• १९ असार २०८२, बिहिबार

कांग्रेस बैठकमा आरोप–प्रत्यारोप

एकअर्कालाई सिध्याउने खेल भएको गुनासो

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, असार १९ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले पार्टीभित्र आन्तरिक एकता कायम गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । असार १६ गतेदेखि जारी बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले पार्टीभित्र एकअर्कालाई सिध्याउने षड्यन्त्र भएको दाबी गर्दै नेतृत्वले यस्ता विषयमा ध्यान पुर्‍याउनुपर्ने बताएका हुन् । 

बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीले संसद्मा उठाइरहेका विषय र संसद्को कामकारबाहीका सन्दर्भमा जानकारी गराउनुभयो । उहाँले प्रतिनिधि सभामा प्रस्तुत ८० विधेयकमध्ये ४३ वटा पारित भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभाको समितिमा १४ र राष्ट्रिय सभाको समिति पाँच वटामा छलफलमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अरू कतिपय विधेयकमाथि छलफल सुरु भएको छैन ।”

टेरामस्क खरिद प्रकरणमा मुद्दा दायर भएपछि निलम्बित सांसद एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीभित्र एकले अर्कोलाई सिध्याउने खालका गतिविधि भएको दाबी गर्दै पदाधिकारीले यस्ता कार्यमा संलग्न भएकाले यसको परिणाम गलत हुने चेतावनी दिनुभयो । 

तरुण दलको महाधिवेशन हुने 

कांग्रेस बैठकले नेपाल तरुण दलको महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरूप मङ्सिर २६ देखि २८ गतेसम्ममा अनिवार्य सम्पन्न गर्ने गरी केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको छ । 

साथै बैठकले तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरुण दलको मौजुदा कार्यसमितिभित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीका तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । यससँगै तरुण दलका नेताले पार्टी कार्यालय सानेपामा थालेका आमरण अनशन स्थगित भएको छ ।