत रचना गरेका छन्। यस्ता सिर्जनामा मौलिकता देखिन्छ। हाम्रो कला, संस्कार, संस्कृित र सभ्यता विश्वविजयी छ, यिनैको विकासबाट हाम्रो पहिचान बन्नुपर्दछ । श्रमजीवी वर्गको सम्मान गर्दै सिद्धान्तलाई व्यवहारमा लागू गरी आर्थिक र सामाजिक अधिकारद्वारा समानता स्थापना गर्न सकिन्छ। यसैमा देशको मौलिकता भेटिन्छ। परिवर्तित परिस्थितिसँगै वर्तमान समाजको चित्रण गर्दै तीजको परम्परा र मर्मलाई जोगाउनु आजको आवश्यकता हो। कृत्रिम गतिविधि सृष्टिको गति होइन।
विश्लेषणमा अद्भूत शक्ति
न जायते मृयते वा कदाचिन्नायं भूत्वा भाविता वा न भूय । अजो नित्यं शाश्वत्वयं पुराणो न हन्यते हन्य माने शरीरे ।। श्रीमद्भागवत् गीतामा वर्णित माथिको मृत्यु र शरीरसम्बन्धी श्लोकको आफ्नै तार्किक शक्तिबाट व्याख्या गर्ने समाजवादी चिन्तक प्रदीप गिरी (२००४ कात्तिक – २०७९ भदौ ४) पशुपति आर्यघाटमा भदौ ५ गते चितामा आफै प्रयोग बनिरहनुभएको देखिन्थ्यो । यसो त हामीहरू सबैको अन्तिम गन्तव्य त्यही नै हो । प्रदीप गिरीको दार्शनिक चिन्तन, समाजका बारे, नेपाली राजनीतिका बारे विश्लेषण गर्ने शैली अद्भूत भएकै कारण संसद्मा होस् या राजनीतिक कार्यक्रममा होस्, सबैथरी श्रोता बढी ध्यान दिएर सुन्ने गर्थे । एक किसिमले अजात शत्रुजस्तो विशिष्ट पहिचानको अग्लो व्यक्तित्व भएका कारण गिरी सबैका प्यारा हुनुहुन्थ्यो । उहाँलाई धेरैले वि.सं. २०४६ पछिको सर्वाधिक विचारवान्, चेतनायुक्त र मानवीय गहिरो संवेदनाको गुण भएका दार्शनिक नेताका रूपमा स्वीकार्छन् । हुन पनि गिरीको समाजलाई, राष्ट्रलाई, दिन प्रतिदिन परिवर्तन हुँदै गएको राजनीतिक अवस्था, युवाको विदेश पलायनको बढ्दो क्रम आदिका बारे चित्तबुझ्दो तर्क गर्ने दृष्टिकोण भिन्न थियो ।प्रदीप गिरीको दार्शनिक चिन्तन, समाजका बारे, नेपाली राजनीतिका बारे विश्लेषण गर्ने शैली अद्भूत भएकै कारण संसद्मा होस् या राजनीतिक कार्यक्रममा होस्, सबैथरी श्रोता बढी ध्यान दिएर सुन्ने गर्थे । एक किसिमले अजात शत्रुजस्तो विशिष्ट पहिचानको अग्लो व्यक्तित्व भएका कारण गिरी सबैका प्यारा हुनुहुन्थ्यो ।उहाँले पाँच वर्षपछि देखापर्ने सामाजिक परिवर्तन आफ्ना ज्ञानचक्षु र कर्मचक्षुका माध्यमले बताइरहँदा श्रोता छक्क पर्थे । दसवर्षे जनयुद्धताका तत्कालीन विद्रोही माओवादी समूह होलेरी काण्डपछि एउटा सूत्रमार्फत संसदीय शासन प्रणाली स्वीकार गर्दै छ भनी तर्क गर्नु, तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएपछि अब देश राजारहित बन्दै छ, शाहवंशीय शासनकाल समाप्त हुँदै छ है भनी समाजलाई सुसूचित गराउनु, २०७४ सालको संसदीय चुनावअघि नै काँग्रेस इतरका राजनीतिक पार्टीहरू एक ठाउँमा जम्मा हुँदैछन्, पार्टीले समयमा नै ध्यान पुर्याओस् भनी सचेतना देखाउनु आदि जस्ता गिरीका सूक्ष्म अध्ययनले पछिल्लो अवस्थामा सोही कुरा देखाएको छ । प्रत्येक मानिसका गिरीसँगका रमाइला र रोचक प्रसङ्ग होलान् । पङ्क्तिकारका पनि केही प्रसङ्ग छन् । जुन अतीतको यादले त्यो विलक्षण प्रतिभा गिरिको वाक्कला, साधारण जीवनशैली, सबैसँग समान रूपमा गर्ने उहाँको कपटरहित व्यवहारले सम्झाइ रहन्छ । महाभारत र रामायणका हरेक पात्रका बारे केस्राकेस्रा केलाउन सक्ने उहाँ घटना–परिघटना किन अगाडि आए भन्नेबारे चित्तबुझ्दो गरी व्याख्या गर्नुहुन्थ्यो । रोचक ढङ्गले उहाँको व्याख्या विश्लेषण जति सुने पनि नअघाइने खालको लाग्थ्यो । वि.