विधागत धेरै जसो कृति निश्चित सूत्रमा देखिन्छन् । लय र शृङ्खला ठम्याउन सकिन्छ । कतिपय कृतिको लय तथा सृजना असाध्य प्रकृतिका हुन्छन्; ठम्याउन सकिन्न, कठिन पनि पर्छ । लेखकले त्यस्ता कृतिको परिकल्पना कसरी गर्छन् ? सबैले देखेको विषयवस्तुको साधारणदेखि चुरो कुरा समातेर पुस्तकाकार दिन्छन् । त्यति मात्र कहाँ हो र ? सबैले देखेको र भोगेको विषयवस्तुलाई सिलसिला मिलाउने अलग्गै दृष्टिकोण पनि विम्बित हुन्छ ।
गान्धीराज काफ्लेको हालै प्रकाशित पुस्तक सुस्वास्थ्य यस्तै विरालाकोटिमा पर्ने कृति भन्न सकिन्छ । सुस्वास्थ्यसँगै मनोबल, चिन्तन र व्यक्तित्वसमेत जोडिएको यो कृति व्यक्तिका बहुआयामिक पक्षको शिरा र धमनीसम्म पुग्छ । यो सृजनाका पछाडि लेखक काफ्लेले आफ्नै स्वास्थ्यलाई आधारसमेत बनाउनुभएको देखिन्छ । स्वास्थ्यका आयामलाई गहन खोजीको विषय बनाउँदै सांसारिक जीवनका विशिष्ट व्यक्तित्व र तिनका अनेक अन्तरकुन्तर विषयमा काफ्लेको प्रवेश अनौठो छ । गहिरो तवरले जीवनरेखा पछ्याउनुभएको छ । कृति अलग्गै देखिएको मात्र छैन, अनेकौँ विशिष्टताले भरिपूर्ण भएकाले पठनीय हुन सकेको छ । ससाना भाषागत र मसिना केही कमी भए पनि तिनलाई विषयवस्तुको ओजले छपक्कै पारेको छ । अध्ययन गर्नेले ज्ञानको क्षितिजसमेत फराकिलो भएको पाउन सक्छ ।
पुस्तकको विषयसूची दुई खण्डमा विभक्त छ । पहिलो खण्डले स्वस्थ व्यक्तित्वको व्यक्तिपरक नेती समातेको छ । विषयवस्तु मथेर नौनी निकाल्ने यत्न छ । यसमा नेपाल र विश्वका १४ जना विशिष्ट व्यक्तिको जीवनरेखाका तरेली केलाउनु सजिलो काम थिएन । यसरी व्यक्तित्वको बहुआयाम र खास गरी स्वास्थ्य तथा मनोबलको आयाम समात्नु सरल काम पक्कै होइन । दोस्रोमा विचार खण्ड छ । स्वास्थ्य विचार खण्ड अनमोल नै मान्न सकिन्छ । पतञ्जलीय अष्टाङ्ग योगदेखि महर्षि चरकको गहिराइ ज्ञानसम्म समेटिएको छ । दुवै खण्डको सार्थक सार भन्नु नै मानिस कसरी स्वस्थ रहने होला ? बिरामी भएर अस्पताल धाउनुभन्दा कसरी अस्पताल र चिकित्सकभन्दा टाढै बस्ने ? रोग लागेपछि मात्र होइन, असाध्य रोगमा पनि औषधोपचारसँगै कसरी उच्च मनोबलले जीवन जिउने ? यस्ता अनेक बहुसान्दर्भिक सारभूत कलालाई अनेक भाव र व्यावहारिक कसीमा सचित्र जानकारी खोज्नु चानचुने कुरा थिएन । यो लेखकीय यत्न स्वस्थ जीवनको खोजीमा भौँतारिइरहेका मानिसका निम्ति जिजीविषा हुन सक्छ । कतिको रोग त पुस्तक पढेर पनि आधाउधी शान्त हुन सक्छ ।
