सिराज खान
नेपालगन्ज, वैशाख २६ गते । भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँदै आएको छ ।
अवैध रूपमा सटही कारोबार गर्ने अनुमति लिएका सटही काउन्टरले पनि सरकारले तोकेको भन्दा बढी रकममा भारु र नेपाली रुपियाँको लेनदेन खुला रूपमा गरिरहेको पाइन्छ ।
भारतीय रुपियाँको अभावका कारण नेपालगन्ज र सो वरिपरिका क्षेत्रमा सरकारले तोकेको दर रेट भन्दा महङ्गोमा अवैध रूपमा खरिद बिक्री हुने गरेको छ ।
कहिलेकाँही मात्रै प्रहरीले यस्तो भारु नेपाली मुद्राको अवैध कारोबार गर्नेलाई पक्राउ गर्ने गरेको पाइएको छ । सोही क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट छ लाख रुपियाँ अवैध भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–३, एकलैनी क्षेत्रबाट नरैनापुर गाउँपालिका–५ का २९ वर्षीय वीरवल कुम्हार र नरैनापुर–४ का ३८ वर्षीय मुनिव खाँलाई पक्राउ गरिएको हो ।उहाँले उनीहरूको साथबाट प्रहरीले भारतीय ६ लाख रुपियाँ बरामद गरेको बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको पनि प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
स्थानीयका अनुसार दुई जनालाई पक्राउ गरिएको सोही स्थानमा एक जनाले लामो समयदेखि भारु र नेरुको अवैध कारोबार गर्दै आएपनि प्रहरीले पक्राउ नगर्नु आश्चार्यजनक छ ।
सोही प्रकारले घोसी टोल, एकलैनी, त्रिभुवन चोक, जयसपुर, जमुनाहा नाका नजिकको बजार क्षेत्रमा पनि खुला रूपमा भारु नेरुको अवैध कारोबार हुँदै आएको स्थानीयले जनाएका छन् ।