सं. २०३८ पछि नेपाली काँग्रेस पार्टीभित्र तत्कालीन राजा वीरेन्द्रले ल्याएको सुधारिएको पञ्चायतमा प्रवेश गरेर विद्रोह गर्ने कि ? बाहिरबाट विचारको क्रान्ति गर्ने भन्ने बहस चलेको थियो । गिरी विचारको क्रान्ति गरेर नै अघि बढ्ने भनेर गणेशमानजीलाई राय दिइरहनुभएको थियो । उहाँ अब पञ्चायतको शासन बढीमा पाँच÷छ वर्ष मात्र टिक्छ भनिरहनुभएको थियो तर यो क्रान्ति केवल काँग्रेस पार्टीले मात्र गरेर सम्भव छैन, वामपन्थी शक्तिलाई मिलाएर लैजानुपर्छ, नेतृत्व काँग्रेस पार्टीले गर्नुपर्छ । उहाँले उक्त कुरा बताइरहँदा त्यसबेला पार्टीका केहीले उहाँको यो भनाइको चर्को विरोध पनि गरेका थिए । नभन्दै २०४६ सालको ऐतिहासिक जनआन्दोलन गणेशमान सिंहको सर्वोच्च कमान्डमा सफल भयो । संसदीय शासन प्रणाली देशमा पुनः लागू भयो । वि.सं. २०४२ मा सत्याग्रह आन्दोलन सुरु भयो । जेठ १० गतेबाट सुरु गरिएको सो अहिंसात्मक आन्दोलन नेपाली काँग्रेस पार्टीको अगुवाइमा गरिएको थियो । विद्यार्थीले जिल्ला प्रशासन कार्यालय काठमाडौँ घेरेका थिए । पक्राउ पूर्जीसहित नख्खु कारागार ललितपुरमा १० महिना र केही दिन नजरबन्दमा हामी बस्न बाध्य भयौँ । राजधानीको दरबार मार्गस्थित एक होटल र ठाउँ–ठाउँमा बम विस्फोट भएपछि सत्याग्रह आन्दोलन बीचैमा रोकियो । बम विस्फोटमा परी पाँच जनाको ज्यान गयो । कारागारबाट रिहापछि सर्वोच्च नेता गणेशमानको चाक्सीबारीस्थित निवासमा भेट गर्न भनी पुगेँ । त्यहाँ नेता जगन्नाथ आचार्य, मङ्गलादेवी, प्रदीप गिरी, पत्रकार भारती सिलवाललगायतको उपस्थिति थियो । गीत÷सङ्गीत र साहित्यमा गहिरो अभिरुचि राख्नुहुने गिरीले देख्नेबित्तिकै अब रेडियो नेपालमा तपाईंलाई गीत गाउन बन्देज त गरिँदैन भनी प्रश्न गर्दै गीत सुनाउन भन्नुभयो । हवस् भन्दै रेडियोमा रेकर्ड गरिएका दुईवटा गीत पनि सबैका अगाडि सुनाएँ । अर्थसहित देउडा गीत सुनाउँदा गिरीले “देउडा गीत, संस्कृतिको चर्चा गर्दै यो गीत देउवाजीलाई पनि सुनाउनुहोस्, केवल कर्णाली, सेती, महाकाली अञ्चलको मात्र नभनी नेपालको गीत भन्नुहोस्” भनी सल्लाह दिनुभयो । वि.सं. २०४८ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको सूची घोषणा हुँदा गिरीले किसुनजीले जित्न मुस्किल छ, सुदूरपश्चिममा शेरबहादुर देउवाको वर्चस्व रहन्छ, काँग्रेसमय सुदूरपश्चिम भनी घोषणा गरे हुन्छ भन्नुभएको थियो । आखिर जनमत पनि उहाँले भनेअनुसार आयो । किसुनजीले कसरी पराजय भोग्नुहुन्छ, हावादारी गफ लगाउनुहुन्छ भनी गिरीमाथि खनिनेहरूलाई सरल रूपमा सजिलो उत्तर दिँदै उहाँले भन्नुभयो, “एउटै जङ्गलमा दुइटा बाघ कसरी बस्न सक्छन् र ? किसुनजीको लोकप्रियता र िगरिजाबाबुको प्रधानमन्त्री बन्ने तीव्र चाहना तपाईंहरूले बुझ्नुभएकै छ नि ।” शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला उहाँलाई पार्टीको सामान्य सदस्य पनि नरहने गरी तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले पाँच वर्षका लागि पार्टीबाट कारबाही गर्नुभयो । त्यसबेला नेता चिरञ्जीवी वाग्ले र प्रदीप गिरीले देउवालाई कि तपाईं राजनीतिबाट सन्न्यास लिनुहोस्, कि नयाँ पार्टीको घोषणा गर्नुहोस् भनी सुझाव दिनुभएको थियो । नयाँ पार्टी ‘नेपाली काँग्रेस प्रजातान्त्रिक’ स्थापनापछि देउवा पार्टी सभापति र गिरी केन्द्रीय सदस्य बन्नुभएको थियो । माघ १९, २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण राजकीय शक्ति आफ्नो हातमा लिए । सबै दलका नेता नजरबन्दमा परे । गिरीले जनआन्दोलन सुरु हुनुअगावै एक कार्यक्रममा “नेपालमा शाहवंशीय पुरानो इतिहास समाप्त हुँदै छ, जनताले सडकबाट घोषणा गर्न मात्र बाँकी छ । यो कुरा नयाँ राजाले बुभूmन्” भनी आफ्नो धारणा राख्नुभएको थियो । वि.