विनय कर्ण
कल्याणपुर (सप्तरी), असार १९ गते । सप्तरीको सुरुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइईमा) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेको छ । नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुबाट एसइईमा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरुलाई पुरस्कारसहित सम्मान गरिएको हो ।
सुरुङ्गामा सर्वाधिक चार जिपिए ल्याउने जनता मावि शिशुवारीका छात्रा कृतिका थापा मगरलाई एक लाख रुपियाँ पुरस्कारसहित सम्मान गरिएको छ ।
यस्तै, सोही विद्यालयका प्रतिमा मगर ३ दश्मलव ८३, अपन कार्की ३ दश्मलव ८२, उदितनारायण महतो ३ दश्मलव ७२, जनता मावि कुशहाका चिरञ्जिवी चौधरी ३ दश्मलव ७९, मावि टिकुलियाका मिथिलेश कुमार यादव ३ दश्मलव ७०, मावि भेडियाका कृपा राउत ३ दश्मलव ७० जिपिए ल्याउनु भएको छ । उहाँहरुलाई प्रोत्साहन स्वरुप जनही १५ हजार रुपियाँको दरले पुरस्कारसहित सम्मान गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन गर्न नगरपालिकाले बुधबार कार्यक्रमको आयोजना गरी बालबालिका संरक्षण तथा शैक्षिक कार्यक्रमअन्तर्गत माध्यमिक शिक्षा परीक्षा एसइईमा २०८१ मा सर्वोत्तम उपलब्धि स्तर प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार तथा अभिभावकलाई सम्मान गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो ।
सुरुङ्गा नगरपालिकाबाट पाँच सय ७८ जना एसइई परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये दुई सय ५२ जना ग्रेडिङ्गमा उत्तीर्ण भएको छ । एसइईमा ४५ दश्मलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाले जनाएको छ ।