• २६ वैशाख २०८३, शनिबार

मृत्यु-उत्सव कविता कृति लोकार्पण

blog

काठमाडौँ, बैशाख २६ गते । कवि शेखर ढुङ्गेलको कविता कृति मृत्यु-उत्सवको लोकार्पण भएको छ । साहित्यिक पत्रकार संघले आज काठमाडौँमा मृत्यु-उत्सवको सामूहिकरूपमा लोकार्पण गरेको हो । 

साहित्य प्रेमी प्रमुख आमन्त्रित रहेको कार्यक्रममा चर्चित कलाकार मदन दास श्रेष्ठ, जरामा अर्थ खोज्ने कलाकार तथा कवि नरेन्द्र बहादुर श्रेष्ठ, समालोचक प्रमोद प्रधान, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, कवि गोविन्द गिरी प्रेरणा, इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा वित्यासी, अनेसास के.स.तारा उप्रेती (क्यानडा) तथा सर्जक साबु गदाललगायतको उपस्थिति रहेको थियोे । 

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा कविता कृति मृत्यु-उत्सवका भूमिका लेखकसमेत रहेका समालोचक प्रमोद प्रधानले लोकार्पित कृतिका बारेमा संक्षेपमा प्रकाश पार्दै समीक्षात्मक टिप्पणी पेश गर्नुभएको थियो । 

टिप्पणीका क्रममा उहाँले मृत्युलाई उत्सवका रूपमा देख्नु भनेको आध्यात्मिक कुरा भएको बताउनुभयो । ढुङ्गेलका कवितामा स्वदेश मोह, देश प्रेम, देशमा भएका बेथिति, भ्रष्टाचारका कुरा र जीवन दर्शनसँग सम्बन्धित व्यङ्ग्य चेतना रहेको बताउनुभयो । कविता कृतिभित्र ८३ वटा कविता रहेको बताउँदै उहाँले देश बाहिर पनि अर्को नेपाल रहेको र बाहिरको नेपालमा बसेर साहित्यको सृजना गर्नु पनि एउटा ठूलो उपलब्धि भएको बताउनुभएको छ । 

लेकालीले आफ्नो स्वागत मन्तव्यमा ५३ वर्ष पूरा गरी ५४ औँ वर्षमा प्रवेश गरेको साहित्यिक पत्रकार संघको विगत कोट्याउँदै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनमा पुर्याउँदै आएको योगदानको चर्चा गर्नुभएको थियो । मुलुक हाल परिवर्तनको संघारमा रहेको र देश समृद्धिको बाटोमा रहेको उहाँको भनाइ छ । 

“के लेखेँ के लेखेँ जस्तो लागेको थियोे तीन जना स्रष्टाले मेरो कविता वाचन गरेर सुनाएपछि र समालोचक प्रधानले मेरो कविताका बारेमा बोलेपछि भने केही लेखेको रहेछु भन्ने महसुस भयो ।” लेखकीय मन्तव्य राख्दै कवि शेखर ढुङ्गेलले भन्नुभयो,“कृतिका बारेमा बोल्दै उहाँले मृत्युदेखि डर हटाइ दियो भने मृत्यु उत्सव हुन्छ जस्तो लाग्छ ।” भूतलाई छाडिदिने र वर्तमानमा जिउने हो र मृत्युको डर हट्यो भने नकारात्मक सोच हराएर नयाँ उर्जा आउने उहाँको भनाइ छ । 

लोकार्पित कृतिभित्रबाट कवि सुमन थापा सङ्गमले कविता वाचन गरेर सुनाउनुभएको थियो । कवि गीता कार्कीले मैले च्यातेँ प्रमाणपत्र र कवि मणि लोहनीले मृत्युु शीर्षकको कविता वाचन गरेर सुनाउनुभएको थियो । कार्यक्रममा प्रा.डा.सुरेन्द्र केसी, मदनदास श्रेष्ठ तथा देव प्रकाश त्रिपाठीले शुभकामना मन्तव्य राख्दै सुन्दर कृतिका लागि बधाई दिनुभयो । 

कार्यक्रममा कवि ढुङ्गेललाई साहित्यिक पत्रकार संघको तर्फबाट सम्मान गरिएको थियोे भने कवि ढुङ्गेलका तर्फबाट पुस्तकको सुन्दर आवरण बनाउने कलाकार कवि नरेन्द्र बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियोे । जरामा अर्थ खोज्ने कलाकार तथा कवि नरेन्द्रबहादुर श्रेष्ठले हालसम्म तीन सयभन्दा बढी कृतिमा निः शुल्क आवरण बनाइ सक्नुभएको छ । कार्यक्रम सञ्चालनका क्रममा संघकी कोषाध्यक्ष कवि पद्मावती सिंहले कविता लय हालेर गाउनुका साथै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।