सं. २०६३ असोज १३ गते नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिक एक हुँदै थियो । काठमाडौँ त्रिपुरेश्वरमा उहाँसँग भेट भयो । आज मिठाइ खाएर जानुपर्छ सानेपा भन्नुभयो । एक होटलमा बसी मिठाइ खायौँ । खल्तीको दामभन्दा हामीले बढी खाएछौँ । दुई सय रुपियाँ मात्र बोक्नुभएका गिरीले मलाई तिराउन मान्नु भएन । एक हप्तापछि उहाँ आपैmँले इमानदार भएर तिर्नुभएछ । सानेपा पार्टी कार्यालयमा दुवै पार्टीका सभापतिले मञ्चमा हात मिलाउँदै एक भएको घोषणा गर्नुभयो । मञ्चबाट सङ्क्षिप्त मन्तव्य दिँदै गिरीले किसुनजीको अनुपस्थितिले कार्यक्रम केही खल्लो भए पनि दुवै जना नेता अब इमानदार बन्नुपर्छ भन्नुभयो । महाभारत र रामायणका हरेक पात्रका बारे केस्राकेस्रा केलाउन सक्ने उहाँ घटना–परिघटना किन अगाडि आए भन्नेबारे चित्तबुझ्दो गरी व्याख्या गर्नुहुन्थ्यो । रोचक ढङ्गले उहाँको व्याख्या विश्लेषण जति सुने पनि नअघाइने खालको लाग्थ्यो । यी दुइटै ग्रन्थका बारे सविस्तार बताउन सक्नु सामान्य होइन । संस्कृति र सङ्गीतका बारेमा पनि गहिरो अध्ययन गर्नुभएको रहेछ उहाँले । ‘देउडा त समावेशी संस्कृति पो रहेछ, जातजाति नभनी सबैले अनौठो तरिकाले हात मिलाई, पाइला मिलाई घुमिरहनुपर्ने । त्यसैले पो देउवाजी सुदूरपश्चिममा लोकप्रिय बन्नुभएको रहेछ’, विसु पर्वको कार्यक्रममा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो । २०४७ साल मङ्सिरमा स्वर सम्राट् नारायणगोपालको निधनपश्चात् दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “अर्को नारायणगोपाल जन्माउन नेपाल आमालाई धेरै वर्ष लाग्नेछ ।” सत्य, निष्ठा, परोपकारी गुणले भरिनुभएका उहाँ आफ्नै पार्टीभित्रका विपक्षी नेताजस्तै देखिनुहुन्थ्यो । आफ्नो खानपिनमा खासै वास्ता नगर्ने स्वभावका गिरीले सुदूरपश्चिमका पहाडी जिल्लामा घुमी त्यहाँको रहनसहन, खानपिन र भाषाबारे जानकारी लिने इच्छा व्यक्त गर्नुभएको थियो तर उहाँको इच्छा पूरा गर्न सकिएन । फूलले कलात्मक तरिकाले सिँगारिएको उहाँको चिता देखेर भावुक नहुने मलामी थिएनन् पशुपति आर्यघाटमा । अन्तिम श्रद्धाञ्जलि दिनेहरूमध्ये धेरैका आँखाबाट तपतप आँसु चुहेका देखिन्थे । ‘प्रदीप गिरी अमर रहून्’का वाणीहरू सुनिने बेला पनि पवित्र बागमती नदी साक्षी बन्दै गिरीको दुःखद रैवार (खबर) बोकेर बग्दै थिइन् । उहाँको जन्मघर सिराहाको बस्तीपुरबाट आएका एक हुल नरनारी आँसु झार्दै भन्दै थिए– अब प्रदीप दाइसँग हाम्रो भेट स्वर्गमा होला । उहाँलाई सम्झँदै भन्न मन लाग्छ यतिखेर –अमर रहून् प्रदीप गिरी देश रहेसम्म ।म त भन्छु गिरीदाइको होला पुनर्जन्म ।।
राजनीतिका विद्रोही कवीर
प्रदीप गिरी जब रहनुभएन, अर्को बिहान ‘मुड’ धेरै ‘अफ’ थियो । विचलित र स्तम्भित ! केही गर्नै मन नलाग्ने । तथापि थाहा थियो उहाँको अब आश छैन तैपनि लाग्दथ्यो कतै कुनै ‘मिराकल’ हुन्छ कि । श्रीमतीले सोधिन् किन के भयो ? मैले भनेँ,
पदबिना नै प्रदीप्त
‘प्रदीप गिरी कोनो पदमै नै गेलै लेकिन बस्तीपुरके नाम रोशन कदेल्कै (प्रदीप गिरी कुनै पदमा जानुभएन तर बस्तीपुरको नाम उज्ज्वल पारिदिनुभयो’, यो भनाइ हो प्रदीप गिरीका बालसखा बच्चु पासवानको ।
शोकाप्ति ! उहाँकै शब्द सापटी
मनीषी प्रदीप गिरीको स्मृतिमा गोरखापत्रले प्रकाशन गर्न लागेको विशेषाङ्कको नाम राख्ने सल्लाहमा हामी थियौँ । स्वाभाविक रूपमा मैले प्रस्ताव गरेँ- शोकाप्ति ! केही मित्रलाई भने यो स्वाभाविक लागेन । अनि व्यर्थमा शब्दकोश पल्टाइए । अर्थ पाउनु त परै जाओस् शब्द नै पाइएन ।
प्रदीपसँगै दिल्ली–बनारस
नेपाली बौद्धिकजगत्मध्ये औँलामा गन्न सकिने बौद्धिक व्यक्ति प्रदीप गिरीको गत भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा निधन भयो । भदौ ५ मा नेपाल सरकारले बौद्धिकता, इमानदारी, सादगी जीवन व्यतीत गर्ने व्यक्तिको कदर गर्दै आर्यघाटमा राजकीय सम्मान दिएर अन्त्येष्टि गर्नुलाई सबैले प्रशंसा पनि गरेका छन् । राजनीति र साहित्यमा दखल भएका व्यक्तिको अब खोजी गर्नुपर्छ । पाइहालियो भने पनि मीनाकुमारी जस्तो अभिनय गर्ने नायिका र त्यत्तिकै उच्चस्तरीय अभिनय गर्ने दिलीपकुमार जस्तो नायक अब विश्वले पाउँदैन भन्ने जस्तो कुरा साहित्य र राजनीतिमा अलिअलि पौडी खेल्न जान्नेले पनि भन्न सक्दैन । ‘माड्सापलाई अक्षर शिरोमणि टाइटल मैले नरहरि आचार्यसित सल्लाहमा दिएको हुँ । म उहाँको विद्वताबाट पूर्ण परिचित छु । तसर्थ विद्वताको खानी नै भएको व्यक्तित्वको रूपमा लिन्छु । उहाँलाई उच्च सम्मान गर्छु । उहाँले लेख्नुभएका सम्पूर्ण किताब मसित छ । रिफरेन्सका लागि बारम्बार तिनको प्रयोग गरिरहेको हुन्छु ।’ मदनमणि दीक्षितको आनन्दमय आकाशको भूमिका मलाई दिँदै भन्नुभएको थियो प्रदीपजीले । एक पटक सी.पी.आई.का प्रभावशाली नेता दीपक मल्लिककहाँ लिएर जानु भयो । त्यहाँ त हामीले रात नै बितायौँ । म त १२ बजे सुतेँ । उहाँहरू दुवैजना बिहान तीन–चार बजेसम्म कुराकानी गरिराख्नु भएको देखेँ ।प्रदीपजी कहिलेकाहीँ वैदिक विषयमा छलफल गर्न आउने गर्नुहुन्थ्यो । मेरो पनि घनिष्टता थियो प्रदीपजीसित । बस्तीपुर, जनकपुर, पटना, दिल्ली र बनारस सँगै घुम्न गएका थियौँ । यहाँ ती घुमाइका झल्को प्रस्तुत छ । २०४४ सालतिर हो, दशैँताका प्रदीप गिरीजीले मलाई “सुरुमा दिल्ली गएर त्यहाँ रहेका केही व्यक्तिसितको भेटघाट सिध्याएपछि बनारस गई तपाईंको काममा पनि सहयोग गर्न म तयार छु” भनेपछि म निकै उत्साहित भएँ । जाने समय छिटो निर्धारण गर्न प्रदीपजी बस्ने गर्नुभएको घर हालको सेन्ट जेभिएर कलेजको पछाडिपट्टि थापाथलीमा म प्रत्येक दिन जान थालेँ । ‘दशमीपछिको जुन दिनको टिकट पाइन्छ त्यो ल्याउनू’ भनी मेरै सामुन्ने आफ्ना कार्यकर्ताहरूलाई अह्राउनु भएको थियो प्रदीपजीले ।टिकट पाउन मुस्किल भयो, दशैँको चापले गर्दा तर कोसिस जारी छ भनी प्रत्येक दिनको भेटमा भन्नु हुन्थ्यो प्रदीपजी । हवाइजहाजको टिकट नपाएपछि एकदिन हामी दुवैले बसबाट जनकपुर गएर त्यहाँबाट जयनगर अनि पटना हुँदै दिल्ली जाने निर्णय गर्यौँ । दशमीको भोलिपल्टको रात्रिबसको टिकट पाइयो भन्ने थाहा पाएँ । हामी दुईजना रात्रिबसमा दशैँको भोलिपल्ट जनकपुरका लागि प्रस्थान गर्यौँ । रात्रि निद्रा खोल्दा यसो बाहिर हेर्दा बसले बर्दिबास नाघिसकेको रहेछ भन्ने ठम्याएँ । अब दुई-तीन घण्टामा जनकपुर पुगिन्छ भन्ने कल्पना आँखा चिम्लिएर गर्न थालेँ । म त निदाएको रहेछु । बसको घ्वाइँघ्वाइँले पुनः ब्युँझिएँ । यसो हेर्दा त कमला पुलबाट हाम्रो गाडी गुड्न लागेको देखेँ, मलाई विश्वास नै भएन । चारैतिर हेरेँ, प्रदीपजी लगायत सबै सुतिरहेका । निकै अगाडिको सिटमा एकजना यात्रु आफ्नो दुवै हात टाउको पछाडिपट्टि अड्याउन लागेको देखेपछि उठेर ऊसँग सोधेँ, “अहिले हाम्रो बसले कुन नदी पार गरेको ?” उसले ‘कमला’ भनेर जवाफ दियो । मेरो अनुमान सत्य साबित भयो । आत्तिएर प्रदीपजीलाई उठाएँ, अनि भनेँ, “हामी त अर्कै बसमा चढेछौँ, ढल्केबरबाट जनकपुरतिर नगई यो बस त पूर्वतिर लागिरहेछ ।” प्रदीपजीले झ्यालबाट यसो बाहिर हेरेको जस्तो गर्नु भयो । अनि एकछिनपछि भन्नुभयो, “लहानमा झरौँला । अनि भोलि वा पर्सि बस्तीपुर घरमा जाऔँला, लहानबाट एक घण्टा पनि लाग्दैन ।”वास्तवमा प्रदीपजीले झुक्याउनु भएको रहेछ मलाई । उहाँले जानाजान त्यो रुटको टिकट काट्न लगाउनु भएको रहेछ । हामी लहानमा झर्यौँ । लहानमा उहाँको आगमनलाई कुर्दै रहेछन् । बस्तीपुरबाट रासनपानी पनि आइसकेको रहेछ । अनि त्यहाँ अरूहरूले प्रदीपजीलाई सोधेको पनि सुनियो, ‘कमलेश बाबू पनि दिल्ली सँगै जानुहुन्छ होइन ?’ प्रदीपजीले मतिर हेरेर मुसुक्क हाँस्दै स्वीकृतिपूर्ण रूपमा टाउको हल्लाउँदै जावाफ दिनु भयो तिनीहरूलाई । एकदिन लहानमा बसेर दिउँसोतिर बस्तीपुर पुग्यौँ । म पहिले पनि गइसकेकाले प्रायः त्यहाँका पढेलेखेका सबैसित मेरो चिनजान भइसकेको थियो । भाइ कमलेश र अर्को एक तरुण युगेश्वर यादवलाई पनि लिएर हामी चारै जना जनकपुर आयौँ र नातेदार गिरी परिवारकोमा आलोपालो गरी खाने र बस्ने गर्यौँ । जयनगरबाट पटना पुगेपछि वरिष्ठ साहित्यकार बानीरा गिरीको नन्दको घरमा (प्रदीपजीको नातेदार) हो वा सरिता गिरी (भाइ बुहारी) को माइतमा एकदिन बसेपछि रेल चढेर दिल्ली पुग्यौँ । काठमाडौँबाट हिँडेको झन्डै दस दिनपछि । दिल्ली पुगेर होटलमा बसी थकान मेटेपछि राष्ट्रवादी काँग्रेस, जसको नेतृत्व शरद पवारले गरेका छन्, त्यसको प्रवक्ताका रूपमा रहेका डी.