विदुर आचार्य
चौतारा, वैशाख २६ गते । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणलाई लक्षित गर्दै ‘पाँच पोखरी कोशेली घर’ सञ्चालनमा छ ।
हिमाली क्षेत्र पाँच पोखरीमा उत्पादित कृषि तथा पशुजन्य सामग्रीहरू एकै स्थानबाट उपलब्ध हुन थालेपछि स्थानीय किसान तथा उद्यमी उत्साहित बनेका छन् ।
बागमती प्रदेश सरकार र गाउँपालिकाले चालु आर्थिक वर्षमा औपचारिक रूपमा उद्घाटन गरे पनि कोशेली घर केही वर्ष अघिदेखि सञ्चालनमा रहेको थियो । गाउँपालिका अध्यक्ष टासी लामाले स्थानीय उत्पादनमार्फत आयआर्जन वृद्धि गर्ने उद्देश्यका साथ कोशेली घर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कोशेली घरमा हिमाली क्षेत्रमा उत्पादित चौँरी गाईको छुर्पी, घ्यू, गहुँ, कोदो, मकै, फापर, आलु, फलफूल, तरकारी तथा अन्य कृषि उत्पादन उपलब्ध छन् । साथै स्थानीयवासीले निर्माण गरेका गलैँचा, चकटीलगायत हस्तकलाका सामग्रीहरू पनि बिक्रीका लागि राखिएका छन् । कोशेली घरमा उपलब्ध सामाग्रीहरुको मात्रा र गुणस्तर सुनिश्चित गरिएको छ ।
कोशेली घरसँगै गाउँपालिकाले सूचना केन्द्रसमेत सञ्चालनमा ल्याएको छ । सूचना केन्द्रमार्फत पाँच पोखरी क्षेत्रको पर्यटनसम्बन्धी जानकारी, मार्गदर्शन तथा आवश्यक विवरण उपलब्ध गराइँदै आएको गाउँपालिकाले जनाएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुगेको गाउँपालिकाले विश्वास गरेको छ ।
गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीका अनुसार कृषि उत्पादन वृद्धि, बजारीकरण र आधुनिकीकरणमा गाउँपालिका सक्रिय रूपमा लागेको छ । उहाँले अथाह सम्भावना हुँदाहुँदै पनि कृषि क्षेत्रमा अझै विभिन्न चुनौतीहरू रहेको बताउनुभयो ।
विशेषगरी किसानहरूले भोगिरहेको रासायनिक मल अभावको समस्या सङ्घीय आपूर्ति व्यवस्थासँग जोडिएको उल्लेख गर्दै स्थानीय र प्रदेश सरकारले सहजीकरण तथा समन्वय गरिरहेको जानकारी दिनुभयो ।
उहाँले स्थानीय तह तथा किसानहरूलाई कृषि क्षेत्र सुधारका लागि आवश्यक योजना तथा कार्यक्रमबारे स्पष्ट माग अघि सार्न आग्रह गर्दै पाँच पोखरीको भौगोलिक अवस्था अनुसार मौसमी बाली, पशुपालन र पर्यटनसँग जोडिएको कृषि प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका अध्यक्ष लामाले ‘कोशेली घर’ स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणका लागि महत्त्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार खाल्डे खोलामा दैनिक रूपमा खाद्य तथा उपभोग्य वस्तुको गुणस्तर परीक्षण गरिँदै आएको छ, जसबाट सुरक्षित उपभोग सुनिश्चित गर्ने प्रयास भइरहेको छ ।
गाउँपालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्दै अखाद्य वस्तुलाई गाउँपालिका सीमाभित्र प्रवेशमा रोक लगाउने व्यवस्था लागु गरेको जनाएको छ । बाहिरबाट ल्याइने सामग्रीको गुणस्तर र मात्रा परीक्षणपछि मात्रै गाउँपालिकाभित्र प्रवेश अनुमति दिने नीति गत आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको हो ।
स्थानीय उत्पादनको गुणस्तर र मात्रा सुनिश्चित गरी कोशेली घरमार्फत बिक्री वितरण गरिँदै आएको छ । यसबाट स्थानीयवासीको आयस्रोतमा वृद्धि हुनुका साथै अनावश्यक खर्चमा कमि आएको गाउँपालिकाको दाबी छ ।
स्थानीय सरकारले लागु गरेको स्वास्थ्य तथा खाद्य सुरक्षासम्बन्धी नीतिले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पारेको उपाध्यक्ष अधिकारीले बताउनुभयो ।