• २६ वैशाख २०८३, शनिबार

‘सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

blog

रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुली

काठमाडौँ, वैशाख २६ गते ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ ।

रास्वपाले शनिवार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सांसद कम उपस्थित भएका हुन् ।रास्वपाका १८२ जना सांसद छन् तर प्रशिक्षण कार्यक्रममा सांसद कम उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजानिक रुपमा नै असन्तुष्टि जनाउनुभएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्दै उहाँले सांसदले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउनुभयो ।उहाँले प्रशिक्षणमा अपेक्षित उपस्थिति नदेखिएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई प्राथमिकतामा नराख्नु संसदीय भूमिकाबाट विमुख हुने सङ्केत भएको बताउनुभयो ।

उहाँले पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्याकंन, अनुभव आदानप्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको बताउनुभयो ।

तर यस्ता कार्यक्रममा सबै सांसद उपस्थित नहुनु गम्भिर विषय रहेको उहाँको भनाइ छ । पराजुलीले यसको पार्टी र संसदीय दलले मूल्याङ्कन गर्ने चेतावनी समेत दिनुभयो ।

जनताले केवल नयाँ अनुहार नभई नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकोले सांसदले अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

अब राजनीति केवल नाराले मात्रै नचल्ने भन्दै उहाँले क्षमता, अध्ययन र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो।

उहाँले जनताले अब ‘कसले के भन्यो’ भन्दा ‘कसले के गर्‍यो’ भन्ने आधारमा मूल्याङ्कन गर्न थालेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“जनताले केवल नयाँ अनुहार होइन, नयाँ सोच, संस्कार र कार्यशैली खोजिरहेका छन् । राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्ने जनअपेक्षा अहिले बलियो बनेको छ । यस्तो समयमा जनताबाट प्राप्त विश्वासलाई परिणाममा बदल्ने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । हामीले राजनीतिमा नयाँ पुस्ताको उर्जा, पारदर्शिता, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास गर्नुपर्ने आवश्यकता छ । संसद र संसदीय समितिको प्रभावकारी भुमिका, पार्टी र सरकारबीचको समन्वय, संसदीय मर्यादा, आचरण र विषयगत तथ्यमा आधारित बहस, जनतासँग जोडिएको उत्तरदायी व्यवहार तथा प्रभावकारी नेतृत्व विकासको अपेक्षा हामीले राखेका छौँ । आजको राजनीति केवल नाराले चल्दैन, क्षमता, तयारी, अध्ययन र परिणामले चल्दछ । जनताले अब कसले के भन्यो भन्दा पनि कसले के गर्यो भन्ने मुल्यांकन गर्न थालेका छन् । त्यसैले हामी सबैले आफूलाई निरन्तर सक्षम, जिम्मेवार र जनमुखी बनाउदै लैजान अति आवश्यक रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई आफ्नो मुल आधार बनाएको छ । पार्टीको वाचा पत्र, सरकारका १ सय प्राथमिकता तथा जनतासँग गरेका प्रतिवद्धताहरुलाई व्यवहारमा उतार्न सक्षम सांसद र सशक्त संसद् आवश्यक रहेको छ । यो प्रशिक्षण केवल औपचारिक कार्यक्रम होइन, यो आत्ममुल्यांकन गर्ने, सिक्ने, अनुभव आदानप्रदान गर्ने र भविष्यको राजनीतिक संस्कार निर्माण गर्ने अवसर पनि हो । हामीले आयोजना गरेको यो कार्यक्रम ११ बजेबाट शुरु गर्ने तय गरिएको थियो । संसदीय दलमा निरन्तर सूचना प्रवाह भएको थियो तर मैले सबै सांसदहरू यहाँ उपस्थित भएको देखेको छैन ।संसदीय दलको उप–नेताको हैसियतमा म यहाँहरुलाई केही अनुरोध गर्न चाहन्छु, पार्टीले विशेष गरि संसदीय दलमा उपस्थित हुनुभएका सबै सांसदको क्षमता विकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्व दिइनु र त्यसपछि आफ्ना अन्य कामलाई प्राथमिकतामा राखिनु भनेको संसदीय भूमिकाबाट बिमुख हुने प्रयास गर्नु हो । पार्टी र संसदीय दलको तर्फबाट यी कुरालाई मुल्यांकन गरिनेछ ।”

उहाँले प्रशिक्षणको अन्तिमसम्म सहभागी भई यसको प्रभावकारिता मूल्याङ्कन गर्न र कमजोरी सुधारका सुझाव दिन पनि सांसदलाई आग्रह गर्नुभयो ।

प्रशिक्षण कार्यक्रम केवल सुरुवात मात्र भएको र आगामी दिनमा थप विषय समेटेर नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।उहाँले आगामी अधिवेशन र बजेटको व्यस्ततालाई ध्यानमा राख्दै केही सत्रहरू स्थगित गरिएको बताउनुभयो ।