• १९ असार २०८२, बिहिबार

श्रमदानमा महिलाको उपस्थिति उल्लेख्य

blog

भक्तपुर, असार १९ गते । मध्यपुर थिमी नगरपािलका–९, तिगनी, निलबाराही क्षेत्रमा पहिरो रोकथाम तथा संरक्षण गर्ते उद्देश्यसहित सञ्चालनमा आएको श्रमदान अभियानमा महिलाहरूको उल्लेख्य उपस्थित रहेको छ ।

निलबाराही क्षेत्र संरक्षण सरोकार समितिको आयोजनामा यही जेठ ३ गतेदेखि सुरु भएको अभियान श्रम मात्र होइन खाद्यान्न, बोरा, बाँस लगायतका सरसामान दिने गरेका छन् ।

जीर्णोद्वारको काम दैनिक दुईदेखि तीन सय भए पनि शनिबारको दिन भने छ/सात सय श्रमदाताहरू हुने गरेको पाइन्छ । महिलाको उल्लेख्य उपस्थित रहेको मन्दिर निर्माणमा आफ्नो गाँउ टोल तथा सम्पदालाई आफैँ पुनर्निर्माण गर्ने उद्देश्य थियो ।


निलबराही रामायण भजन मण्डलका रमेश राजवहाक तथा समूहले श्रमदातालाई खाजा खाना पकाएर खुवाउँदै आउनुभएको छ ।

निलबाराही क्षेत्र संरक्षण सरोकार समितिको अध्यक्ष दिलकृष्ण राजवाहाकले भन्नुभयो, ‘‘चार वटा बाराहीमध्ये एक निलबाराही हो । थिमीमात्र नभएर भक्तपुर, ललितपुर र काठमाडौँको बासिन्दाले पनि मान्ने बाराही हो । त्यसैले यसको संरक्षण अति आवश्यक छ ।’’

विगत दश वर्षदेखि निलबाराहीको परिसर भूकम्प र पहिरोका कारण जीर्णोद्वार रहेको र सम्बधित निकायले चासो नदेखाएपछि यो पाटी नै मास्ने खतरा भएकाले यसको संरक्षण अभियान अघि सारेको राजवाहाकले बताउनुभयो ।

उहाँले वैशाख १३ गते निलबाराही संरक्षण समितिको गठन भएको बताउँदै जेठ ३ देखि श्रमदानका लागि आह्वान गरेको जानकारी दिनुभयो । पहिलो दिनमा एक/दुई सयमात्र भए पनि अहिले धेरै श्रमदाताहरू आउनुभएको जानकारी दिनुभयो ।

‘‘श्रमदानका लागि शनिबार सात/आठ सयदेखि एक हजार जना आउने गरेको रेकर्ड छ,’’ उहाँले भन्नुभयो, ‘‘दाताहरुले श्रममात्र होइन खाद्यान्नदेखि चाहिने सरसामान र रुपियाँ पनि सहयोग गर्नुभएको छ । हाम्रो योजना भनेको निलबाराहीलाई बचाउने हो र पछि वृक्षारोपन गर्ने रहेको छ ।’’