• १३ साउन २०८१, आइतबार

पदबिना नै प्रदीप्त

blog

‘प्रदीप गिरी कोनो पदमै नै गेलै लेकिन बस्तीपुरके नाम रोशन कदेल्कै (प्रदीप गिरी कुनै पदमा जानुभएन तर बस्तीपुरको नाम उज्ज्वल पारिदिनुभयो’, यो भनाइ हो प्रदीप गिरीका बालसखा बच्चु पासवानको ।

एउटै गाउँमा सँगै खेलेका र सँगै हुर्केका बच्चु पासवान नेपाली कांग्रेसका नेता प्रदीप गिरीको विश्वासपात्र सखाहरूमध्ये एक हुनुहुन्छ । विश्वासपात्र भएकै कारण आफ्नो अनुपस्थितिमा आफ्नो भागको सबै जग्गा कमाउने जिम्मा गिरीले पासवानलाई दिनुभएको थियो । पासवानकै निर्देशनमा गिरीको जग्गामा उब्जाउ हुने धानचामल आश्रममा ल्याइने गरिन्छ । 

‘प्रदीप गिरी सानैदेखि जेहेन्दार तथा सहयोगी हुनुहुन्थ्यो । हामी मालिकको गाईवस्तु चराउन चउरतिर जान्थ्यौँ, उहाँ पनि किताब र कापी लिएर हामीसँगै आउनुहुन्थ्यो’, बच्चु पासवानले भन्नुभयो, 

‘गाईवस्तु चराउन हामीलाई सघाउनुहुन्थ्यो नै, आफूसँग ल्याएको किताब पनि पढेर हामीलाई सुनाउनुहुन्थ्यो । पछि उहाँकै करबलले हामीले पनि अक्षर चिन्ने मौका पायौँ ।

‘विद्यार्थीकालदेखि नै प्रदीप दाइमा नेतृत्व र अध्ययनको अद्भुत क्षमता थियो, गृहकार्यका लागि भनेर दिइने पाठ कक्षामै तुरुन्त सकेर उहाँले शिक्षकलाई देखाउनुहुन्थ्यो’, गिरी अध्ययनरत तत्कालीन बस्तीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक पद्मरञ्जन बरालको भनाइ उद्धृत गर्दै गिरीका बालसखा कुमुदरञ्जन बरालले भन्नुभयो, ‘२०१८ सालको एसएलसीको परीक्षामा प्रदीप दाइले मात्रै बस्तीपुर केन्द्रबाट प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभएको थियो । उहाँको क्षमता र तीक्ष्ण बुद्धि अनुसार राम्ररी लेखेको भए उहाँको स्थान बोर्डमै आउँथ्यो ।’

माध्यमिक विद्यालयको पढाइ सकेर गिरी उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ जानुभयो । २०१७ साल पुस १ गते पञ्चायती व्यवस्था लादिएपछि प्रदीप गिरीका पिता तथा नेपाली कांग्रेसका तत्कालीन नेता मित्रलाल गिरी भारततर्फ निर्वासित हुनुभयो । भारत निर्वासित हुँदा मित्रलाल गिरीको जग्गाजमिन सबै सरकारले कब्जा ग¥यो । मित्रलाल गिरी निर्वासित हुँदै गर्दा बालबच्चाको अध्ययनप्रति सबैको चासो केन्द्रित भयो । बालबच्चालाई कसको भरमा छोड्ने, उनीहरूलाई कसरी पढाउने भन्ने गन्थनमन्थन हुँदै गर्दा प्रदीप गिरीलगायत विद्यालयको अध्ययन पूरा हुन बाँकी रहेका अन्य सातआठ जनाको पठनपाठनको जिम्मा बहिदार साहेब भनिने एकराज सिंह दाहालले जिम्मा लिनुभयो । त्यसपछि प्रदीप गिरीलगायत उहाँका भाइबहिनीको अध्ययनको समस्या ट¥यो गिरी परिवारका लागि ।

