जुम्ला समाचारदाता
जुम्ला, असार १९ गते । जुम्लाको गुठीचौर गाउँपालिका–१, मौरेलेकमा चौँरीको स्रोतकेन्द्र स्थापना गरिने भएको छ । जुम्लाको सबैभन्दा बढी चौँरीपालन गर्ने सो क्षेत्रको चोत्रगाउँलाई थप चौँरी थपेर स्रोतकेन्द्र बनाइने भएको हो ।
पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले प्रदेश सरकारको सहयोगमा एक हिमाली हिल्सा चौँरी पकेट समूहलाई ४० वटा चौँरी हस्तान्तरण गरेको छ । कार्यालयका जुम्ला प्रमुख ज्ञानेन्द्र बुढथापाका अनुसार समूहका अध्यक्ष तिलाबहादुर महतारालाई चौँरी हस्तान्तरण गरिएको हो ।
पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख बुढथापाका अनुसार वितरण गरिएका चौँरीमा ३७ वटा प्रजननयोग्य नाक (माउ) र तीन वटा याक (भाले) रहेका छन्, जससँगै २२ वटा बाछाबाछीसमेत छन् ।
अघिल्लो आर्थिक वर्षमा ३७ वटा चौँरी खरिद गरिएका थिए । छिमेकी जिल्ला डोल्पाको भालु व्यावसायिक चौँरी फार्मबाट खरिद गरिएका यी चौँरीका लागि १५ लाख कार्यालयको र १५ लाख किसानको अनुदान रहेको छ ।
कार्यालयले कर्णाली प्रदेशको ‘पशुपन्छी उत्पादन क्षेत्र विशेष कार्यक्रम’ अन्तर्गत साझेदारीमा यो तीनबर्से कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष कार्यालयका अनुसार चौँरीको दुध उत्पादन बढाएर किसानको जीविकोपार्जनमा सुधार ल्याउने र चोत्रगाउँलाई चौँरीपालनको स्रोतकेन्द्रका रूपमा विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
हाल ६४ घरधुरी मात्र रहेको यस गाउँमा पहिलेदेखि नै करिब एक हजार छ सय चौँरी पालिँदै आएको छ । यसकारण चोत्रगाउँलाई चौँरीपालनका लागि सम्भावनायुक्त र उपयुक्त क्षेत्र मानिएको छ । यस कार्यक्रम अन्तर्गत गत वर्ष पनि सोही गाउँमा १९ वटा नाक र एउटा वटा याक गरी २० चौँरी वितरण गरिएका थिए । वडाध्यक्ष अर्जुनकुमार महताराले स्रोतकेन्द्र निर्माणका लागि सुरु भएको र चार लाख सहयोगमा खर्क व्यवस्थापन गरिएको छ । त्यस क्षेत्रमा चौँरीका लागि अन्य पूर्वाधार विकासका लागि बजेट आवश्यक भएको छ ।