लेखक बच्चैदेखि आफ्नो स्वास्थ्य राम्रो हुन नसकेको ठान्नुहुन्छ । अझ भनौँ, आफ्नो पिलन्धरे स्वास्थ्यको डोरी समाएर बच्चैदेखि भौँतारिएको ठम्याइ यो कृतिको रहस्य र जग पनि हुन सक्छ । जति तागतिलो खानपान गरे पनि जीवनमा ४५ किलो तौल नपुगेको तितो अनुभव उहाँसँग छ । रोग, डाक्टर र औषधीको सहाराको त कुरै नगरौँ; आफैँलाई जान्ने उमेरदेखि नै उहाँको स्वास्थ्यप्रति परिवारको ठुलो चिन्ता देखिन्छ । अङ्ग्रेजी पत्रकारिता, अझ भनौँ गोरखापत्र दैनिकको सहप्रकाशन दी राइजिङ नेपालको तीन दशक चानचुन पत्रकारिता अभ्यासमा पनि उहाँको स्वास्थ्यमा खासै प्रगति हुन सकेन । बरू अनेक पटक चिकित्सक र अस्पताल धाउनु परेका अनुभवका पत्रैपत्र छन् उहाँसँग ।
लामो जीवनमा स्वास्थ्य समस्या अनेक आउँछन् । पत्रकारिता जीवनमा भोगेको समस्या मात्र होइन, त्यसअघि जन्मथलो रामेछापको त्यो अनकन्टार गाउँदेखि जनकपुरमा उच्च शिक्षा थालनीको क्रमसम्मका अनुभवको गाँठा उहाँले फुकाउनुभएको छ । जीवनले भोगेका स्वास्थ्य समस्याका तस्बिर समेट्ने यत्न अरूका निम्ति सुझाव पनि हुन सक्छ । त्यसै क्रममा गान्धीराज काफ्ले अर्का महान् व्यक्तित्व महात्मा गान्धीको जीवनचरित्रका अनेक पुस्तक पढ्नुहुन्छ । ती महान् अहिंसावादी महात्माले जीवनलाई प्रयोगशाला बनाएका अनेकौँ आयामलाई नजिकबाट छिचोल्दै पुस्तकमा अंश आरम्भ भएको छ । बेलायती उपनिवेशलाई अहिंसाको चुनौतीले परास्त गर्ने मोहनदास महात्मा बन्नु सजिलो काम थिएन । कसरी सम्भव बनाए ? पुस्तकमा सार पनि खिँच्ने प्रयास गरिएको छ ।
गान्धीबाट आरम्भ भएको स्वास्थ्य चरित्रचित्रणलाई केही नेपाली उच्च नेतृत्वसम्म आइपुगेको छ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीसम्मको स्वास्थ्य तथा बहुआयामिक राजनीतिक क्रान्तिको वर्णन र विश्लेषणका अनौठा पाटा छन् । राजनीतिक सङ्घर्षका क्रममा कपितय स्वास्थ्य जटिलतालाई पचाउन सक्ने ती राजनेता वास्तवमै उच्च कोटिको देख्न सकिन्छ र त्यो अब इतिहासका पाना पनि भइसकेका छन् । समेटिएका ती सबै राजनेता यतिबेला यो धर्तीमा छैनन् तर उनैका योगदानले नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कच्ची सडकमा सवारी अगाडि बढाउँदै छ । बिपी कोइराला क्यान्सर जस्तो असाध्य रोग देखिएको साढे तीन दशक हाराहारीमा पनि कहिल्यै क्रान्तिबाट नथाक्ने पात्र र प्रवृत्तिको विवेचना छ । रोगव्याधिबाट राजनीति र साहित्य जीवनलाई दुष्प्रभाव पार्न नदिएका बिपीका अनेक रहस्य खोतलिएको छ । त्यस्तै राणाकालदेखि पञ्चायतसम्म अनेक हन्डर खाएर पनि कहिल्यै कसैसित सम्झौता नगरी गणेशमान सिंहले लिएको नेतृत्वको अवयव उदाहरणीय तवरले देखाइएको छ । सानोतिनो रोगमै अत्तालिने अहिलेको मानिसलाई पुस्तक पढेर हिउँदको ठिहीमा पारिलो घामको राप जस्तो हुन्छ । आफ्नो स्वास्थ्यप्रति आफैँ सचेत हुनुपर्ने शिक्षा पनि लिन सक्छ ।
