डिलबहादुर सिंह
डोटी, असार १८ गते । यस वर्षको एसइईमा सहभागी भएका मध्ये डोटीका विभिन्न पाँच वटा सामुदायिक विद्यालयको नतिजा शून्य प्रतिशत आएको छ । शिक्षा विकास तथा समन्वय इकाई डोटीका निमित्त प्रमुख ममता पालका अनुसार पूर्वी चौकी गाउँपालिका–२ मा रहेका भारतोली माध्यमिक विद्यालय र नेत्रेश्वरी माध्यमिक विद्यालय,जोरायल गाउँपालिका –५ मा रहेको महाकाली माध्यमिक विद्यालय,जोरायल गाउँपालिका – ६ मा रहेको कृष्ण माध्यमिक विद्यालय र शिखर नगरपालिका –७ मा रहेको लाटामाण्डौं माध्यमिक विद्यालयबाट परीक्षामा संलग्न कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।
यस वर्षको एसइईमा भारतोली माध्यमिक विद्यालयबाट १७, नेत्रेश्वरी माध्यमिक विद्यालयबाट ७, विद्यार्थी सहभागी भएका थिए । यस्तै, जोरायल गाउँपालिका–५ मा रहेको महाकाली माध्यमिक विद्यालयबाट ६ जना, जोरायल गाउँपालिका –६ मा रहेको कृष्ण माध्यमिक विद्यालयबाट ८ जना शिखर नगरपालिका–७ मा रहेको लाटामाण्डौं माध्यमिक विद्यालयबाट १० जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए ।
शत प्रतिशत विद्यार्थी उत्तीर्ण गर्ने सामुदायिक विद्यालय डोटीमा एउटा पनि छैन । दिपायल सिलगढी नगरपालिका भित्रका दुई वटा संस्थागत विद्यालयहरूले शत प्रतिशत नतिजा ल्याएका छन् ।
दिपायल सिलगढी नगरपालिका–४ मा रहेको सु–जङ्ग इंगलिस बोर्डिङ स्कुलबाट सहभागी ७७ जना मध्ये सबै उत्तीर्ण भएका छन् । दिपायल सिलगढी नगरपालिका –३ मा रहेको दिपायल एकेडेमीबाट सहभागी भएका १६ जना बिद्यार्थीहरुमा सबै उत्तीर्ण भएका छन् ।
सामुदायिक विद्यालयमध्ये राम्रो नतिजा ल्याउनेमा शिखर नगरपालिका–९ रहेको सिताराम माध्यमिक विद्यालय रहेको छ । सिताराम माध्यमिक विद्यालयबाट ४५ जना विद्यार्थीहरू सहभागी भएकामा ४१ जना अर्थात् ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्षको एसइई परीक्षामा डोटी जिल्लाबाट ९८ विद्यालयबाट दुई हजार ९१४ जना विद्यार्थीहरू सहभागी भएका थिए । सहभागी विद्यार्थीहरू मध्ये एक हजार ७३ विद्यार्थी स्तरिकृत भएका शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख ममता पालले जानकारी दिनुभयो ।