यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया) जेठ १ गते । बर्दियाका आठ वटा पालिकाहरूमध्ये सबैभन्दा बढी बेरुजु मधुवन नगरपालिकामा देखिएको छ । महालेखा परिक्षकको ६२ औँ प्रतिवेदन अनुसार जिल्लाका पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु मधुवन नगरपालिकाको र सबैभन्दा कम बेरुजु राजापुर नगरपालिकाको देखिएको हो ।
प्रतिवेदन अनुसार मधुवन नगरपालिकामा २.६० प्रतिशत बेरुजु रकम देखिएको छ । मधुवन नगरपालिकाको लेखापरिक्षण गरिएको रकम एक अर्ब ६४ करोड चार लाख ५८ हजारमध्ये चार करोड २६ लाख १२ हजार रुपियाँ बेरुजु देखिएको छ ।
त्यसैगरी गेरुवा गाउँपालिकामा १.८७ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा १.३७ प्रतिशत, गुलरिया नगरपालिकामा १.१८ प्रतिशत बेरुजु देखिएको छ । त्यसैगरी बारबर्दिया नगरपालिकामा ०.९९ प्रतिशत, बढैयाताल गाउँपालिकामा ०.५२ प्रतिशत, बाँसगढी नगरपालिकामा ०.५० प्रतिशत र राजापुर नगरपालिकामा ०.३१ प्रतिशत बेरुजु रकम देखिएको छ ।
सबैभन्दा कम बेरुजु रकम देखिएको राजापुर नगरपालिकामा लेखापरिक्षण गरिएको रकम एक अर्ब ८२ करोड १६ लाख ७२ हजार मध्ये ५६ लाख ४९ हजार रुपियाँ बेरुजु देखिएको छ । बर्दियामा सबैभन्दा कम बेरुजु आएकोमा खुसी व्यक्त गर्दै राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले नियमविपरित काम गर्न कर्मचारीलाई दवाव नदिएको कारणले बेरुजु रकम कम आएको बताउनुभयो। उहाँले कानुन विपरित काम नगर्न पटक पटक कर्मचारीलाई निर्देशन दिईरहेको र आँफले पनि त्यस्तो काम नगरेको कारणले बेरुजु रकम कम आएको बताउनुभयो।
मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बेरुजु रकम पहिलेदेखि नै थपिँदै आएको बताउनुभयो । प्रक्रिया नमिलेका बेरुजु रकमहरूलाई प्रक्रिया पुर्याएर फस्र्यौट गर्दै लैजाने उहाँले बताउनुभयो ।