• २६ वैशाख २०८३, शनिबार

संविधानका आधारभुत स्तम्भमाथि प्रहार हुनेगरी संशोधन नगर्न नेता ज्ञवालीको आग्रह

blog

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली ।

काठमाडौँ, वैशाख २६ गते । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनको नाममा गणतन्त्र र लोकतन्त्रका आधारभूत स्तम्भलाई कमजोर पार्न नहुने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाद्वारा आयोजित ‘संविधान संशोधन, गणतन्त्र र राष्ट्रियताको रक्षा’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान राजनीतिक शक्ति सन्तुलन लोकतान्त्रिक र वामपन्थी शक्तिहरूको प्रतिकुल रहेको भन्दै संशोधन प्रक्रियामा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभएको हो ।

नेता ज्ञवालीले प्रतिनिधि सभाको वर्तमान अङ्कगणितले संविधान निर्माण गर्ने मुख्य दलहरूको सामर्थ्य कमजोर भएको उल्लेख गर्नुभयो ।

सरकारको पछिल्लो कार्यशैलीप्रति टिप्पणी गर्दै ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवादतर्फ उन्मुख हुन लागेको आशङ्का व्यक्त गर्नुभयो । उहाँले मौलिक हक, ट्रेड युनियन अधिकार र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो । ज्ञवालीले राज्यका अङ्गहरू, विशेष गरी न्यायपालिकामाथि राजनीतिक नियन्त्रण बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

संवैधानिक परिषद्को मर्मविपरीत प्रधानमन्त्रीको इच्छा अनुसार प्रधानन्यायाधीश नियुक्त हुने स्थिति सिर्जना हुनु लोकतन्त्रका लागि घातक हुने उहाँको तर्क छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको बहसका सन्दर्भमा ज्ञवालीले नेपाल जस्तो भूराजनीतिक अवस्थिति भएको मुलुकमा यो व्यवस्था हानिकारक हुने दाबी गर्नुभयो ।

नियन्त्रण र सन्तुलन बिनाको प्रत्यक्ष निर्वाचित कार्यकारीले अधिनायकवाद जन्माउने र राष्ट्रियतामाथि नै सङ्कट निम्त्याउन सक्ने उहाँको भनाइ छ । उहाँले अहिलेकै संसदीय व्यवस्थालाई थप परिमार्जित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “संविधान निर्माण गर्ने मुख्य तीन दलको प्रतिनिधि सभामा उपस्थित सङ्ख्या जम्मा ७९ छ । यस्तो अवस्थामा प्रतिकूल संविधान संशोधनलाई रोक्न सक्ने सामथ्र्य पनि खस्किएको छ । स्वतन्त्र सञ्चारमाध्यमलाई निस्तेज पार्न खोजिएको छ भने सामाजिक सञ्जालमा नियन्त्रण गरेर समाजलाई सेल्फ–सेन्सरसिपतर्फ धकेलिँदै छ । मैले कतै सुन्दै थिएँ, प्रधानमन्त्रीज्यूले हिटलरको ‘म्यानेजरियल स्किल’ सिक्ने र समाजलाई एउटै सोचमा ढाल्ने इच्छा व्यक्त गर्नुभएको छ । बहुलवादी र विविधतायुक्त समाजमा यस्तो सोच राख्नु आपत्तिजनक छ ।”

संविधानलाई गतिशील दस्तावेजका रूपमा स्वीकार गर्दै ज्ञवालीले आफूहरू संशोधनको विरुद्धमा नरहेको तर सत्तारूढ दलले संविधानका आधारभूत पिलर-गणतन्त्र, लोकतन्त्र, सामाजिक न्याय र समावेशिताका बारेमा आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

उहाँले संविधान संशोधनको प्रक्रिया विश्वसनीय हुनुपर्ने र यसका लागि हिजो संविधान निर्माण गर्ने शक्तिहरू निरन्तर संवादमा रहनुपर्ने उल्लेख गर्नुभयो ।

सङ्ख्याको बलमा उपलब्धिहरू खोसिन नदिन गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा उहाँको जोड छ ।