२०४६ सालपछिको काँग्रेसका कार्यक्रमहरूमा उहाँलाई बोलाउनै छोडियो । कांग्रेसको सङ्गठन विस्तारको क्रममा धेरै पूर्वपञ्चलाई सदस्यता दिइए पनि जिल्लाले गिरीलाई सदस्यता दिएको थिएन । 

कुमुदरञ्जन बरालका अनुसार विद्यालयको अध्ययन पूरा भएपछि गिरी उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ जानुभयो । डाक्टर बन्ने इच्छा जागेर आईएस्सीमा भर्ना हुनुभयो । यसका लागि उहाँ कान्छा काका जयनारायण गिरीको घरमा बस्न थाल्नुभयो । तर जुनसुकै कुरामा तुरुन्तै फड्को मारिहाल्ने स्वभाव भएका गिरीलाई लुकाउन हम्मेहम्मे पर्यो कान्छा काका जयनारायण गिरीलाई । उहाँले मित्रलाल गिरीलाई चिठी लेख्नुभयो– ‘भतिजो प्रदीप गिरीलाई लुकाउन गार्हो पर्यो’ भनेर । त्यसपछि उताबाट खबर आयो, ‘यहीँ पठाइदिनू’ ।

खबर आएपछि गिरीलाई लिएर कान्छा काका जयनारायण गिरी सिराहा सदरमुकामको सीमावर्ती बजार भारतको जयनगर पुग्नुभयो । जयनगरमा मिर्चैयाका तत्कालीन व्यापारी रामएकवाल साहले भव्य घर बनाउनुभएको रहेछ । पञ्चायती व्यवस्था लादिएपछि निर्वासित भएका नेपालका नेता सबै रामएकवाल साहको ‘साह निवास’ मा पुगेका थिए । त्यहाँ गएपछि मात्रै थाहा भयो प्रदीप गिरीलाई कि उहाँको पिता मित्रलाल गिरी निर्वासित हुनुभएको, मन्त्री काका रुद्रप्रसाद गिरी जेल पर्नुभएको र बस्तीपुर तथा आसपासमा रहेका आफ्नो सबै जग्गाजमिन पञ्चायती सरकारले हडपेको । यसपछि किशोर अवस्थामा पुग्नुभएका गिरीले पञ्चायतविरुद्ध लड्ने अठोट  लिनुभयो । यो कुरा बुझ्नुभएका उहाँका पिता मित्रलाल गिरीले ‘अहिले व्यवस्थाविरुद्ध लड्नुभन्दा उच्चशिक्षा प्राप्त गर्नू’ भन्दै उहाँलाई बनारसतिर पठाइदिनुभयो । बनारसमा पुगेर उहाँले उच्चशिक्षा प्रारम्भ गर्नुभयो तर त्यही क्रममा उहाँको भेट बी.पी. कोइरालालगायत कोइराला परिवारका अन्य सदस्यसँग भयो । सुरुमै बी.पी. कोइरालासँग सुमधुर सम्बन्ध रहेका प्रदीप गिरीलाई बी.पी कोइरालाले आफ्नो सचिवालयमा राख्नुभयो । नेतृत्व क्षमता र मीठो भाषण शैलीका कारण तत्कालीन युवामाझ प्रदीप गिरी चर्चित बन्दै जानुभयो ।

२०३६ सालमा देशमा बहुदल र निर्दलबीच जनमत सङ्ग्रह हुने घोषणा भएपछि गिरी सिराहा फर्किनुभयो र बहुदलको पक्षमा गाउँगाउँमा प्रचारप्रसारमा जुट्नुभयो । यही क्रममा उहाँको नेपाली कांग्रेस सिराहाका तत्कालीन नेता माधवप्रसाद रेग्मीसँग भेट भयो । दुवै जना मिलेर स्थानीय जमिनदार तथा नेतासँगै भेट्दै बहुदलको पक्षमा मत माग्न थाल्नुभयो । नभन्दै त्यो बेला बहुदलको पक्षमा मत बढी पाउने जिल्लामा सिराहाले देशभरि नै पहिलो स्थान प्राप्त गर्यो । तर मुलुकभरको चुनावी परिणाम निर्दलको पक्षमा गएपछि गिरीसहित माधवप्रसाद रेग्मी पनि निर्वासित हुनुपर्यो । बहुदलको पक्षमा प्रचारप्रसार गर्दै गिरीको साथमा रहनुहुने उहाँका बालसखा गङ्गाबहादुर (बासु) राउतका अनुसार गिरीको विचार, चिन्तन र वाक्पटुताका कारण कट्टर पञ्च पनि बहुदलका पक्षमा लागेका थिए ।

