• ८ मंसिर २०८१, शनिबार

अन्तरात्मा बोल्ने नेता

blog

नेपाली राजनीतिमा आशा र भरोसाको दियो जगाउने व्यक्तित्व हुनुहुन्थ्यो प्रदीप गिरी। क्यान्सरजस्तो असाध्य रोगसँग पौँठेजोरी खेलेरै उहाँ अस्ताउनुभयो। गिरीको भौतिक शरीर अब यस लोकमा रहेन। उहाँको कीर्ति र ख्याति भने कालजयी बनेको छ। समकालीन राजनीतिमा गिरीले थोरै भए पनि सकारात्मक भविष्यको दीप प्रज्वलित गर्नुभएको थियो। राजनीतिलाई कमाउ धन्धाका रूपमा बदनाम गरिएको वर्तमान समयमा गिरीले त्यसलाई गलत साबित गर्ने प्रयत्न गर्नुभएको थियो। उहाँका विचार र चिन्तनले नेपाली राजनीतिलाई सिद्धान्त र निष्ठाको सम्भावनातिर डो-याउने प्रयास गरिरहेको थियो। सायद त्यसैको परिणाम थियो आर्यघाटमा त्यो कोलाहल र भीडभाड। राजनीतिप्रति वितृष्णा फैलाउने विषाक्त भावभङ्गीलाई चुनौती दिँदै थियो त्यस दिन आर्यघाटमा देखिएको असरल्ल भीडले । त्यो भीडमा कुनै राजनीतिक वादको दबाब र प्रभाव थिएन। मानौँ नेपालका साझा नेता हुनुहुन्थ्यो गिरी। यद्यपि कांग्रेस राजनीतिसँग जोडिनुभएका गिरीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सबैखाले वादमा विश्वास गर्नेहरू पुग्नुभएको थियो। वामपन्थी वा राजावादीकै शीर्ष नेता पनि हुनुहुन्थ्यो। नेपाली राजनीतिक वृत्तमा वैचारिक आन्दोलनको अस्तित्व र प्रभावबारे भरोसा जगाउने अद्भूत शक्ति र क्षमता थियो गिरीमा। त्यसैले उहाँलाई सबैले उच्च सम्मान प्रकट गर्थे। माक्र्सवादका त उहाँ व्याख्याता नै हुनुहुन्थ्यो। त्यसैले त नेपालका वामपन्थी विचारकले समेत गिरीलाई गुरु मान्थे। 

सत्ता राजनीतिबाट सधैँ पृथक् रहनुभएका गिरीप्रति आमनेपालीले देखाएको विश्वास र आकर्षणले नेपालमा अझै विचार र सिद्धान्तको राजनीति विलुप्त भइनसकेको प्रमाणित गरेको छ। जीवनपर्यन्त सत्तामा नरहनु भएका उहाँ जनताको विश्वास र भरोसा जित्न निष्ठा, सिद्धान्त र विचार नै काफी रहेको मान्यता स्थापना गर्न सफल हुनुभयो। साथै, नेपालमा विचार र सिद्धान्तको मूल्य अझै पनि जीवन्त रहेको प्रमाणित गर्नसमेत उहाँ सफल हुनुभएको छ। सामाजिक सञ्जालका भित्तामा उहाँको निधनपछि देखिएका पोष्टले पनि त्यही इङ्गित गर्छ। पछिल्लो समय यति धेरै सम्मान पाउने राजनीतिकर्मी सायदै कोही रहे नेपालमा। जीवनपर्यन्त सत्ता राजनीतिलाई महìव नदिने व्यक्तिप्रति पनि आमजनताले देखाएको यति धेरै विश्वास, भरोसा र आकर्षण विचित्रको थियो। पटक पटक प्रतिनिधि सभा सदस्य रहनुभएका गिरीलाई मन्त्री पदको प्रस्ताव धेरै पटक आए तर उहाँले कहिल्यै स्वीकार्नु भएन। त्यसमा आफ्नै दृष्टिकोण थिए उहाँका। यद्यपि कतिपयले जिम्मेवारीबाट भाग्ने प्रवृत्तिका रूपमा यसलाई चित्रित गर्न खोजे। यसबारे एउटा किस्सा यस्तो छ। 

