चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २६ गते । ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।
हिमाली जिल्ला ताप्लेजुङमा पछिल्लो केही सातायता वर्षा भने दिनहुँजसो भइरहेको छ । बर्खायाम सुरु भएसँगै वैशाख पछि वर्षा हुनु, हावाहुरी चल्नु र चट्याङ पर्नु स्वाभाविक मानिन्छ । हिजोआज बेमौसमी हिमपात हुनु भनेको अस्वाभाविकजस्तै हो ।
पछिल्लो समय दिनहुँ वर्षा भइरहेको र शुक्रबार राति भने वर्षासँगै उच्च हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको मिल्के जलजले क्षेत्र, मिक्वा खोलाको तोक्पेगोला लोदेन क्षेत्र, मानाभरासहित उच्च हिमाली भेगमा हिमपात भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बेमौसमी हिमपातका कारण उच्च हिमाली भेगहरु सेताम्मे भएका छन् ।
यस्तै तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि शुक्रबार राति बाक्लो हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धाम परिसरभन्दा निकै तल्लो भागसम्म नै हिउँ परेको छ । हिउँसँगै असिनासमेत परेको महतले जानकारी दिनुभयो ।
समितिका कर्मचारी महतका अनुसार पाथीभरा क्षेत्रमा हिमपात भएपछि कतिपय तीर्थयात्रीलाई केही असहज भएको छ भने अधिकांसले पाथीभराको दर्शनसँगै हिउँमा खेल्न र रमाउन पाउँदा खुसी व्यक्त गरेका छन् । यता अहिले पर्यटकीय मौसम भएकाले निरन्तर वर्षा हुने र बेमौसमी हिमपात भइरहेमा पर्यटन क्षेत्रमा असर पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।
यसैगरी शनिबार बिहानैदेखि मौसम खुलेर घाम लागेको भए पनि दिउँसो करिब २:०० बजे पछिदेखि मौसममा बदली आई पानी पर्न थालेको छ । वर्षाको क्रम अर्थात निरन्तर पानी परिरहेकाले मौसम चिसो हुँदै गएको र अझै बेमौसमी हिउँ पर्नसक्ने स्थानीयले अनुमान लगाउँदै आएका छन् ।