बोमलाल गिरी
नवलपुर, वैशाख २६ गते । नवलपुरको विनयी त्रिवेणीमा रहेको त्रिवेणी धाम धार्मिक र पौराणिक हिसाबले हिन्दुहरूको महातीर्थस्थल मानिन्छ । त्यसैले यहाँ हरेक १५/१५ दिनमा केही न केही मेला लागिरहेकै हुन्छ ।
एकादशी, पूर्णिमा, औंशी, शिवरात्रि, साउने मेला, माघे औंशी, माघे संक्रान्ति, चैत बारणी, नयाँ वर्ष लगायत पर्वहरूमा त्रिथार्लुको खचाखच भिड लाग्छ । यहाँ आउने तीर्थालुहरू नेपालीभन्दा भारतको उत्तर प्रदेश र विहारबाट आउनेहरू बढी हुने गरेको विनयी त्रिवेणी–६ वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । होटल व्यवसायसमेत सञ्चालन गर्नुभएका शाहले भारतीयभन्दा नेपाली पर्यटकमा बढी खर्च गर्ने बानी रहेको बताउनुभयो ।
‘‘नेपालका विभिन्न भूभागबाट आउने तिर्थयात्री होटलमा बस्छन्, प्रसाद किन्छन्, त्रिवेणीधाम लगायत आसपासका धार्मिक तथा पर्यटकीय स्थलको पनि अवलोकन गर्ने भएकाले सबैतिरको व्यवसाय चलायमान हुन्छ,’’ अध्यक्ष शाहले भन्नुभयो, ‘‘तर भारतबाट आउने पर्यटकमा त्यस्ता गतिविधि देखिँदैन ।’’
भारतीय पर्यटक सार्वजनिक स्थल, चौर, बसपार्कमा बस्ने, आफै खाना पकाएर खाने र फोहोर यत्रतत्र छोडेर जाने गरेको र यसले सरसफाइमा चुनौति थपिदिएको शाहको भनाइ छ ।
यसले मठमन्दिरमा सङ्ख्यात्मक हिसाबले भिड देखिए पनि व्यापार व्यवसायी, यातायात्र व्यवसायी र डुङ्गा व्यवसायीलाई प्रभाव पार्न नसकेको र सरसफाइका हिसाबले चुनौती थपिदिएको शाहले बताउनुभयो ।
स्थानीय व्यापारी रामराज केसीले सङ्ख्यात्मक हिसाबले हरेक १५/१५ दिनमा पर्यटकको भिड लाग्ने गरे पनि व्यापारिक हिसाबले भारतीय पर्यटकबाट व्यापार भने शुन्य जस्तै हुने गरेको बताउनुभयो । ‘‘एक सय नेपाली पर्यटक आउँदा ९० जनाले खर्च गर्छन् भने भारतीय पर्यटक एक सयमा मुस्किलले पाँच जनाले खर्च गर्छन्,’’ केसीले भन्नुभयो ।
नेपाली र भारतीयको बिचमा खर्च गर्ने शैली नै फरक देख्नुहुन्छ अध्यक्ष शाह । विहार र उत्तर प्रदेशबाट आउने पर्यटक बजेटको हिसाबकिताब गरेर हिँड्छन्, तर नेपाली पर्यटकमा खर्च गर्ने बानी, आफ्नो परिवार, छिमेकी वा साथीभाइका लागि नयाँ केही देखेमा उपहार, चिनो वा प्रसादको रूपमा किन्ने बानी देखिन्छ’’ उहाँले सुनाउनुभयो ।
यहाँ नेपालको सीमाना भारतको उत्तरप्रदेश र विहारसँग जोडिएको र खुला सीमा छ । जसले गर्दा भारतीयहरू आफै गाडी लिएर वा रिजर्भ गरेर बिहान आई बेलुका फर्कनेहरू बढी हुने भएकाले खर्चको आस गर्न नसकिने अर्का व्यापारी जीवनराम चौधरीले बताउनुभयो ।
भारतीय पर्यटकबाट खर्च कम, फोहोर बढीका गुनासा यहाँ मात्र होइन, पशुपतिनाथ लगायत अन्य तीर्थस्थलहरूमा पनि उत्तिकै हुने गरेको उहाँको भनाइ छ ।
‘‘यहाँ नजिक भएर मात्र खर्च कम, फोहोर बढी भएको होइन,’’ चौधरीले भन्नुभयो, ‘‘बस, साना गाडी रिजर्भ गरेर पशुपतिनाथ दर्शन गर्न गएकाहरू प्रति पनि काठमाडौँका होटल तथा पर्यटन व्यवसायीहरूबाट यस्तै गुनासा सुनिन्छन् ।’’
भारतीय तीर्थयात्रीबाट सङ्ख्यात्मक उपस्थिती राम्रो देखिए पनि आर्थिक गतिविधिमा टेवा दिन नसकेको व्यवसायीको भनाइ छ । उनीहरूका कारण फोहोर व्यवस्थापनमा सबैभन्दा ठुलो चुनौती थपिएको वडाध्यक्ष शाहले बताउनुभयो । फोहोर धेरै निस्कने तर पालिकाले छुट्टै साधन र कर्मचारी नखटाएको र कुनै सङ्घ संस्थाले पनि सहयोग नगरेकाले समस्या भोग्नु परेको उहाँको भनाइ छ ।
दुई जना मात्र सफाइ कर्मचारीले बजार, घाट, मन्दिर, पाटीपौवा सबै तिर भ्याउनुपर्ने भएकाले पनि समस्या भएको शाहले बताउनुभयो । २०६८ सालमै यस क्षेत्रलाई खुला दिसा मुक्त घोषणा गरिए पनि स्थानीयबाट नभएपनि मेला लागेको बेला भारतको ग्रामीण क्षेत्रबाट आउने पर्यटकमा शिक्षा र चेतनाको अभावले खुला दिसा गर्ने गरेकाले चुनौती झन थपिएको उहाँले बताउनुभयो ।
यहाँ मेला भर्न आउनेहरूका लागि एक पटकमा १५ महिला र १५ पुरुषले गरी ३० जनाले शौच गर्न मिल्ने गरी चार वटा, बसपार्कमा दुई, नदी किनारमा दुई र धर्मशालामा तीन गरी ११ वटा सार्वजनिक शौचालयको प्रबन्ध मिलाइए पनि शौचालयको प्रयोग नगर्ने परम्परा र चेतनाको अभावका कारण समस्या भएको अध्यक्ष शाहले बताउनुभयो ।