• २६ वैशाख २०८३, शनिबार

दोस्रो नेपालगन्ज १०–के नाइट रन च्याम्पियन अंकल र सन्तोष

blog

दोस्रो नेपालगन्ज १०–के म्युजिक नाइट रनको ट्रफी जित्नु भएका अंकल बहादुर पाल र सन्तोषी श्रेष्ठ ।

कमल खत्री

धम्बोझी, वैशाख २६ गते । त्रिभुवन आर्मी क्लबका अंकल बहादुर पाल र सन्तोषी श्रेष्ठले दोस्रो नेपालगन्ज १०–के म्युजिक नाइट रनको ट्रफी जित्नु भएको छ ।

नेपालगन्जमा शुक्रबार राति भएको नेपालगन्ज १०–के म्युजिक नाइट रन ३२.१८ मिनेटमा पुरा गर्दै अंकल बहादुर पाल पुरुष तर्फ र ३९.९ मिनेटमा दौड पूरा गर्दै सन्तोषीले महिला तर्फको ट्रफी जित्नुभएको हो ।

नेपालगन्ज उपमहानगरपालिका गेटबाट सुरु भइ राँझा चोक पुगेर पुनस सोही रुट हुँदै बिपी चोकमा पुगेर दौड सम्पन्नभएको थियो ।

पुरुष तर्फ दोस्रो स्थान हासिल गर्ने बाँकेका भुपेन्द्र सुनारले ३३.०४ मिनेट र तेस्रो अरविन्द्र यादवले ३३.०८ मिनेटमा दौड पूरा गर्नुभयो ।१० किलोमिटर पुरुष तर्फ झरमान पुन चौथो र दिप परियारले पाँचौँ स्थान हासिल गर्नुभएको थियो । 

यसैगरी महिला तर्फ १० किलोमिटर दौड ४४.५८ मिनेटमा पार गर्दै दिपशिखा शाही दोस्रो र ५२।२७ मिनेट समय खर्चेकी गिता साहु तेस्रो हुनुभयो । विद्यालय स्तरको ५ किलोमिटर दौडमा समीर श्रेष्ठ प्रथम, बसन्त माझी दोस्रो र नरेश कुँवर तेस्रो हुनुभयो ।

धर्विन्द्र बम ठकुरी चौथो र सन्देश बुढाथोकी पाँचौँ स्थानमा रहनुभयो । समीरले पाँच किलोमिटर १७.११ मिनेट, बसन्तले १७.१३ मिनेट र नरेशले १५.५० मिनेटमा दौड पूरा गर्नु भएको थियो ।

विद्यालय स्तरको महिला तर्फ स्वतिका शाही प्रथम, अप्सरा बम ठकुरी दोस्रो, जनदेवी महतारा तेस्रो र चाहना शाह शाह चौथो हुनुभयो ।स्वतिकाले २०।०३ मिनेट, अप्सराले २१.२३ मिनेट, जनदेवीले २५.०६ मिनेट, चाहनाले ३७।३२ मिनेटमा दौड पूरा गर्नुभएको थियो । 

विजयी खेलाडीलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण गौतम, सदस्य डिबी तामाङ्ग, पुर्व सदस्य सचिव भीम ओली, खजुरा गाउँपालिकाका प्रवक्ता धनराम ओली र आयोजक रेस नेपालका प्रमुख टिएस ठकुरी लगायतले पुरस्कृत गर्नुभएको थियो ।

म्युजिक नाइट रन सङ्गीत र दौड मार्फत समाजलाई एकतामा बाँध्ने र सहरलाई चलायमान गराउने अभियानको रूपमा स्थापित भएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनुभयो । 

नेपालगन्ज १०–के नाइट रन विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को पूर्णकालीन सदस्य हो ।

 नाइट रन पनि एम्स प्रमाणीकरण रुटमा सञ्चालन हुने रेस डाइरेक्टर गुरुङले बताउनुभयो । दौड अवधिभर भएको साङ्गीतिक कार्यक्रममा गायक सुनिल सिंह ठकुरी र स्थानीय विद्यालयका विद्यार्थीले नृत्य गर्नु भएको थियो । 

एम्समा आबद्ध दुई वटा रेस सञ्चालन हुने नेपालगन्ज नेपालमा एकमात्र सहर हो ।  यसपटक नाइट रनमा १० किमी खुला पुरुष र महिला तथा पाँच किमि स्कुल स्तरीय छात्र एवं छात्रा विधामा स्पर्धा समावेश गरिएको छ ।

गत संस्करणमा नेपाली सेनाका मुकेश पाल र नरैनापुर (बाँके)की गीताकुमारी साहु विजेता बन्नुभएको थियो । नेपालगन्ज १०–के म्युजिक नाइट रन नेपालको पहिलो रात्रि दौड हो ।

स्वस्थ , सभ्य र सुरक्षित सहरको परिचय स्थापित गर्न नाइट रन सुरु गरिएको आयोजकले जनाएको छ । यसपटक स्थानीय स्तरमा राम्रो प्रदर्शन गर्ने धावकलाई वल्ड एथलेटिक्सबाट मान्यताप्राप्त दक्षिण एसियाली र एसियाली मुलुकमा हुने आधिकारिक रेसमा सहभागी गराउने तयारी गरिएको आयोजक रेस नेपालका कोषाध्यक्ष सुमन बस्नेतले जानकारी दिनुभयो ।

 धारा नेपालगन्ज म्याराथनले थाइल्यान्ड मलेसिया सिङ्गापुर भुटान बङ्गलादेश लगायत देशमा धावक सहभागी गराउने तयारी गरिरहेको छ ।