धीरेन्द्रप्रसाद साह
राजविराज, वैशाख २६ गते । सप्तरी प्रहरीले विभिन्न १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले अभद्र व्यवहार मुद्दामा तीन, मुद्रासम्बन्धी कसुरमा दुई तथा अदालतबाट कैद सजाय र जरिवाना तोकेपछि कुटपिट मुद्दामा फरार पाँच जना, मोबाइल चोरीका एक जना, लागुऔषध मुद्दाका एक जना र दुई जना आपराधिक उपद्रव मुद्दाका सहित १४ जना प्रतिवादी पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
आइतबार राति राजविराज नगरपालिका–९ क्षेत्रमा गस्तीमा रहेको प्रहरी टोलीसँग अभद्र व्यवहार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ निवासी २१ वर्षीय आदित्य पाण्डेलाई पक्राउ गरिएको छ ।
घाइते अवस्थामा भेटिएका उनलाई सोधपुछ गर्दा प्रहरीमाथि अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेपछि पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पुरीले जानकारी दिनुभयो ।
यस्तै, राजविराज नगरपालिका–६ स्थित नेता चोकमा सडकमा होहल्ला गरिरहेको अवस्थामा भेटिएका जिल्लाको विष्णुपुर गाउँपालिका–६ निवासी १२ वर्षीय संजिव साह र सुनसरी बरजू गाउँपालिका–५ निवासी २६ वर्षीय शिवनारायण पण्डितलाई पनि अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार सम्झाइबुझाइ गर्दा उनीहरूले प्रहरीमाथि हातपात गर्न खोज्दा पक्राउ गरेका थिए ।दुवै जनामाथि पनि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी मुद्रासम्बन्धी कसुरमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११, सखुवा टोल निवासी २२ वर्षीय विवेककुमार पण्डित र सोही स्थानका २२ वर्षीय सचिनकुमार यादव पक्राउ परेका छन् ।
सोही नपाको वार्ड नं.१४ मल्हनिया क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०६–००१ प. ०९९५ नम्बरको रोयल इनफिल्ड मोटरसाइकलमा सवार उनीहरूको साथबाट एक हजार दरका सात थान नेपाली जाली नोट बरामद भएपछि पक्राउ गरिको हो ।
पक्राउ परेकामाथि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यसैबिच, फैसला कार्यान्वयनका क्रममा सप्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका डाक्नेश्वरी नगरपालिका–३ निवासी सबदलाल मुखिया, शम्भुकुमार मुखिया र संतोषीदेवी मुखियालाई पक्राउ गरिएको छ ।
उनीहरू कुटपिट मुद्दामा दोषी ठहर भई जनही पाँच सय रुपियाँ जरिवाना र पाँच सय रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसलापछि फरार भएका थिए । त्यसैगरी साविक कबिलासा गाविस–९ हाल डाक्नेश्वरी नगरपालिका–१ निवासी भुपेन्द्र साह र विनोद साहलाई लुटपाट तथा कुटपिट मुद्दामा पक्राउ गरिएको छ ।
दुवै जनालाई जनही ११० रुपियाँ जरिवाना तोकिएको थियो । त्यस्तै पक्राउ परेका शम्भुनाथ नगरपालिका–१२ निवासी दिनेशप्रसाद साहमाथि मोबाइल चोरी मुद्दामा दुई सय रुपियाँ जरिवाना तोकिए छन भने राजविराज नगरपालिका–१ निवासी महेशप्रसाद यादव लागुऔषध मुद्दामा दुई दिन कैद सजाय पाएका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, राजविराज नगरपालिका–१ निवासी सनोज यादव र राजविराज नगरपालिका–११ निवासी अमितकुमार यादवलाई आपराधिक उपद्रव मुद्दामा पक्राउ गरेका छन् । उनीहरूलाई जनही दुई हजार रुपियाँ जरिवाना तथा एक महिना कैद सजाय तोकिएको थियो ।
अदालतबाट सजाय तोकिएपछि फरार रहेका नौ जनालाई सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको प्रनाउ पुरीले जानकारी दिनुभयो । अभद्र व्यवहार मुद्दाका तीन तथा मुद्रासम्बन्धी कसुरमा दुई जना गरी पाँच उपर थप अनुसन्धान अघि बढाइएको हो ।