स्मिता अर्जेल
मकवानपुरगढी, असार १९ गते । सुरक्षित आप्रवासन परियोजना (सामी) मकवानपुरले चालु आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीका लागि पुरुषको तुलनामा महिलाको संख्या बढ्दो रहेको छ ।
विहीबार सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै सामी परियोजना मकवानपुरका संयोजक अञ्जिता थापा मगरले चालू आर्थिक वर्षको चैतसम्ममा मकवानपुरबाट तीन हजारको संख्यामा महिला वैदेशिक रोजगारीका लागि विदेशिएको जानकारी दिनुभयो ।
मकवानपुरमा चालू आर्थिक वर्षको चैतसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुमा पुरुष ८ हजार २ सय ५७ र महिला ३ हजार रहेको उहाँले बताउनुभएको छ ।
यसरी यस वर्षको चैत मसान्तसम्ममा मात्र ११ हजार २ सय ५७ जनाले मकवानपुरबाट श्रम स्वीकृति लिएर विदेशिएका छन् । यद्यपि तथ्यांकलाई हेर्दा विदेशीनेमा पुरुषको तुलनामा महिलाको संख्या कम देखिए पनि गत वर्षहरुको भन्दा यो तथ्यांक बढ्दो रहेको सामी परियोजना मकवानपुरले जनाएको छ ।
चालू आर्थिक वर्षमा स्रोतकेन्द्रबाट ७ हजार २ सय ६६ जनामा सुरक्षित वैदेशिक रोजगारबारे सूचना प्रवाह गरिएको र जसमा ८७ प्रतिशतको उद्देश्य वैदेशिक रोजगारीको रहेको उहाँले बताउनुभयो ।
सामी परियोजनाले मुख्यतया सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तीय र वित्तीय साक्षरता लगायतका क्षेत्रमा सेवाहरु उपलब्ध गराउँदैआएको छ ।
चालू आर्थिक वर्षमा सामी स्रोत केन्द्रमा १ सय ३३ वटा वैदेशिक घटनाहरु प्राप्त भएको र त्यसमध्ये ४७ वटा घटनालाई समाधान गर्न सामी परियोजना सफल भएको संयोजक मगरले जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षमा सामी परियोजनामा ५३ वटा ठगीका घटनाहरु आएको र जिल्ला प्रशासन कार्यालय मकवानपुरसहित वैदेशिक रोजगार विभाग कार्यालयको सहजिकरणमा ३२ वटा घटना समाधान गरिएको छ । जसमा पीडित पक्षको पन्ध्र लाख ८ हजार नगद रुपियाँ उठेको संयोजक मगरले बताउनुभयो ।
संयोजक मगरका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि गएका श्रमिकको मृत्यु भएको खण्डमा उक्त श्रमिकको परिवारलाई वैदेशिक रोजगार बोर्डले १० लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ भने श्रमिक दुर्घटनामा परी अङ्गभङ्ग भएमा वा विरामी परेमा ७ लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ ।
वैदेशिक रोजगारीका लागि विशेषतः सयुंक्त अरब इमिरेट्स, साउदी अरेविया, कतार, मलेसिया, कुवेत, क्रोयसिया, रोमानीया, जापान, कोरिया र बहराईनका लागि विदेशिने गरेको पाइएको बताइएको छ ।
कार्यक्रममा सामी परियोजनाका फोकलपर्सन भीमप्रसाद तिमल्सिनाले वैदेशिक रोजगारीका लागि जानेहरुले विभिन्न चुनौतीहरु खेप्नुपरेको उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारहरु अर्धदक्ष र अदक्ष हुँदा नेपाली कामदारहरुले जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
मकवानपुरमा हाल ६ जना मनोपरामर्शकर्ता मार्फत मनोपरामर्श दिने कार्य भइरहेको छ । यसवर्ष मकवानपुरमा ७४ जना महिला र १३ जना पुरुष गरी ७४ जनालाई मनोपरामर्श दिइएको उहाँले बताउनुभयो ।