गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समितिमा भएको सहमति प्रतिकूल हुने गरी प्रतिनिधि सभाबाट पारित भएको सङ्घीय निजामती विधेयक सच्याउने ठाउँ रहेको बताउनुभएको छ ।
गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’ को ५० औँ शृङ्खलामा विशेष कुराकानी गर्दै सभामुख घिमिरेले नियमित प्रक्रियाबाटै उक्त त्रुटि सच्याउने ठाउँ रहेको बताउनुभएको हो ।
घिमिरेले प्रतिनिधि सभाबाट पारित भएको भए पनि राष्ट्रिय सभामा जाने र त्यहाँबाट फेरि विधेयक उत्पत्ति भएकै सदन (प्रतिनिधि सभा) मा आउने भएकाले कमजोरी सच्याउने ठाउँ रहेको बताउनुभयो । “विधेयक पारित गर्ने सन्दर्भमा माथिल्लो र तल्लो दफा मिलाउँदा केही ध्यान नपुगेका कुरा उठेका छन् । दफावार छलफल गर्दा जे छलफल गरियो र जे निष्कर्ष देखियो तदनुरूप लेखियो कि लेखिएन, मिल्यो कि मिलेन भनेर ध्यान पुर्याएर हेर्ने मामलामा भएका कमीकमजोरीले माथिल्लो बुँदा तल्लो बुँदासँग केही केही बाझियो । यसले त अनर्थ लाग्यो नि भन्ने कुरा छलफल हुँदै छ । एउटा सदनमा छलफल गरेर टुङ्ग्याउँदा अर्को सदन पनि हुन्छ । त्यो सदनले टुङ्ग्याएपछि उत्पत्ति भएकै सदनमा पनि आउँछ । निजामती विधेयक बिग्रिएको भए सच्याउने ठाउँ हुन्छन् ।”