सिराज खान
नेपालगन्ज, वैशाख २६ गते ।जिल्ला प्रहरी कार्यालय बाँकेले यहाँस्थित नेपाल भारत सीमा क्षेत्रमा भारतबाट लागु औषध भित्र्याएर बिक्री वितरण गर्दै आएकाहरूविरुद्ध कडा एक्सन सुरु गरेको छ ।
सोही कारणले दैनिकजसो लागु औषधका कारोबारी र ओसारपसारमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सफल हुँदै आएको हो ।
पछिल्लो पटक भारतबाट लागुऔषध बेच्न नेपालगन्ज आएका दुई भारतीय पुरुष र महिलालाई प्रहरीले एकै पटक ठुलो परिमाणको खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जको संयुक्त टोलीले भारतको बहराइच जिल्लास्थित रुपैडिहा थानाको बाबागञ्ज बस्ने ३२ वर्षीय मोहम्मद हामिद र सोही स्थानकी २२ वर्षीया सविना देवी पथरकटलाई ६८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनुभयो ।
उहाँका अनुसार विशेष सूचनाको आधारमा खटिएको लागुऔषध र बाँके प्रहरीको टोलीले नेपालगन्ज उपमहानगरपालिका–५, फुल्टेक्रा जाने बाटोमा उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
त्यसपछि कानुन बमोजिम शरीर तलासी गर्दा मोहम्मद हामिदले लगाएको कालो पाइन्टको दाहिने खल्तीभित्र लुकाई राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता पातलीका अनुसार उनीहरूका साथबाट ६८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनका साथै घटनास्थलबाट दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेट युपी ४० बिएच ४७०८ को मोटरसाइकल समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको प्रहरीले जनाएको छ भने उनीहरूसँग सोधपुछ गर्ने कार्य चलिरहेको छ ।
प्रहरीका अनुसार उनीहरू लागुऔषध कारोबार गर्ने भारतकै ठुलो गिरोह रहेको बुझिएको छ । पछिल्लो समयमा प्रहरीले धेरैजना लागु औषध कारोबारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।