• २६ वैशाख २०८३, शनिबार

वास्तविक सुकुम्बासीको पहिचान प्रक्रिया सुरु

blog

तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, वैशाख २६ गते । बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर नगर क्षेत्रमा वर्षौँदेखि सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरि बसोबास गर्दै आएका वास्तविक सुकुम्बासी तथा भूमिहीन दलितको पहिचान प्रक्रिया सुरु गरेको छ ।

कोहलपुर नगरपालिकाले शुक्रबार कोहलपुर नगर विकास समितिको जग्गामा अतिक्रमण गरेर बसेका वास्तविक भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारको तथ्याङ्क सङ्कलन तथा कागजात प्रमाणीकरणको काम अघि बढाएको हो ।

नगरपालिकाले पछिल्लो समय सार्वजनिक जग्गा अतिक्रमण बढ्दै जाँदा वास्तविक सुकुम्बासी, भूमिहीन दलितको पहिचान गरेर व्यवस्थापन गर्न थालेको जनाएको छ ।

नगरपालिकाले समिति गठन गरेर घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक अवस्था, अन्यत्र जग्गाजमिन भए नभएको लगायतका विषय अध्ययन गरिरहेको अभिलेख व्यवस्थापन समिति संयोजक सुनिता सुनारले बताउनुभयो ।

उहाँका अनुसार वर्षौँदेखि बसोबास गर्दै आएका वास्तविक भूमिहीन सुकुम्बासी र भूमिहीन दलित नागरिकलाई व्यवस्थापन गर्ने गरेर काम भइरहेको छ ।

विशेषगरी कोहलपुर क्रिकेट मैदान आसपासका क्षेत्रमा बसोबास गर्ने धेरै परिवार भए पनि वास्तविक सुकुम्बासी र भूमिहीन दलितको पहिचान प्रक्रिया तीव्र बनाइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार केही व्यक्तिले आफूलाई भूमिहीन भन्दै दाबी गरे पनि अन्यत्र घरजग्गा रहेको तथ्य भेटिन थालेको छ ।यस्ता व्यक्तिलाई सूचीबाट हटाइने र वास्तविक पीडित परिवारलाई मात्रै प्राथमिकता दिइने जनाइएको छ ।

गत वर्ष उक्त स्थानका ७५१ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलितले फाराम भरे पनि पहिचान गर्दा भूमिहीन दलित १५३ जना र भूमिहीन सुकुम्बासी १४१ जना रहेको सुनारले बताउनुभयो ।

उहाँले वास्तविक भूमिहीन दलित र भूमिहीन सुकुम्वासीको पहिचान गरेर उचित व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।

हालसम्म नगरपालिकाको सम्पर्कमा ६० घर वास्तविक भूमिहीन सुकुम्बासीहरू आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइने प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

वास्तविक भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारको तथ्याङ्क सङ्कलन तथा कागजात प्रमाणीकरणको काम गर्दै कर्मचारी ।