• २० असार २०८२, शुक्रबार

एमबिबिएस पढ्न पालिकाको छात्रवृत्ति

blog

चेक हस्तान्तरण गर्दै पालिका अध्यक्ष शाह ।

सलिम मियाँ

बिजुवार, असार १९ गते। प्युठानको ऐरावती गाउँपालिकाले ग्रामीण भेगका जेहेन्दार विद्यार्थीलाई लक्षित गरीउच्च शिक्षा अध्ययनमा उल्लेखनीय पहल गरेको छ। बरौला गाउँका अजय जिसीलाई काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्समा एमबिबिएस पढ्न १३ लाख रुपियाँ छात्रवृत्ति दिइएको छ।

तेस्रो वर्षमा अध्ययनरत जिसी आर्थिक वर्ष २०८१ ८२ को नीति तथा कार्यक्रमअनुसार छात्रवृत्तिका लागि छनोट हुनुभएको हो।

बिहीबार गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले जिसीकी आमा बसन्ता जिसीलाई छात्रवृत्तिको चेक हस्तान्तरण गर्नुभयो। छात्रवृत्ति पाउने विद्यार्थीले पढाइ सकिएपछि कम्तीमा तीन वर्ष गाउँमै सेवा गर्नुपर्ने सर्त राखिएको छ।

“डाक्टरको सेवा गाउँमै पुगाउन र विपन्न परिवारका विद्यार्थीलाई अवसर दिन कार्यक्रम ल्याएका हौँ” अध्यक्ष शाहले भन्नुभयो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माका अनुसार, चालु आर्थिक वर्षमा छात्रवृत्तिका लागि २० लाख रुपियाँ विनियोजन गरिएको छ । आगामी वर्ष ३० लाख रुपियाँ पुर्याउने तयारी भइरहेको छ।

हाल ऐरावतीले करारमा चिकित्सक राखेर स्वास्थ्य सेवा दिइरहेको छ। प्युठानकै गौमुखी गाउँपालिकाले पनि अत्यन्त विपन्न परिवारका विद्यार्थीलाई एमबिबिएस, इन्जिनियरिङ र स्टाफ नर्स अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने नीति ल्याएको छ। गाउँपालिकाका अनुसार, २०७८ ७९ देखि बजेट विनियोजन हुँदै आए पनि हालसम्म कसैले उक्त सुविधा उपयोग गरेका छैनन् ।