गिरीले आफ्ना शुभचिन्तकहरू बोलाएर वृक्षरोपण गर्नुभयो । केही कुटी पनि बनाउनुभयो । त्यहीँ नेविसङ्घका स्थानीय नेता कार्यकर्ताहरूलाई प्रजातन्त्र र समाजवाद अनि गान्धीवादी दर्शनबारे प्रशिक्षण पनि दिनुभयो ।

निर्दलीय व्यवस्थाको विजय भएलगत्तै कांग्रेसका सबै नेता फेरि भारततर्फै निर्वासित भए । त्यही क्रममा कांग्रेसले नेपालभित्रै सशस्त्र सङ्घर्षको आन्दोलन थाल्यो । सशस्त्र सङ्घर्षकै क्रममा ओखलढुङ्गामा टिम्बुरबोटे काण्ड भयो । तत्कालीन मन्त्रिपरिषद्र तुलसी गिरीको नेतृत्वमा रहेकोले टिम्बुरबोटे घटनाको सम्पूर्ण दोष प्रदीप गिरीमा लाग्यो । यही कारण कोइराला परिवारसँग गिरीको सम्बन्ध चिसियो । ‘यदि प्रदीप दाइले चाहेको भए उहाँ पञ्चायती व्यवस्थामै तुलसी गिरीको साटो प्रधानमन्त्री भइसक्नुहुन्थ्यो तर उहाँमा सत्ताको लोभ कहिल्यै देखिएन’, टिम्बुरबोटे काण्डबारे गिरीका बालसखा बासु राउत भन्नुहुन्छ, ‘उहाँमाथि लगाइएको आरोप मिथ्या हो, सायद प्रदीप दाइको लोकप्रियतादेखि तर्सिएर कसैले पोल गरी दाइ र कोइराला परिवारबीच चिसोपन ल्याएको हुनुपर्छ ।’

त्यसपछि भने गिरीको बाटो साँच्चै नै सङ्घर्षमय भयो । तर आफूलाई सङ्घर्षशील नै ठान्ने गिरीले प्रजातन्त्रप्रतिको आस्था कहिल्यै छोड्नुभएन । २०४२ सालमा सत्याग्रहको आन्दोलनसम्म आइपुग्दा उहाँ नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष कृष्णप्रसाद भट्टराईको नजिक भइसक्नुभएको थियो । २०४३ सालको स्थानीय निर्वाचनको घोषणासँगै उहाँले तत्कालीन लहान नगरपञ्चायत, बस्तीपुर गाउँपञ्चायतलगायतका अन्य गाउँ पञ्चायतमा समेत प्रजातन्त्रवादी खेमा तयार पारिसक्नुभएको थियो । २०४६ सालमा प्रजातन्त्र पुनःप्राप्तिपछि त्यसको पाँच वर्ष उहाँले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा साँच्चिकै सास्ती नै खेप्नुभएको थियो । 

नेपाली कांग्रेस सिराहाका पुराना नेता सूर्यनारायण यादवका अनुसार, २०४६ सालपछिको कांग्रेसका कार्यक्रमहरूमा उहाँलाई बोलाउनै छोडियो । कांग्रेसको सङ्गठन विस्तारको क्रममा धेरै पूर्वपञ्चलाई सदस्यता दिइए पनि जिल्लाले गिरीलाई सदस्यता दिएको थिएन । उहाँलाई सदस्यता दिन चारैतिरबाट घेराबन्दी गरिएको थियो । घेराबन्दीकै क्रममा तत्कालीन महासमिति सदस्य रामप्रसाद मिश्रले २०४७ सालको अन्त्यतिर गिरीलाई नेपाली कांग्रेसको सदस्यता प्रदान गर्नुभयो । गिरीले सदस्यता प्राप्त गर्नुभएपछि सिराहामा एक किसिमको हङ्गामा नै उत्पन्न भयो । जिल्ला कार्यसमितिले मिश्रलाई स्पष्टीकरण नै सोध्यो । २०४८ सालमा मुलुकमा पहिलो पटक प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि गिरीले उहाँको जन्मभूमि बस्तीपुर पर्ने सिराहा क्षेत्र नं. १ बाट निर्वाचनमा प्रत्याशी बन्ने चाहना देखाउनुभयो । तर उहाँले टिकट पाउनुभएन । 