सन्दर्भ, २०५६ को हो। नेपाली कांग्रेसले ०५६ को संसदीय चुनावमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेर गएको थियो। प्रदीप गिरी सिराहाबाट कांग्रेस उम्मेदवार हुनुहुन्थ्यो। गिरीको चुनावी सभालाई सम्बोधन गर्न किसुनजी पुग्नुभयो। उहाँले प्रदीपजीलाई निर्वाचित गराए आफ्नो मन्त्रिमण्डलमा सामेल गर्ने उद्घोष गर्नुभएको थियो। गिरीको अर्थमा सौभाग्य नै भनौँ उहाँले चुनाव हार्नु भयो। नत्र किसुनजीले गिरीलाई मन्त्री बनाइ छाड्नुहुन्थ्यो। गिरी पनि बाध्य हुनुहुन्थ्यो। पछि प्रदीप गिरीले कतै भन्नुभएको थियो– धन्न भगवान्को कृपाले चुनाव हारिएछ, नत्र म पनि डामिने थिएँ। सत्तामा गएपछि गर्न सक्ने सीमित ठाउँ भएको ज्ञान उहाँमा थियो। त्यसैले सरकार र पार्टीको कार्यकारी पदमा जान उहाँले कहिल्यै रुचि देखाउनुभएन। शासनसत्ता व्यक्तिले होइन, सिद्धान्त र विचारले चलाउनु पर्छ भन्ने उहाँको मान्यता थियो। व्यवहारमा त्यो सम्भव रहेन। त्यसैले प्रदीप गिरीमा सत्तासीन हुन कुनै जाँगर चलेन। 

कांग्रेसमा वैचारिक बहस गर्ने थोरै नेतामध्येमा हुनुहुन्थ्यो उहाँ। बीपी कोइरालापछि त्यो विरासत धेरैले थाम्न सक्नुभएन। रामचन्द्र पौडेल, चक्र बास्तोला, भीमबहादुर तामाङ, नरहरि आचार्य र केही सीमित नेतामा थोरबहुत क्षमता देखियो। अब यो पुस्ता लगभग सकिएको छ। त्यसैले आगामी दिनमा कांग्रेसभित्र वैचारिक बहस गर्ने पुराना नेताहरूको अभाव खड्किरहने छ। गिरीको महाप्रस्थानले त्यो अभाव थप गहिरिएको छ। अध्ययन, अनुसन्धान गर्ने खुबी मात्र नभई त्यसलाई प्रस्टसँग अभिव्यक्त गर्ने सक्ने गज्जबको क्षमता थियो गिरीमा। उहाँले कुनै पनि विषयमा घण्टौँ प्रवचन दिन सक्नुहुन्थ्यो। अध्ययन नगरेको कुनै विषय र क्षेत्र नै थिएन। पूर्वीय होस् वा पाश्चात्य साहित्य, दर्शन होस् वा विज्ञान वा अर्थ राजनीति सबैमा अब्बल। गिरीले बोल्ने भनेपछि संसद्समेत भरिभराउ हुन्थ्यो। मै हुँ भन्नेले पनि उहाँको कुरा जिज्ञाशु भएर सुन्ने। कांग्रेसको सांसद भएर पनि गिरी दलीय घेरामा कहिल्यै बाँधिनु भएन। आफ्नै पार्टीका मन्त्री तथा प्रधानमन्त्रीको आलोचना गर्न सङ्कोच मान्नुभएन। पार्टी निर्णयविरुद्ध धारणा राख्न कोही कसैको त्रास थिएन उहाँमा। अन्तरात्माले बोलेको मात्रै गर्ने स्वभाव थियो। 

