• १९ असार २०८२, बिहिबार

तीन वर्ष अघि निर्माण सकिएको त्रिवेणीको पुल अझै सञ्चालनमा आएन

blog

ज्ञानु पंगेनी  

मध्यविन्दु , असार १९ गते । वाल्मीकि आश्रमलाई नेपालको बाटोबाट जोड्ने गरी नवलपरासी पूर्व ( नवलपुरको ) त्रिवेणी स्थित नारायणी नदीमा निर्माण गरिएको ‘लवकुश ’ नामकरण गरिएको झोलुङ्गे पुल अझै सञ्चालनमा आउन सकेको छैन । 

विसं २०७० मा निर्माण सुरु गरिएको पुल विसं २०७९ मा निर्माण सम्पन्न भएको थियो । तर उक्त पुल अझै सञ्चालनमा आउन सकेको छैन ।

गत वर्ष साउनमा बाजागाजा सहित पुलको उद्घाटन गरिएको थियो । उक्त पुल हुँदै नेपालकै बाटोबाट वाल्मीकि आश्रम पुगिएको थियो । तर  निकुञ्ज क्षेत्र पर्ने भएकाले आवश्यक सुरक्षा प्रबन्ध गर्न बाँकी रहेको भनी उद्घाटन लगतै  पुलबाट आवतजावतमा रोक लगाइएको  थियो ।  

पुल छेउमा सुरक्षाकर्मी बस्ने आवश्यक संरचना निर्माण गरिएकाले अब भने  पुल सञ्चालन  हुने विनयी त्रिवेणी  गाउँपालिका–६, का वडा अध्यक्ष नरेन्द्र शाहले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाकर्मी खटाए लगतै पुल सञ्चालनमा आउने उहाँले बताउनुभयो । ‘सुरक्षाकर्मी बस्ने ठाउँ थिएन, अब ती सबै संरचना निर्माण भएको छ, चाँडै सुरक्षाकर्मी खटिएमा पुल समेत सञ्चालनमा आउँछ’, अध्यक्ष शाहाले भन्नुभयो । 

पुल तरेपछि वाल्मीकि आश्रमसम्म पुग्ने व्यवस्थित पदमार्ग समेत निर्माणको अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । करिब एक हजार तीन सय मिटर लम्बाईको पदमार्ग निर्माणको काम  अन्तिम चरणमा रहेको उहाँले  बताउनुभयो । 

माडी नगरपालिका –१, मा पर्ने चितवन तर्फबाट वाल्मीकि आश्रमसम्म पुग्ने बाटो छैन ।  नवलपुर तर्फबाट समेत नेपालकै भूमीहुँदै वाल्मीकि आश्रम पुग्ने बाटो छैन । जसले गर्दा त्रिवेणी स्थित गण्डक बाँध कटेर भारतको वाल्मीकि नगर र वाल्मीकि टाइगर रिजर्भ हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता कायम  छ  । नेपालको धार्मिक स्थल भारतीय बाटो हुँदै जान्नुपर्दा समय त लाग्छ नै  ,उत्तिकै झन्झटिलो समेत हुने गर्दछ । 

पुल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । अब भने चाडै पुल सञ्चालनमा आउने विश्वास रहेको वडाध्यक्ष शाहले बताउनुभयो । पुल सञ्चालनमा आएसँगै भारतीय बाटो हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उहाँले बताउनुभयो ।  

पाँच सय ३५  मिटर लम्बाइको झोलुङ्गे पुल करिब ६ करोडको लागतमा निर्माण गरिएको हो । वाल्मीकि आश्रम धार्मिक तथा पौराणिक महत्त्व बोकेको क्षेत्र हो । सीताले लामो समय बिताएको , सीता पाताल प्रवेश गरेको , लव–कुश जन्मेको जन्मथलो र रामायण काव्यको रचना भएको स्थल, वाल्मीकि आश्रम आफैमा ऐतिहासिक धार्मिक स्थलका रूपमा रहेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । पालिका भित्र पर्ने त्रिवेणी धाम र वाल्मीकि आश्रमलाई पुलले जोड्ने हुँदा यसलाई जतिसक्दो चाँडो सञ्चालन गर्नका लागि पालिकाले पहल गरिरहेको अध्यक्ष गिरीले बताउनुभयो ।