‘२०४८ सालको प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि गिरीको मन खिन्न भयो, के गर्ने, के नगर्ने भन्ने दोधारमा उहाँ पुग्नुभयो’, गिरी निकट तत्कालीन नेविसङ्घका जिल्ला सचिव डा. सञ्जय मिश्रले भन्नुभयो, ‘तर अध्ययनमा रुचि राख्ने भएकाले निर्वाचनपछि उहाँ बस्तीपुरकै आफ्नो घरमा बस्नुभयो । बस्तीपुरको बसाइको केही दिनपछि उहाँमा गजबको युक्ति फु¥यो र उहाँले हामीलाई बोलाउनुभयो ।’ गिरीको भनाइ उद्धृत गर्दै डा. सञ्जय मिश्रले भन्नुभयो, ‘मेरो नाउँमा रहेको खुट्टी खोला छेउमा १२ बिघा जग्गा छ, त्यहाँ वृक्षरोपण गरौँ, म त्यसमा कुटी पनि बनाउँछु र पछि ट्रष्टमा पनि राख्छु ।’ नभन्दै गिरीले आफ्ना शुभचिन्तकहरू बोलाएर वृक्षरोपण गर्नुभयो । केही कुटीहरू पनि बनाउनुभयो । त्यहीँ नेविसङ्घका स्थानीय नेता कार्यकर्ताहरूलाई प्रजातन्त्र र समाजवाद अनि गान्धीवादी दर्शनबारे प्रशिक्षण पनि दिनुभयो । 

‘गरिब, विपन्न तथा पिछडिएको वर्गको उत्थान गर्ने उहाँको सोच र योजना गजबको छ, उहाँको प्रेरणा नमिलेको भए म अहिले लहान नगरपालिकाको नगरप्रमुख हुने थिइनँ होला’, त्यहीँ प्रशिक्षण लिएकाहरूमध्ये एक लहान नगरपालिकाका वर्तमान नगरप्रमुख महेशप्रसाद चौधरी भन्नुहुन्छ, ‘कोरोनाको कहरको बेला त्यही आश्रममा बोलाएर उहाँले छाक टार्न नसक्नेहरूलाई राहत सामग्री वितरण गर्ने प्रेरणा दिनुभयो, राहत सामग्री वितरण गर्दै जाँदा मेरी पत्नीको कोरोनाकै कारण मृत्यु पनि भयो तर म पनि पछि हटिनँ, प्रदीप दाइको सपना पूरा गर्दै कोरोनाको प्रत्येक सङ्कटको बेला म गाउँ गाउँ पुगिरहेँ ।’