पी.टी. (देवीप्रकाश त्रिपाठी) को निवासमा मलाई सँगै लिएर गएर घण्टौँघण्टा कुरा गर्नु भयो प्रदीपजीले । अर्को दिन बिहान ट्याक्सी लिएर बाटोमा केही उपहार किनी जवाहरलाल नेहरू युनिभर्सिटीको क्वार्टरमा बस्नुहुने डा. ईश्वर बरालज्यूको निवासमा गयौँ । पछि उहाँको क्वार्टर नजिक रहेको अर्का प्रोफेसर पुष्पेश पन्तको क्वार्टरमा पनि गयौँ । मैले देखेको अद्भूत मानिसमध्ये एक पुष्पेश पन्त पनि हुनुहुन्छ । उहाँको जे विषयमा पनि राम्रो ज्ञान छ । चाहे त्यो कला, साहित्य, संस्कृति, अर्थतन्त्र, समाजशास्त्र, राजनीतिशास्त्र होस् वा चाहे प्राविधिक विषय नै किन नहोस् । भारतीय टेलिभिजन दूरदर्शनले प्रारम्भमा देखाउने गरेको टेलिशृङ्खला ‘बुनियाद’ कथाको विषयवस्तु पन्तजीकै कल्पना हो । ‘बुनियाद’ टेलिशृङ्खलाबारे प्रदीपजीको बेग्लै भनाइ थियो । लामो वार्तापछि पुष्पेशजीले प्रदीपजीले भनेको कुरा ठीक हो भन्दै ‘काश बुनियाद लिखनेसे पहले आपसे मुलाकात होती’ भने । सात दिन बस्यौँ दिल्लीमा । मैले पहिलेदेखि देखेको ठाउँ र नदेखेको ठाउँ गरी अर्थात् हेर्नुपर्ने सम्पूर्ण ठाउँ हेरेँ, दिल्ली घुमियो । प्रत्येक ठाउँमा जाँदा त्यो ठाउँबारे त्यसको निर्माणकर्ताबारे, नौलो–नौलो मैले नसुनेको कुरा प्रदीपजी भन्ने गर्नुहुन्थ्यो । एकदिन प्रदीपजीले ‘दिनमान’ पत्रिकाको कार्यालयमा लग्नु भयो । तिनताका उक्त पत्रिकाको बिक्री नेपालमा अत्यधिक थियो । सम्पादक जनकपुर नजिक रहेको बिहारको मधुवनीनिवासी झा थरका व्यक्ति थिए (नाम अहिले सम्झना भएन) । चिट पठाउने बित्तिकै आफैँ आएर ढोका खोली प्रदीपजीको खुट्टानेर दुवै हात राख्दै सम्पादकले उहाँलाई प्रणाम गरे । हामी तीनजना मात्र थियौँ र कुराकानी लम्बिँदै गइरहेको थियो । ‘दिनमान’का ती सम्पादकलाई अरूहरू पनि भेट्न इच्छुक थिए । त्यसैले कोठा बाहिर कुरेर बेलाबखत आ–आफ्नो नाउँको चिट सहयोगीद्वारा पठाइरहेका थिए तर सम्पादक प्रदीपजीसित कुराकानीमा व्यस्त भएकाले ‘मिटिङ भइरहेछ भनी देऊ’ भन्ने गर्थे सहयोगीलाई । उहाँहरू दुवैबीच राजनीतिक कुरा, साहित्यका कुरा तथा दिवङ्गत सरोज कोइरालाबारे पनि कुराकानी भइरह्यो । हो उनले मसित पनि कुरा गरे र भने, ‘आपतो हमसेभी खुबसुरत हिन्दी बोलतेँ है । आपको नेपाली कोही नहि कहेगा ।’ मैले म सय प्रतिशत नेपाली हुँ भनेँ । सम्पादकको कार्यालय नजिक उही तलामा ‘सारिका’ (कथाप्रधान) को कार्यालय रहेछ । बाहिर सम्पादक ‘अवधनारायण मुद्गल’ लेखेको देखेँ । तिनताका नेपालमा तरुण साहित्यप्रेमीहरू माझ ‘सारिका’ निकै लोकप्रिय थियो । रमेश उपाध्याय, से.रा. यात्रा, जितेन्द्र भाटिया, अवधनारायण मुद्गलहरू त्यो बेलाका चर्चित कथाकार थिए । मलाई मुद्गलसित भेट गर्न मन लाग्यो र प्रदीपजी र झाजीलाई जानकारी दिएर मुद्गलजीको कार्यालयमा गएँ र आफ्नो परिचय साहित्यमा रुचि राख्ने व्यक्तिको रूपमा दिएँ । कुरा गराइमा मुद्गलजी पटक्कै आकर्षक लागेन । उनले सोधेका थिए, ‘नेपालमा साहित्यसम्बन्धी कुन संस्था छ ? अलिकति पैसा खर्च गर्न सक्ने ?’ उनको यस्तो कुरो सुनेर मैले ‘सयौँ त्यस्ता छन्, त्यसबाहेक पचास वर्षदेखि एकेडेमी छ, किन सोध्नु भएको’ भनेपछि उनले साहित्य गोष्ठी गराउन, प्रवचन दिन आफू र चित्रा मुद्गल (उनकी श्रीमती तथा लेखिका) का साथै मिल्यो भने एक÷दुईजना अरूलाई पनि ल्याउँछौँ भने । मलाई मुद्गलजीका कुरा मन परेन । त्यसैले त्यहाँ धेरै कुरा नगर्ने विचार गरेँ । म आधा घण्टाभित्र पुनः झाजीको कोठामा जाँदा प्रदीपजी निस्कने तरखर गर्दै हुनु हुन्थ्यो । हामी अब बनारस जाने भयौँ । अचम्म लाग्यो । वरिष्ठ राजनीतिज्ञ, बुद्धिजीवी ऋषिकेश शाहको पनि रेलमा हामी छेउमा नै सिट रहेछ । लामो यात्रामा उहाँसित कुराकानी भए । बनारस हिन्दु विश्वविद्यालयमा प्रवचन दिन त्यहाँ जान लाग्नुभएको रहेछ । बनारसमा हिँड्दा प्रदीपजीलाई नमस्ते गर्ने मानिस ठाउँ ठाउँमा भेटिए । त्यति मात्र होइन, प्रदीपजीले आफ्ना चिनेजानेकालाई भेट्ने अखडाहरूमा पनि लग्नु भयो । त्यहाँ पनि प्रायः नमस्तेको आदानप्रदान मात्र भएको देखेँ । मलाई आश्चर्य लाग्थ्यो । ‘नेपालबाट कहिले आउनु भयो ?’ भनी किन तिनीहरू तथा बाटामा नमस्कार गर्नेहरूले नसोधेको भनी प्रदीपजीलाई भन्दा उहाँले ‘यिनीहरू म बनारसमै छु भन्ठान्छन् । महिना–दुई महिनामा बनारस दुई दिनका लागि भने पनि आउने गर्छु । तपाईंलाई थाहा भएनछ यो कुरो’, भनेर मेरो प्रश्नको जवाफ दिनुभयो । त्यसताका बनारस क्षेत्रबाट निर्वाचित चार विधायकमध्ये दुई विधायकको निवासमा लग्नु भयो । त्यहाँ पनि घण्टौँ कुराकानी भए । एक पटक सी.पी.आई.का प्रभावशाली नेता दीपक मल्लिककहाँ लिएर जानु भयो । त्यहाँ त हामीले रात नै बितायौँ । म त १२ बजे सुतेँ । उहाँहरू दुवैजना बिहान तीन–चार बजेसम्म कुराकानी गरिराख्नु भएको देखेँ बाथरुम जान उठ्दा त । दस दिनजति बस्दा पनि मेरो निजी काममा मद्दत गर्ने ती मानिस आएनन् । काम नबन्ने भयो र किन बसिराख्नु भनेर प्रदीपजीसित बिदा हुँदै केही सरसामान किनेर म काठमाडौँ फर्कें ।
एउटा सफा ताजा चित्रपट
भर्खर टिपेका कपास कातेर, बुनेर तयार पारिएको कपडा चौखटमा तन्काएर राखेजस्तो । सेतो, उज्यालो । कुनै पनि रङका छिटासम्म नपरेजस्तो ।
अन्तरात्मा बोल्ने नेता
नेपाली राजनीतिमा आशा र भरोसाको दियो जगाउने व्यक्तित्व हुनुहुन्थ्यो प्रदीप गिरी। क्यान्सरजस्तो असाध्य रोगसँग पौँठेजोरी खेलेरै उहाँ अस्ताउनुभयो। गिरीको भौतिक शरीर अब यस लोकमा रहेन। उहाँको कीर्ति र ख्याति भने कालजयी बनेको छ। समकालीन राजनीतिमा गिरीले थोरै भए पनि सकारात्मक भविष्यको दीप प्रज्वलित गर्नुभएको थियो। राजनीतिलाई कमाउ धन्धाका रूपमा बदनाम गरिएको वर्तमान समयमा गिरीले त्यसलाई गलत साबित गर्ने प्रयत्न गर्नुभएको थियो। उहाँका विचार र चिन्तनले नेपाली राजनीतिलाई सिद्धान्त र निष्ठाको सम्भावनातिर डो-याउने प्रयास गरिरहेको थियो। सायद त्यसैको परिणाम थियो आर्यघाटमा त्यो कोलाहल र भीडभाड। राजनीतिप्रति वितृष्णा फैलाउने विषाक्त भावभङ्गीलाई चुनौती दिँदै थियो त्यस दिन आर्यघाटमा देखिएको असरल्ल भीडले । त्यो भीडमा कुनै राजनीतिक वादको दबाब र प्रभाव थिएन
उपभोक्ताको मानव अधिकार
नाफा कमाउने र आयआर्जन गर्ने उद्देश्यले एकत्रित भएका व्यक्ति, संस्था, कम्पनीहरूले आजभोलि व्यावसायिक सिद्धान्तलाई त्यति अवलम्बन गरेको देखिँदैन। यसले गर्दा वस्तु वा सेवाको उत्पादन, निर्माण, किनबेच वा आपूर्ति गर्ने गराउने पेसा, व्यापार र व्यावसायिक क्रियाकलाप मानव अधिकारमैत्री हुन सकेका छैनन्। फलस्वरूप रातारात धन कमाइ धनी बन्ने सपना बोकी कालोबजारी, सिन्डिकेट, कृतिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती र हैरानी बनाउँदै आएको देखिन्छ। व्यावसायिक क्रियाकलाप हिजोको दिनमा नाफा आर्जन गर्नमा केन्द्रित हुन्थ्यो। आज यसमा परिवर्तन भएको छ। विकासको लहरसँगै उपभोक्ताको रोजाइ, खोजाइ र चाहाना र सन्तुष्टि दिनेमा केन्द्रित हुनु जरुरी बन्दै आएको छ। व्यवसायभित्र उद्योग, व्यापार र वाणिज्यको समष्टिगत रूप उद्योग सञ्चालक वा मालिक, व्यवसाय सञ्चालनमा योगदान दिने कामदार र सेवा उपभोग गर्ने उपभोक्ताबीच त्रिकोणात्मक सुमधुर सम्बन्ध रहेको हुनुपर्ने मान्यता छ।
कृषि अर्थतन्त्रको जग
