मैदुगुरी, नाइजेरिया, वैशाख २६ गते । नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा यसै हप्ता भएको झडपमा कम्तीमा ५० जिहादी विद्रोहीको मृत्यु भएको जनाएको छ । सन् २००९ देखि देशले बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (आइएसडब्ल्युएपी) सँग लडिरहेको छ ।
उनीहरूले यस क्षेत्रमा इस्लामिक खलिफा स्थापना गर्ने बताउँदै आएका छन् । सेनाले बिहीबार बुनी गारी शहरमा रहेको आफ्नो २७ औँ ब्रिगेडको मुख्यालय र योबे राज्यको नजिकैको सुरक्षा जाँच स्थलमा आइएसडब्ल्युएपीसँगको झडपका क्रममा जिहादी लडाकू मारिएका बताइएको छ । “धेरै दिशाबाट ठूलो सङ्ख्यामा आतङ्ककारीले अँध्यारोको फाइदा उठाउँदै स्थानीय समयअनुसार राति करिब २ः०० बजे सुरु गरेको आक्रमणलाई विनाशकारी सशस्त्र आक्रमणलाई रणनीतिक प्रतिभा र सैनिकको दृढ विश्वासले विफल पारिदिएको छ,” आर्मले शुक्रबारको बयानमा भन्नुभयो ।
झडपमा कम्तीमा ५० जना आतङ्ककारीको मृत्यु भएको र ठूलो परिमाणमा हातहतियार र गोलाबारुद बरामद गरिएको छ भने दुई सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । सेनाले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तस्बिरमा बरामद हातहतियार र गोलीगठ्ठासहित मृत शरीर देखाइएको छ । नाम नबताउने सर्तमा एक खुफिया स्रोतले आक्रमण र सेनाको प्रत्याक्रमणको पुष्टि गरेको छ ।
यद्यपि उक्त स्रोतले सेनातर्फ पनि क्षति भएको जनाएको छ । अर्को गुप्तचर स्रोतका अनुसार मारिएका र घाइते भएका सैनिकलाई छ वटा एम्बुलेन्समा छिमेकी बोर्नो राज्यको राजधानी मैदुगुरी लगिएको छ । बोको हराम र आइएसडब्ल्यएपीले हालैका महिनामा तुलनात्मकरूपमा शान्तिको अवधिपछि आक्रमण बढाएका छन् ।
सन् २०१९ देखि सेनाले साना चौकी बन्द गरेको छ र आक्रमणलाई राम्रोसँग सामना गर्न डिजाइन गरिएको ‘सुपर क्याम्प’ भनेर चिनिने ठूला, भारी सुदृढ शिविरमा आफ्नो सेनालाई पुनः सङ्गठित गरेको छ । केही विश्लेषक भन्छन्, “यो रणनीतिले सशस्त्र समूहलाई कम सैन्य उपस्थिति भएका ग्रामीण क्षेत्रमा बढी स्वतन्त्ररूपमा आवतजावत गर्न अनुमति दिएको छ ।”
संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तरपूर्वी नाइजेरियामा जिहादी विद्रोहले ४० हजारभन्दा बढीको ज्यान लिएको छ र करिब २० लाख विस्थापित भएको छ र हालैका वर्षमा छिमेकी नाइजर, क्यामरुन र चाडका केही भागमा फैलिएको छ । रासस/एएफपी