राजनेताको स्वस्थ जीवनचरित्रमा मात्र पुस्तक सीमित छैन; वीरनारायण माझीले बाँचेका भनिएको झन्डै डेढ सय वर्षको जीवनका अनेक आयामको चुरो खोतल्ने अब्बल काम लेखकले गर्नुभएको छ । सामान्य ग्रामीण परिवेशका वीरनारायण आधुनिक चिकित्साबिना पनि कसरी त्यति लामो जीवन बाँच्न सके ? उत्तर खोज्ने भगीरथ प्रयास गरिएको छ । भारतका पूर्वप्रधानमन्त्री मुरारजी देसाईको जीवनमा स्वपरीक्षणका कतिपय विषयवस्तु आधुनिक विज्ञानको कसीमा बेग्लै अर्थ लाग्न सक्लान् । कतिपयलाई लाजघिन पनि लाग्ला तर यथार्थ त्यही हो; जुन लेखकले हरफ हरफमा सुस्पष्ट पार्न खोज्नुभएको छ । महान् साहित्यकार लियो टाल्सटोयको जीवनका घनचक्करको स्वाद अझै राम्ररी लिन सकिन्छ ? मनोविश्लेषक र विश्व यौन साहित्यका सम्राट् फ्रायडका स्वास्थ्य तर्क र मनोविश्लेषण उच्च कोटिले समेटिएको छ ।
जीवनका लाख प्रतिकूल भोगेर पनि चम्किन सफल हेलेन केलरको जीवन अवयव कसका निम्ति प्रेरणाको पाठ हुँदैन र ? त्यसै गरी वैभवशाली जहाङ्गिर टाटाको जीवन गहिराइले धनले मात्र स्वास्थ्य खरिद गर्न नसकिने सुस्पष्ट गर्छ । अहिले विश्वभर फैलिएको विपश्यना ध्यानका सर्जकको गहिरो जीवनकथा करुणामय छ । माइग्रेन रोगबाट सानै उमेरदेखि थलिएका गोयन्काको जीवन उत्तरार्ध विपश्यना ध्यानको उद्भवले मात्र सन्तुष्ट भएन । त्यसको विकास र विस्तारमा खर्चिएको सयम र लगानीले मानव सेवा नै सम्पूर्ण धर्म हो भन्न डराउनुपर्ने छैन । त्यसै क्रममा बिस्मार्कको जीवन पनि उत्तिकै सरसपूर्ण छ । पढ्दा उत्साह आउँछ । सम्भ्रान्त जीवनशैली भएर पनि आफ्नै कर्मका विजेता बिस्मार्कको जीवन उस्तै अनौठो पाउन सकिन्छ ।
स्वास्थ्य विचार खण्डमा पतञ्जली योगाभ्यास स्वस्थ व्यक्तिको असल कार्यमूलक चरित्र भएर देखा परेको छ । लेखक पतञ्जलीमा मात्र नअडिई महर्षि चरकको दृष्टिकोणसम्म पुग्नुभएको छ । आधुनिक चिकित्सा त केही सय वर्षको उपलब्धि मात्र हो । परम्परागत जडीबुटी तथा वैद्य औषधीमा संसारले लामो यात्रा गर्न सकेको यथार्थ पढ्न पाइन्छ । आधुनिक चिकित्साबाट आत्तिएको पश्चिमा जगत्समेत पूर्वीय सभ्यताको यो लामो परम्परातिर आकर्षित देखिन थालेको विषयले पनि पुस्तकलाई थप रोचक बनाएको छ । सकारात्मक चिन्तनदेखि आहारविहारको अभ्याससम्मले मानिसलाई आफ्नानिम्ति आफैँ अब्बल चिकित्सक बन्न सक्ने आधार दिन खोजेको छ । अन्नपानी र हावा आदिको सान्दर्भिक स्वास्थ्य ज्ञानले पुस्तक समृद्ध छ । यति भन्दाभन्दै पनि पुस्तक कमजोरीबाट सम्पूर्ण रूपमा मुक्त छ चाहिँ भन्न सकिन्न, सुधारका सम्भावना पनि हुन सक्ने छन् । कतिपय ठाउँमा पुस्तक सरर बग्न सकेको छैन । विषयवस्तु अल्झिएका छन् । जेलिएका छन् । सरसपूर्ण स्वाभाविक बगाइमा अवरोध पनि देख्न सकिन्छ । विषयवस्तु खप्टिएका छन् । कतिपय विषय अनावश्यक र दोहोरोसमेत पर्न गएको अनुभूति पाठकले गर्न सक्छन् । भाषा र व्याकरण राम्रो छ तर अझै सुधार्न सकिने ठाउँ पनि छ । ओरिएन्ट प्रकाशनले प्रकाशन गरेको यो पुस्तकको मोल ४४५ रुपियाँ छ । साहित्यसेवी गान्धीको यो पुस्तक स्वास्थ्य साहित्यमा थप इँटा बनेको छ ।