नेपाल कृषिप्रधान देश हो। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा एकचौथाइ योगदान कृषिको छ। किसानको उत्पादनमुखी जीवन पद्धतिले हाम्रो कृषि व्यवसाय चलिरहेको छ। नेपालको भौगोलिक विविधता, हावापानी, माटो र समुचित सिँचाइको प्रबन्धले यहाँ कृषि उत्पादनका हजारौँ अवसर विद्यमान छन्। ठाउँ, माटो, हावापानी र हुर्कंदो बालीनालीका लागि अनुकूल वातावरण भएकाले यहाँको अर्गानिक र स्वस्थ उत्पादन मानव शरीरको निरोगिता र तन्दुरुस्तीको कडी बन्न सक्छ।
न्यायपालिकाको मर्यादा
उठान गरिएको छ– स्वतन्त्र न्यायपालिका र उत्तरदायित्वको विषय। अदालत, न्यायाधीश, अदालतका कर्मचारी, कानुन व्यवसायी, सरकारी वकिलसँग सम्बन्धित र न्यायका उपभोक्ताले न्याय नपाएको विषयमा जब समाचार बन्छ, प्रश्न खडा हुन्छ, तब विधिशास्त्रका विद्यार्र्थीको शरीरमा काँडा बिझ्छ, त्यो काँडा यति गहिरो बिझ्छ कि, काँडाबाहिर निस्के पनि दशकौँसम्म घाउ निको हुन लाग्छ।
सुधार गृह बन्न नसकेका कारागार
राणा शासनकालमा धेरै निर्दोषले अनेक कठोर र कष्टकर सजाय बेहोर्न परिरहेको थियो। त्यसप्रति केही सरोकार राख्दै आफू ‘श्री ३ महाराज’ को पदमा आसीन भएपछि धेरै राणाको विरोध हुँदाहुँदै पनि भीमशमशेरले वि.सं. १९८८ को श्रावणको पहिलो हप्तामा पाँच वर्षको परीक्षण अवधिका लागि मृत्युदण्डको सजायलाई खारेज गरे। मृत्युदण्ड दिइनुपर्ने तहका अपराधी ठहर गरिएकाहरूलाई त्यसपछि आजीवन कैदको सजाय दिने गरियो। त्यसबेला जीवित रहुँञ्जेलसम्म कारागारमा रहनुपर्ने सजायलाई आजीवन कैद मानिन्थ्यो। त्यसकालमा कारागारहरू अत्यन्त दयनीय तथा असुविधाग्रस्त थिए। ती कारागारमा ठूला अपराधी भनिएका सबैलाई सधैँ नेल, गलफन्दी लगाएर राखिन्थ्यो। कसैले स्वस्थ खाना र औषधि उपचार पाउँदैनथे। त्यसैले कारागारमा राखिएकाहरू कसैले पनि पाँच–सात वर्षभन्दा बढी समयसम्म जीवित रहनु असम्भव जस्तै थियो।
सङ्घीय निजामती ऐनको अपरिहार्यता
शीघ्र सङ्घीय निजामती सेवा ऐन निर्माणलगायतका विभिन्न माग राखी कर्मचारीहरू नै आन्दोलनमा होमिएका समाचार आइरहेका छन्। विभिन्न स्वरूपका विरोधका कार्यक्रम राखेर सरकारको ध्यानाकर्षण गरिरहेको देखिन्छ। सङ्घीयता कार्यान्वयनले इतिहास रच्दै गर्दा राजनीतिक र संरचनागत हिसाबले सङ्घीयताले त फड्को मारिसकेको छ तर प्रशासनिक सङ्घीयताको रूपमा रहेको सङ्घीय निजामती सेवा ऐन बन्न सकिरहेको छैन। प्रशासनिक सुदृढीकरणको लागि पनि यस सङ्घीय निजामती सेवा ऐनको आवश्यकता बोध भई सर्वाधिक माग भएको छ।
सलमान रुस्दी र द सटानिक भर्सेस
चर्चित बेलायती उपन्यासकार सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा छुरा प्रहार भएपछि उहाँको सुरक्षा थप चुनौतीपूर्ण बनेको छ। अगस्ट १२ मा उहाँमाथि छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट गम्भीर घाइते रुस्दीको भेन्टिलेटरमा उपचार गरिएको थियो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य बन्दै छ। उहाँ बोल्न थाल्नुभएको छ। न्युयोर्कमा आयोजित कार्यक्रममा रुस्दीमाथि न्युजर्सीका २४ वर्षीय युवक हाडी मातरकले पटक–पटक छुरा प्रहार गरेका थिए।
वातावरण संरक्षणमा अनुकरणीय अभियान
यी तस्बिर क्रोएसियाली वातावरणवादी अभियन्ता ब्लाजेन्का बेन्कुसले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। उनी एक ब्रजिलियन जोडीको असल कार्यको प्रचारमा लागेकी छिन्। यस्ता कार्यलाई विश्वभरका मानिसले सुन्नुपर्छ भन्ने उनको तर्क छ। ब्लाजेन्काले यी तीन तस्बिरसहित आफ्नै भाषामा लेखेको विवरण अत्यन्त सुन्दर छ। इन्टरनेट सञ्जालका कारण मानिसको ज्ञानको व्यवस्थापन गर्न कति सजिलो बन्यो भन्ने उदाहरण पनि हो यो। ब्लाजेन्काले राखेको यो तस्बिरमा देखिएको जोडी लैला वानिक र सेबास्टियो साल्बाडोको हो। उनीहरू पति–पत्नी हुन्। उनीहरू ब्राजिलमा बस्छन्। यस जोडीले बितेका १८ वर्षमा २० लाख रुख रोपेका मात्र होइन, हुर्काए पनि। हाल उनीहरूले बनाएको वनमा २९३ प्रजातिका रुख छन् भने रुखका कारण १७२ प्रजातिका चरा, ३३ प्रजातिका स्तनधारी प्राणी, १५ प्रजातिका उभयचर र १५ प्रजातिका घस्रेर हिँड्ने प्राणी बस्छन्।
