• २६ वैशाख २०८३, शनिबार

सोमबारदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

blog

काठमाडौँ, वैशाख २६ गते ।  आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ ।

सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो ।

त्यसका लागि सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिनुभयो ।

सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाइसम्बन्धी आचारण विकास गर्न सरसफाइ सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

सप्ताह सञ्चालन गर्न सबै सङ्घ, प्रदेश र स्थानीय तहलाई पत्राचार गरिसकेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट सरसफाइ सप्ताहको शुभारम्भ गरिने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । 

सोही समयमा देशैभरिका सबै अस्पतालमा पनि सरसफाई सप्ताह  शुभारम्भ हुने र सप्ताहभरि दैनिक रूपमा सरसफाइमा सहभागी हुन आग्रह गरिएको उहाँले बताउनुभयो । 

सरसफाइ सप्ताह सञ्चालनका लागि बनाइएको मार्गदर्शनमा तोकिएका सूचक अनिवार्य पूरा गर्नुपर्ने छ । कार्यालय सरसफाइ मापन, शौचालय तथा स्वच्छता मापन, शैक्षिक संस्था र सार्वजनिकस्थलको सरसफाइ, क्यान्टिन तथा भान्साघर स्वच्छता, फोहर व्यवस्थापन मापन, सेवाग्राही अनुभव मापन, संस्थागत दिगोपन मापन सूचक कायम गरिएकाले तिनको पालना गर्न आग्रह गरिएको छ । रासस