• २६ वैशाख २०८३, शनिबार

मुदीमा ६६औँ धवलागिरि आरोहण दिवस मनाउने तयारी

blog

खोप्राबाट देखिएको धवलागिरि हिमालको दृश्य । फाइल तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, वैशाख २६ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदी गाउँमा पहिलोपटक ६६औँ धवलागिरि आरोहण दिवस मनाउने तयारी गरिएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल मुदी गाउँमा अवस्थित छ । 

 संसारको सातौँ अग्लो धवलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनको सम्झनामा आगामी मे १३ अर्थात वैशाख ३० गते मुदीमा आरोहण दिवसको कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त दिन धवलागिरि आरोहणको ६६ वर्ष पूरा हुँदै छ । 

अघिल्ला वर्षहरुमा पोखरामा धवलागिरि आरोहण दिवस मनाउने गरिएको थियो । गाउँपालिका र म्याग्दीवासीको निरन्तरको दबाबका कारण यो वर्षदेखि धवलागिरिको काखमा आरोहण दिवस मनाउन लागिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । 

धवलागिरि गाउँपालिकाको समन्व्य तथा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा आरोहण दिवस मनाउन लागिएको पालिका अध्यक्ष पुनले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,‘‘पहिलोपटक धवलागिरिको काखमा नै आरोहण दिवस मनाउन लागेका छौं । यसले धवलागिरिवासीलाई खुसी बनाएको छ । आरोहण दिवसले धवलागिरि चक्रिय पदमार्गको पर्यटन प्रवर्धन, पर्यटन विकासको सम्भाव्यताको उजागर,समस्या र अवसरका बारेमा छलफलको वातावरण तयार हुने छ ।’’ दिवसका अवसरमा आरोहीहरूलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । 

आरोहण दिवसका अवसरमा ‘धवलागिरि पदयात्रा, समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । 

 उहाँले भन्नुभयो, “६६औँ धवलागिरि आरोहण दिवससहित धवलागिरि गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा पदमार्ग प्रवर्धन कार्यक्रम एकैसाथ गर्दैछौँ । दिवसको औपचारिक समारोहमा धवलागिरि हिमाल आरोहण गरेका आरोहीलाई सम्मान समेत गरिने छ ।’’

पर्यटन विभागले सन् २०२५ मा निकालेको पर्वतारोहण सम्बन्धी किताबका अनुसार सन् २०२४ को अक्टोबर सम्म ६ सय ८८ जना धौलागिरिको शिखरमा पुगेका छन् । सन् २०२५ मा  १३ जनाले धवलागिरिको सफल आरोहण गरेको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ ।

सन् २०२६ को चालु वसन्तकालीन याममा ३० जना आरोहीले धवलागिरि आरोहणको अनुमति लिएका छन् । ती मध्य अधिकांशले सफल आरोहण गरिसकेका छन् । 

सन् १९६० मे १३ मा चार जना स्विस आरोही, एक अस्ट्रिया, एक जना जर्मनी र दुईजना नेपाली पर्वतारोहीको टोलीले धवलागिरिको सफल आरोहण गरेका थिए । स्विस–अस्ट्रियन संयुक्त आरोहण दलको म्याक्स आइसेलिनको नेतृत्वमा धवलागिरि हिमालको सफल आरोहण गरिएको थियो । 

आरोहण टोलीमा कर्ट डिमवर्गर, पिटर डियनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट, मिसेल भाउचर,ह्युगो वेबर र दुइ शेर्पा निमा दोर्जे र नवाङ दोर्जे धवलागिरि हिमालको चुचुरोमा पुग्न सफल भएका थिए । 

धवलागिरि चक्रीय पदयात्रा मुदीबाट सुरु भई बगर, दोभान, सल्लाघारी, इटाली बेसक्याम्प, जापानिज बेसक्याम्प,धवलागिरि  बेसक्याम्प, हिटिनी भ्याली बेसक्याम्प, याकखर्क हुँदै मुस्ताङको मार्फा पुग्न सकिन्छ ।