जस्तोसुकै आलोचनात्मक धारणा राख्दा पनि गिरीलाई प्रश्न गर्ने आँट नेताहरूमा थिएन किनकि उहाँ निष्ठाका धनी हुनुहुन्थ्यो। राजनीतिक दर्शनको व्याख्यामा त अझै पोख्त। विपक्षीहरूलाई नै दीक्षा दिनसक्ने ल्याकत थियो उहाँसँग। नेपालका वामपन्थीलाई गिरीले माक्र्सवाद पढाउनु भयो। माक्र्सवाद पढेका र लेनिनबारे पुस्तक लेखेका अद्भूत क्षमतावान् व्यक्तित्व थियो उहाँमा। राजनीतिकर्मीभन्दा चिन्तक बढी हुनुहुन्थ्यो गिरी। जीवन जगत्को गहिरो अध्ययन अनुसन्धान गर्नुभएका उहाँको समाज रूपान्तरण नै मूल लक्ष्य रह्यो। राज्य संयन्त्रमा सबैको पहुँच हुनुपर्ने समाजवादी चिन्तन र अवधारणा उहाँले नै सुरु गर्नुभएको हो नेपालमा। ०६० सालमा कांग्रेस प्रजातान्त्रिक पार्टी बनाउने क्रममा गिरीले महत्वपूर्ण प्रस्ताव पारित गराउनुभएको थियो। राज्य संरचनामा कदमजम भन्ने फर्मुला प्रतिपादन गरिएको थियो। कर्णाली, दलित, मधेसी, जनजाति र महिला वर्गको प्रतिनिधित्वको प्रत्याभूति गर्नुपर्ने प्रस्ताव ल्याउनु भएको थियो। यस्तै, नेपालमा सङ्घीयता आवश्यक रहेको प्रस्तावसमेत गिरीबाट नै आएको हो। यसबाट गिरीमा राजनीतिक सुझबुझ कति थियो भन्ने प्रष्ट्याउँछ। उहाँ दूरद्रष्टा पनि हुनुहुन्थ्यो। 

बनारस रहँदा बीपी कोइरालासँग घनिष्ट सम्बन्ध रह्यो उहाँको। बीपीको सङ्गतबाट दीक्षित हुनुभएका गिरी कतिपय सवालमा उहाँसँगै वादविवाद गर्ने ल्याकत राख्नुहुन्थ्यो। बीपीसँग बहस गर्न सधैँ अग्रसर हुने उहाँको क्षमताको सबैले कदर गर्थे। पूर्वीय साहित्य र दर्शनमा उहाँको गहिरो अभिरुचि थियो। बीपीसँग बेलाबेला विश्व साहित्य, अर्थ राजनीतिमा घण्टौँ बहस गर्न सक्नुहुन्थ्यो। बीपी पनि प्रदीप गिरीबाट प्रभावित हुनुहुन्थ्यो। आफूलाई भेट्न आउनेहरूसँग प्रदीपको तारिफ गर्नुहुन्थ्यो। प्रदीपको अलौकिक प्रतिभा र बौद्धिकताको कदर गर्नुहुन्थ्यो। बीपीजस्तै उहाँ पनि नेपालको मौलिक अर्थतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। अमेरिकाजस्तो विकासको मोडेल नेपालका लागि अनुपयुक्त हुने उहाँको बुझाइ थियो। ०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेस नेतृत्वमा धेरै पटक सरकार बने तर बीपीले कल्पना गरेअनुसार समाजवादी अर्थव्यस्था अपनाइएन, जो प्रदीपको समेत चाहना थियो। बरु उदारवादी अर्थतन्त्रको मोडल अपनाइयो। पछि समाजवादी मोडेलका पक्षधर अरू मुलुकले समेत समाजवादउन्मुख उदारवादी अर्थप्रणालीतिर आफूलाई अग्रसर बनाए। त्यसमा गिरीको आफ्नै अवधारणा थियो।

उमेरले प्रौढ भए पनि विचारले सधैँ तन्नेरी। काँग्रेसलाई गति दिन युवा पुस्ताको आकर्षण बढाउनुपर्ने सोच उहाँको थियो। कांग्रेसको १४औँ महाधिवेशनमा खुलेरै युवा पुस्ताको प्रचार गर्नु भयो। महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा आउनुपर्छ भनेर सार्वजनिक भाषण नै गर्नुभएको हो। युवाले नै कांग्रेसलाई गति दिन सक्ने विश्वास र भरोसा उहाँमा देखिन्थ्यो। गिरीले भनेजस्तै महाधिवेशन प्रतिनिधिले निर्णय त दिए। अब पार्टीलाई गिरीले चाहेबमोजिमको आकर्षक र भरोसायोग्य बनाउने जिम्मेदारी युवा पुस्तामै आइपुगेको छ। आगामी दिनमा युवा पुस्ताले पार्टीलाई कुन दिशा र गतिमा चलाउने हुन् त्यसैमा कांग्रेसको भविष्य निर्भर छ। प्रदीप गिरीको सपना पूरा हुने÷नहुने परीक्षण पनि यहीँबाट हुनेछ।