गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशहरूको सफलता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताउनुभएको छ । बुधबार प्रदेश प्रमुखहरूसँग शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपतिले सो धारणा व्यक्त गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले प्रदेश प्रमुख प्रदेशको प्रमुख मात्र होइन, केन्द्रको प्रतिनिधि पनि भएकाले सङ्घ र प्रदेशबिचको समन्वयकर्ता पनि भएकाले समग्रमा प्रदेश प्रमुख सङ्घीयताको सेतु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्घीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ ।”
राष्ट्रपति पौडेलले राष्ट्रपति र प्रदेश प्रमुखबिच निरन्तर सम्पर्क, संवाद र समन्वय हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले प्रादेशिक कानुन निर्माणका काम चाँडै सकेर कार्यान्वयनमा जति सक्दो चाँडै लाग्छौँ, त्यति नै परिवर्तनको लाभ नागरिकको आँगनमा पु¥याउनुका साथै व्यवस्था बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो ।
“प्रदेशको संरचनाले मात्र राजनीतिक महत्व स्थापित हुँदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरुरी छ, चरित्रको बदलाव मुख्य कुरा हो, राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौँ, प्रदेश–प्रदेशबिच स्वस्थ प्रतिस्पर्धा गरौँ,” उहाँले भन्नुभयो, “अन्तरप्रदेश सहकार्य र समन्वयमा जोड दिऔँ, एकआपसको सहकार्यले सबैलाई लाभ पुग्ने छ ।” प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ नयाँ योजना बनाएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रपति पौडेलले सुशासन, जनतामा प्रभावकारी सेवा प्रवाह र लोकतन्त्रको सुदृढीकरणमा केन्द्रित हुन, लोकतन्त्रप्रति भरोसा जगाउन बौद्धिक वर्ग, नागरिक समाजका अगुवासँग छलफल गर्नुपर्ने बताउनुभयो । प्रदेश प्रमुखलाई विकास निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृति जस्ता क्षेत्रको विकास, विस्तारमा लाग्न उहाँले सुझाव दिनुभयो । सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखले आफूले भोग्नु परेका कठिनाइ, कानुन नियममा रहेका अन्योलबारे जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन हुन राष्ट्रपतिसमक्ष आग्रह गर्नुभएको थियो ।