२०४८ सालदेखि स्थापना भएको उक्त आश्रमलाई विधिवत् सञ्चालन गर्न २०७० सालमा आश्रम कृषि सहकारी संस्था लिमिटेड बनाइयो । त्यसका लागि धनुषाका ब्रह्मदेव पण्डितलाई जिम्मा दिइयो । पण्डितले प्रदीप गिरीका पिता मित्रलाल गिरीको स्मरणमा मित्र आश्रम लेखिएको लेटरप्याड बनाउनुभयो । तर उहाँलाई यो कुरो मन परेन । ‘मैले यो आश्रम पिता वा पुर्खाका लागि खोलेको होइन, यो आश्रममार्फत समाजवाद र गान्धीवादको चर्चा हुनुपर्छ । त्यसैले गान्धीका सिद्धान्तहरूलाई सम्बोधन गर्ने गरी आश्रमको नामकरण गरौँ’, गिरीको उक्त कथनपछि फेरि आश्रमको नाम खोज्न थालियो । निकै छलफलपछि गान्धीको सिद्धान्तहरूमध्ये एक ‘स्वराज’ सँग जोडेर स्वराज ट्रष्ट स्थापना गरियो र यही ट्रष्टमार्फत विभिन्न कार्यक्रम सुरु गरियो । स्वराज ट्रष्टको नाममा अहिले पनि एउटा एम्बुलेन्स र दुई कठ्ठा जग्गा छ, त्यसमा बाँकी रहेका सबै जग्गा दिने कुरा पनि आएको थियो । तर ट्रष्टमा काम गर्ने पदाधिकारीको निष्क्रियतापछि उक्त ट्रष्ट ओझेलमा प¥यो । त्यसपछि नेता गिरी बिरामी पर्नुभन्दा अघि २०७९ सालको वैशाखमा ‘बस्तीपुर ट्रष्ट’ स्थापना गरियो । बस्तीपुर ट्रष्टका अध्यक्ष सुरेश गिरीका अनुसार आश्रमको सबै जग्गा ट्रष्टको नाममा हालेर त्यहाँ एउटा गरिब छात्राहरूका लागि छात्रावास, एउटा अनुसन्धान केन्द्र र ती सबै सञ्चालन गर्न सकिने आम्दानीको स्रोत जोहो गर्ने कुनै उत्पादनशील क्षेत्र सञ्चालन गर्ने गिरीको सोच थियो । तर अब त्यो पूरा हुन्छ कि हुँदैन । 

‘प्रदीप दाइले २०४८ सालमा टिकट पाउनुभएको भए शायद यो आश्रम पनि बन्दैनथ्यो होला । साधना मन मराउने प्रवृत्ति भएकै कारण उहाँले आश्रमको सपना बुन्नुभएको थियो’, डा. सञ्जय मिश्रको भनाइ छ, ‘२०५१ को मध्यावधि निर्वाचनमा हार्छ भनेरै उहाँलाई वामपन्थी गढको रूपमा मानिने सिराहा क्षेत्र नं. ५ मा टिकट दिइएको थियो तर उहाँले जित्नुभयो । जितेपछि आश्रमको गतिविधि केही समयसम्म रोकिन पुगेको थियो । पछि समानुपातिकबाट सांसद बन्नुभएपछि आश्रमसम्बन्धी योजना पुनः अगाडि बढ्न थालेको हो ।’ 

‘सिराहा क्षेत्र नं. १ र पूरै सिराहा जिल्लामा आश्रमको भूमिका महत्वपूर्ण छ  । पार्टी र विचार चिन्तनको सम्बन्धमा आश्रममा यथेष्ट कुरा राख्ने अवसर मिल्छ’, नेपाली कांग्रेसका केन्द्रीय सदस्य पद्मनारायण चौधरी भन्नुहुन्छ, ‘यही आश्रममा हो, एकपटक प्रदीप दाइले मलाई भन्नुभयो, जन्म मेरो यहीँ भएकोले मलाई एकपटक यस क्षेत्रबाट लड्न दिनुस्, तपाईं समानुपातिकमा जानुस्, मैले पनि भनेँ हुन्छ दाइ ।’ नभन्दै गिरी पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा सिराहा क्षेत्र नं. १ बाटै प्रत्याशी हुनुभयो । ‘सायद आफू जन्मेको क्षेत्रबाट लड्ने अवसर पाएपछि उहाँले आफ्नो राजनीतिक सपना पूरा भएको महसुस गर्नुभएको थियो र निर्वाचनको प्रचारप्रसारको क्रममा उहाँ भन्ने गर्नुहुन्थ्यो– म यो रणको अर्जुन हुँ, पद्मनारायणजी मेरो सारथि कृष्ण हुनुहुन्छ’, केन्द्रीय सदस्य चौधरी भावुक हुँदै भन्नुहुन्छ–‘नभन्दै त्यो युद्धमा सिराहाको सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएको अवस्थामा प्रदीप दाइले विजय प्राप्त गर्नुभयोे ।’    

Author

सन्तोष सुवेदी