शिवशङ्कर मिश्रा
बारा, वैशाख २६ गते । बाराको निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा आज एक युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवँरका अनुसार निजगढ नगरपालिका–१२, कोलगाउँ निवासी १९ वर्षीया सीता थिङ होटलको कोठाभित्र अचेत अवस्थामा फेला पर्नुभएको थियो ।
उहाँलाई उपचारका लागि राति करिब ११ बजे निजगढ सामुदायिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा युवतीको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशङ्का गरेको जनाएको छ ।
घटनापछि होटलमा उनीसँगै बसेका दुई पुरुष र एक महिलालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको परिचय अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सार्वजनिक गरिएको छैन ।
घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरिएको र शव पोस्टमार्टमका लागि तयारी अवस्थामा राखिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ ।
घटनाले निजगढ क्षेत्रमा त्रास र चासो बढाएको छ, स्थानीयले होटल तथा सार्वजनिक स्थलको निगरानी प्रभावकारी बनाउन माग गरेका छन् ।
प्रहरीले घटनासम्बन्धी सबै पक्षबाट अनुसन्धान भइरहेको र दोषी भेटिए कानुनी कारबाही गरिने जनाएको छ ।