दोलखा, वैशाख २६ गते । दोलखा चेस होम नेपालको आयोजानमा वैशाख २८ देखि जेठ २ गतेसम्म छैटौँ खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगितामा क्लासिकल र र्यापिड गरी दुई स्पर्धा समावेश गरिएको प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक गोविन्दमान श्रेष्ठले जानकारी दिनुभयो । उक्त अवसरमा दोलखा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष उद्धव पोखरलले प्रतियोगिताको ट्रफी तथा मेडल सार्वजनिक गर्नुभयो ।
चरिकोटस्थित सिम्पानी सभाहलमा सञ्चालन हुने प्रतियोगितामा नेपालसहित अमेरिका, रसिय, चाइना, मङ्गोलिया, फिलिपिन्स, भारत, बङ्गलादेश, श्रीलङ्का लगायतका १० राष्ट्रका उत्कृष्ट ग्रान्ड मास्टर खेलाडीको सहभागीता रहने छ ।
नेपालबाट च्याम्पियन एफएम रुपेश जैसवाल २१०३ रेटिङसहित तीन सय ५० जना खेलाडीको सहभागिता रहने छ । विश्व बुद्धिचाल महासङ्घ (फिडे), एसियन चेस फेडेरेसन (एआइसिएफ), नेपाल बुद्धिचाल महासङ्घ(एनसिएफ)को तत्त्वावधानमा हुने प्रतियोगितामा २५ लाख ५२ हजार रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।
विजेता खेलाडीलाई ६ लाख ६७ हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता फिडे इभेन्ट कोर्ड ४७१७९१ मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमुख निर्णायक एवं नेपाली अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापतिले सञ्चालन गर्नुहुने छ ।
मोफसलमा खेल आयोजना गरी खेल विकास तथा स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुर्याउने लक्ष्यका साथ आयोजना हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहता, महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, स्थानीय पालिकाका जनप्रतिनिधिलगायतको सहभागिता रहने छ ।