निर्वाचनमा दलका जिम्मेवारी
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूका लागि निर्वाचन हुँदैछ। यो निर्वाचनपछि गठन हुने प्रतिनिधि सभा तथा प्रदेश सभामा राजनीतिक दलहरूको उपस्थितिले मुलुकमा राजनीतिक स्थिरता वा कस्तो परिस्थिति निर्माण हुने हो त्यसको चित्र कोर्ने छ। नेपालमा अवलम्बन गरिएको मिश्रित निर्वाचन प्रणालीले राजनीतिलाई समावेशी बनाउने, सीमान्तीकृत समुदायको सहभागिता बढ्ने र राज्य संरचना तथा राज्यको नीति निर्माण तहमा भुँइ तहको सहभागितामार्पmत ती सीमान्तीकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने तरिका खोजिएको सन्दर्भ स्वाभाविक थियो तर मिश्रित निर्वाचन प्रणालीलाई एक आवधिक निर्वाचनमा नै विकृति तुल्याइएको छ। समानुपातिक निर्वाचन प्रणालीलाई राजनीतिक दलका नेताहरूले आफ्नो व्यक्तिगत शक्ति आर्जन गर्ने माध्यम बनाउँदा राजनीतिक विकृतिको बिउ रोपिएको छ। आगामी निर्वाचनमा यस्ता विकृतिहरू रोक्ने र प्रतिनिधि सभा तथा प्रदेश सभालाई समावेशी बनाउनका लागि योजनाबद्ध कामको थालनीले मात्रै मुलुकको मिश्रित निर्वाचन प्रणालीलाई स्थापित गर्नेछ।
राष्ट्रविभूति जयपृथ्वीबहादुर सिंह
प्राचीनकालदेखि नेपाल राष्ट्रको निर्माणमा हाम्रा धेरै पूर्वजले आफ्नो जीवन व्यतीत गरेका छन्। यस्तै व्यक्तिमा मानवतावादी जयपृथ्वीबहादुर सिंहको नाम उच्च स्थानमा रहेको छ। वि.सं. १९३४ मा श्री ३ जङ्गबहादुरकी जेठी छोरी रुद्रकुमारीबाट जन्मेका थिए जयृथ्वीबहादुर। उनको वैवाहिक सम्बन्ध वि.सं. १९५१ मा राणा परिवारका जल्दाबल्दा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरकी छोरी खगदिव्येश्वरीसँग भएको हुनाले उनको राजकीय रवाफ उच्च हुँदै गयो। बझाङबाट वि.सं. १९४२ मा काठमाडाँै छिरेका जयपृथ्वीबहादुरले श्री ३ जङ्गबहादुर कुँवर राणाजीले बेलायतबाट फर्केपछि थापाथली दरबारको दलान पाठशालामा स्थापित अङ्ग्रेजी पाठशालामा पढ्दै १९५१ दरबार स्कुलमा पढी कलकत्ता बोर्डबाट म्याट्रिक पास गरे र इलाहावाद कलेजमा आइएसम्म पढे। उनको बाल्यकालबाटै राम्रो पढाइका कारण उनी सबै गुरुहरूका प्रिय छात्र हुन सके। थापाथली दरबारमा बस्ने हुनाले, जङ्गबहादुरले बेलायतबाट झिकाएका अङ्ग्रेजी अखबारहरू उनले पढ्दा पढ्दै उनमा समाजशास्त्र, इतिहास, विज्ञान, कानुन, राजनीति र कूटनीतिको ज्ञान घुस्न गयो भने अर्कातिर नेपाल दरबारमा संस्कृतका प्रकाण्ड पण्डितहरूको सङ्गतका कारण उनमा आर्य सनातनी हिन्दु वेद, उपनिषद् र पुराणहरूको दार्शनिक ज्ञान पनि प्रविष्ट हुन गयो।
एसियाका मानवतावादी नेता
नेपाली भूमिमा बेलाबेलामा महान् विभूतिहरू जन्मिएर महत्वपूर्ण योगदान दिएको इतिहास छ। महान् तपस्वी र विभूतिहरूको लहरमा मानवतावादी नेता जयपृथ्वीबहादुर सिंह एक अग्रणी थिए जो राणाकालीन अन्धकार युगमा शिक्षा र मानवताको चिराग बनेर चम्किए। नेपालको दुर्भाग्य नै भन्नुपर्छ तत्कालीन शासकको कुदृष्टिका कारण उनले आफ्नो थातथलो मात्र छोड्नु परेन, स्वदेश नै छोडेर विदेशिनु प-यो। १९३४ सालको समय, जतिबेला नेपालमा जहानियाँ राणा शासन (आधुनिक नेपालको अन्धकार युग) ३१ वर्षमा पुग्दै थियो, त्यतिबेला नेपाल र नेपालीको भाग्य र भविष्य बनेर जन्मेका थिए, नेपालका दोस्रो गौतमबुद्ध– जयपृथ्वीबहादुर सिंह। नेपालको माटोमा जन्मिएका सिद्धार्थ गौतम बुद्धले समस्त मानव कल्याणका लागि आफ्नो राजगद्दी त्याग गरेजस्तै जयपृथ्वीबहादुरले पनि मानव सेवाका लागि आफ्नो बझाङ राज्यको राजपाठ त्याग गरेका थिए। यसैकारण उनलाई नेपालको दोस्रा गौतम बुद्ध भनिएको हो।